कोरोना भाइरस खोप: बढी उमेरका मानिसलाई खोप दिने काम किन कठिन

जेष्ठ उमेर समूहका बुढाबुढीलाई खोप दिनु सहज कुरा छैन।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वृद्धवृद्धालाई खोप दिन सहज हुँदैन
    • Author, विलियम पार्क
    • Role, बीबीसी फ्यूचर

कोभिड-१९ विरुद्ध खोप तयार भएको कल्पना गरौँ।

खोप बनेको अवस्थामा विश्वनेताहरूसँग त्यो कसरी मानिसहरूसम्म पुर्‍याउने भन्नेबारे विकल्पहरू हुनेछन्।

जस्तै बिरामीको समीपमा हुने नर्स, डाक्टर र स्याहारमा खटिने कर्मचारीसहित सबैभन्दा जोखिमयुक्त वर्गमा पर्ने मानिसहरूलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्ने हुन्छ।

तर त्यसो गर्न सजिलो छैन। ज्येष्ठ उमेर समूहका मानिसलाई खोप दिनु सहज कुरा हैन।

क्यानडाको यूनिभर्सिटी अफ ग्वेल्फमा खोपविज्ञानका प्राध्यापक सायन सरिफ भन्छन्: "बूढाबूढीका लागि सोचेर बनाइएका खोपहरू हामीसँग निकै कम छन्।"

"गत शताब्दीमा धेरैजसो खोप बाल्यकालमा लाग्ने रोगलाई लक्षित गरेर तयार पारिएका छन्।"

सत्तरी वर्ष लागेपछिका मानिसलाई दिइने दाद भने एउटा अपवाद हो।

वयस्क अवस्थामा देखिने मेनिन्जाइटिस वा ह्यूमन प्यापिलोमा भाइरसजस्ता केही रोगका लागि एक-दुईवटा खोपहरू छन्।

अन्यथा रोगप्रतिरक्षासम्बन्धी विज्ञान बालबालिकाको पक्षमा बढी ढल्किएको छ।

खोप

तस्बिर स्रोत, Getty Images

"बाल्यकालमा लाग्ने रोगबारे हामीसँग प्रशस्त ज्ञान छ," सरिफले भने।

"तर युवा, अधबैँसे र बूढाबूढीमा लाग्ने रोगबारे हामीसँग धेरै अनुभव छैन।"

जटिल पक्ष

ज्येष्ठ नागरिकमा खोप दिने कामको जटिलता बुझ्न हामीले उनीहरूको प्रतिरक्षा प्रणालीको फरकपन बुझ्नुपर्छ।

धेरैजसो सरुवा रोगको असर उमेर ढल्किँदै गरेका मानिसमा तन्नेरीमा भन्दा बढ्ता देखिन्छ।

बुढ्यौलीमा जोखिम निम्त्याउने पक्ष धेरै हुन्छन्।

जस्तै - जीवनभरि विभिन्न सङ्क्रामक रोग झेलेको वा क्यान्सर गराउन सक्ने तत्त्वको बढ्दो मात्राले भविष्यमा नयाँ सङ्क्रमणबाट हुने रोगको जोखिम थप्छ।

त्यसैबेला उनीहरूको प्रतिरक्षा प्रणालीमा समेत ह्रास आइरहेको हुन्छ।

प्रतिरक्षा प्रणाली एकअर्कासँग अन्तरसम्बन्धित कोशिकाहरूको एउटा निकै जटिल सञ्जाल हो।

यदि त्यसले कहीँकतै काम गरेको छैन भने त्यसले गम्भीर अवस्थामा स्थिर रहने प्रतिरक्षा प्रणालीलाई असर पुर्‍याउँछ।

सङ्क्रमण हुँदा शरीरले आफ्नो प्रतिरक्षाका लागि एन्टिबडी बनाएर कीटाणुलाई आक्रमण गर्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सङ्क्रमण हुँदा शरीरले आफ्नो प्रतिरक्षाका लागि एन्टिबडी बनाएर कीटाणुलाई आक्रमण गर्छ

प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने काम

सबैजसो खोपहरूले रोगबाट जोगाउन सक्नुपर्छ, सबै खोपले सङ्क्रमण रोक्दैनन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सबैजसो खोपहरूले रोगबाट जोगाउन सक्नुपर्छ, तर सबै खोपले सङ्क्रमण रोक्दैनन्

खोपको उद्देश्य हाम्रो प्रतिरक्षा प्रणालीलाई सबल पारेर रोग लगाउने तत्त्वको प्रभावमा आउनुअगावै प्रभावकारी रोग प्रतिरोधक तत्त्व (एन्टिबडी) विकास गर्नु हो।

कसमा कोभिड-१९ को प्रभाव पर्‍यो भनेर जाँच्नलाई गरिएका थुप्रै एन्टिबडी परीक्षणबारे समाचारहरूमा आउने गरेका छन्। तर सबै एन्टिबडीले काम गर्दैनन्।

कोभिड-१९ गराउने सार्स-कोभ-२ बाट सङ्क्रमित भएका सबैमा समेत एन्टिबडी बन्दैन र कतिपयमा तिनको आयु निकै कम समयको हुनेगर्छ।

खोपविज्ञानको चुनौती नै यस्ता सबै कोशबीच स्थिर हुनेगरी काम गर्ने उपाय निकाल्नु हो।

यो बुढ्यौलीमा रहेका मानिसको प्रतिरक्षा प्रणालीमा के हुन्छ?

यूनिभर्सिटी अफ इन्स्सब्रकका बिर्गिट विन्वर्गरले बुढ्यौलीको प्रतिरक्षा प्रणाली र खोपविज्ञानबारे अध्ययन गरेका छन्।

"सबै प्रकारका कोशहरूको काममा ह्रास आइरहेको हुन्छ," उनी भन्छन्।

"तिनले फरकफरक साईटोकाईन (प्रतिरक्षा कोशबीच सम्बन्ध राख्ने प्रोटीन) उत्पादन गर्छन्। अनि हामीले बुझ्नुपर्ने कुरा के छ भने ती कुनै पनि कोशहरूले आफैँ काम गर्दैनन्।"

जीवनका उत्तरार्द्धमा त्यसमा त्यहाँनिर समस्या आउँछ।

"त्यसबेला जब नयाँ रोगकारक तत्त्वसँग संसर्गमा आइन्छ, त्यससँग जुझ्ने क्षमता निकै कमजोर भइदिन्छ।"

उमेरसँगै कसरी शरीरलाई कसरी सुधार गर्ने

एकै उमेर समूहमा पनि कोही मानिसहरू अरूभन्दा राम्रा र तन्दुरुस्त देखिन्छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एकै उमेर समूहमा पनि कोही मानिसहरू अरूभन्दा राम्रा र तन्दुरुस्त देखिन्छन्

उमेरसँगै प्रतिरक्षा प्रणाली कमजोर हुँदै जाने भए पनि त्यसै सबै मानिसहरूलाई समान असर गर्दैन।

एकै उमेर समूहमा पनि कोही मानिसहरू अरुभन्दा राम्रा र तन्दुरुस्त देखिन्छन्।

त्यस्तो बेला मानिसहरू आफू भाग्यमानी भएको वा शरीरमा उचित रूपमा जीनको संयोजन भएकोमा खुसी हुन्छन्।

दु:खी हुनुपर्ने कुरा मात्र छैन। किनभने हाम्रो प्रतिरक्षा प्रणालीको कोही भाग उमेरसँगै सुधार समेत हुँदै जान्छ।

यूनिभर्सिटी अफ ग्वेल्फका सायन सरिफ भन्छन्: "हाम्रो प्रतिरक्षा प्रणालीमा केही त्यस्ता कोशिकाहरू छन् जो बढ्दो उमेरसँगै झन् बलियो बन्छन्।"

"यदि हामी थुप्रै रोगकारक तत्त्वको सम्पर्कमा आयौँ भने हामीमा प्रतिरक्षाको एकखाले स्मरण बन्छ र रोगसँग जुझ्न हामीसँग कोशिकाहरूको भण्डार आवश्यक पर्दैन।"

तर सार्स-कोभ-२ हामी यसअघि कहिल्यै सामना नगरेको भाइरस भएकाले त्यसको स्मरण हाम्रो कोशिकामा छैन।

खोपका लागि यसको अर्थ के हो?

खोप परीक्षण

तस्बिर स्रोत, Getty Images

खोपको मानव परीक्षण तीनवटा चरणबाट गरिन्छ।

पहिलो चरणमा केही सीमित मानिसहरूमा त्यसको सुरक्षा जाँच गरिन्छ। दोस्रो चरणमा खोपबाट खोजिएजस्तो प्रतिक्रिया पाइने-नपाइनेमा त्यसको गुणदोष केलाइन्छ।

अनि तेस्रो चरणमा त्यसले रोगबाट साँच्चिकै जोगाइरहेको छ कि छैन भनेर प्रभावकारिता जाँचिन्छ।

खोपमा केही सम्झौताहरू हुन्छन्। त्यो कुनै मानिसहरूको समूहमा राम्ररी काम गर्न सक्छ भने अन्य कुनैमा त्यो काम नगर्न समेत सक्छ।

अहिले कोभिड-१९ विरुद्धका धेरै खोपको परीक्षण भइरहेको छ। तीमध्ये धेरै स्वीकृत पनि हुनसक्छन्।

विन्वर्गर र सरिफका लागि त्यो सही दिशातर्फको काम भइरहेको छ भन्ने हो।

भर पर्न सकिने थुप्रैखाले खोप हुनु भनेको तपाईँले सही अवस्थामा सही विकल्पको चयन गर्न सक्नु हो।

कुनै बूढाबूढीका लागि काम गर्न सक्छ भने कुनै अन्यका लागि। कुनै पनि खोप पूरै उत्तम भन्ने हुँदैन।

सरिफ भन्छन्: "शतप्रतिशत प्रभावकारिता दिने कुनै खोप छैन... एउटा पनि छैन।"

जब सबै खोपहरू स्वीकृत हुन्छन् तिनले रोगबाट जोगाउने देखाउन सक्नुपर्छ, तर सबै खोपले सङ्क्रमण रोक्दैनन्।

खोप लगाएका व्यक्तिमा अझै भाइरस रहन सक्छ र उसले आफू आसपासका मानिसमा सङ्क्रमण फैलाउन सक्ने जोखिम रहन्छ।

हामीले मानिसहरूमा कसरी र केका आधारमा खोप लगाउने भन्ने कुरा यस्ता विषयसँग जोडेर हेर्नुपर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कस्ता गतिविधि सुरक्षित, कस्ता जोखिमपूर्ण