कोरोनाभाइरसले घर र कार्यालयमा यस्तो परिवर्तन ल्याइदिनेछ
एक दिन यो भाइरस अलप हुनेछ, यो उन्मूलन पनि हुनसक्छ। त्यसो भयो भने पनि मानिसहरूको जीवन कोभिड-१९ को प्रकोपअघिको जस्तो बन्न सक्दैन। महामारीको प्रकोप फैलिँदा आर्किटेक्टहरू हामी बस्ने भवन कस्तो हुनुपर्छ भनेर पुनर्विचार गरिरहेका छन्।
भविष्य कस्तो देखिन सक्छ त्यो हेर्न तल स्क्रोल गर्नुहोस्

उनी लैला हुन्।
अहिले सन् २०२५ हो र उनी घरबाट सातामा चार दिन काम गर्छिन्। सन् २०२० को लकडाउनदेखि उनी यसरी नै काम गरिरहेकी छन्।
अहिले बिहानको ०६:३० बज्यो। उनी कार्यालय जाँदैछिन्।
लैला ७ बजे कार्यालयको भवनमा पुगिन्। एकै चोटि धेरै मानिसहरू नआऊन् भनेर समय छुट्याइएको छ।
उनी प्रायः बैठकका लागि मात्र कार्यालय जान्छिन्। केवल कम्प्युटरअगाडि बसेर काम गर्न अब उनी कार्यालय गइराख्नुपर्दैन। उनी घरबाटै त्यो काम गर्न सक्छिन्।
लैलाको कम्पनी र अन्य कम्पनीका कार्यालयहरू एउटा ठूलो भवनमा थिए। तर अहिले उनीहरू केही साना तर आफूहरू मात्रै बस्ने ठाउँमा छन्।
भुइँतलामा शरीरको तापमान जाँच्न लैला रोकिन्छिन्। अहिले ३६.५ सेल्सीअस रहेछ। यो सामान्य नै हो।
अनुहार खुट्याउने क्यामराले उनलाई कर्मचारी भनेर चिनेपछि सुरक्षार्थ जडित बार आफैँ खुल्छ। बाटोमा उनले केही कुरा पनि छुनुपर्दैन।
चौथो तलामा जान बोलीबाटै लिफ्ट चल्छ। स्पर्शरहित प्रविधिले पुराना बटनलाई विस्थापित गरिदिएका छन्। लिफ्टमा जम्मा दुई जना मात्र बस्न पाइन्छ।

चौथो तलामा उनी ठूलो बाटो र ढोका हुँदै हिँड्छिन्। कर्मचारीहरू धेरै नजिकै नपरून् र भाइरस नसरोस् भनेर बाटो र ढोकाहरू पहिलाको भन्दा फराकिला छन्।
ढोकामा उनी स्यानिटाइजर दल्छिन्। उनी अभ्यस्त भइसकिन्, त्यसो गर्न उनले सोचिराख्नु पनि पर्दैन।
उनी कुर्सीमा बस्छिन्। फर्निचर, भित्ता र छेउछाउमा भएका सामग्री पनि सूक्ष्मजीव फैलिन नसक्ने वस्तुबाट बनेका छन्। तिनलाई सफा गर्न सजिलो हुन्छ र जीवाणुहरू सजिलै टाँसिन सक्दैनन्।
लैला कफी बनाउँछिन्। त्यहाँको सतहमा पनि कीटाणु फैलिन सक्दैन। घर्रा तान्ने ठाउँ र दराजहरू तामाले बनेका छन्। अलि महँगो हुनेभए पनि तामाले कीटाणु बस्न दिँदैन।

एअर कन्डिशनिङ प्रणालीमा पराबैजनी प्रकाश प्रयोग गरिएको छ। त्यसले कीटाणु मार्छ। भवनमा जडित र कर्मचारीहरूले बोकेका सेन्सरबाट सङ्कलित तथ्याङ्कको आधारमा आद्रता घटाएर त्यसले कीटाणु फैलिन दिँदैन।
पहिला लैलाको कार्यालय उदाङ्ग हुन्थ्यो। तर अहिले खण्डखण्डमा विभाजित छ। उनको देब्रेपट्टि प्लास्टिकको पारदर्शी पर्दा छ। त्यसबाट उनी सहकर्मीहरूलाई देख्न पाउँछिन्। पर्दाहरू हटाउन मिल्छ, तिनलाई भुइँमा पेच कसेर ठड्याइएको हो। महामारीको डर हुँदा तिनलाई माथि उचाल्न मिल्छ।र नहुँदा तिनलाई तल झार्न मिल्छ।
लैलाको डेस्कअगाडि बोटबिरुवा राखेर क्षेत्रविभाजन गरिएको छ। कर्मचारीहरूलाई केही वर्षअघि जताततै प्लास्टिक देखेर दिक्क लाग्थ्यो। उनीहरूलाई कार्यालय अस्पतालजस्तो बनेको भन्ने लाग्थ्यो। लैलालाई बोटबिरुवा मन पर्छ।

एउटा नयाँ परियोजनाबारे छलफल गरेर लैलाको बिहान बित्यो। सहकर्मीहरूसँग प्रत्यक्ष बैठक भएको थियो तर उनीहरू सुरक्षित दूरीमा बसेका थिए। यस्ता अन्तर्क्रिया गर्न मात्र उनी कार्यालय जान्छिन्। अनलाइनभन्दा भेटेरै यस्तो छलफल गर्दा राम्रो परिणाम आउँछ।
अहिले दिउँसोको ४ बज्यो। उनको घर जाने बेला भयो। सन् २०२० मा लकडाउन सुरु भएपछि लैला एकजना साथीसँग सहरबाहिर सरेकी थिइन्। लामो यात्रा गर्नुपरे पनि सातामा एक चोटि मात्र हो। त्यसैले उनी गुनासो गर्दिनन्।
ठूलो घर अर्थात् ठूलो ठाउँ। लकडाउन लाग्दा उनलाई घरबाट केही साता मात्र काम गर्नुपर्ला भन्ने लागेको थियो। अनि उनले भान्साको टेबलमा ल्यापटप राखेर काम गरेकी थिइन्।
तर साता महिनामा र महिना वर्षमा फेरिँदा उनलाई घरमै कार्यकक्ष चाहिने आवश्यकता महसुस भयो। तर सहरमा भएको उनको पुरानो फ्ल्याटमा पर्याप्त ठाउँ थिएन।

अहिले उनी माथिल्लो तलाको एउटा कोठामा काम गर्छिन्। त्यहाँ उभिएर काम गर्न मिल्ने एउटा डेस्क, अग्लोहोचो बनाउन मिल्ने कुर्सी र कागजपत्र राख्न मिल्ने ठाउँ छन्।
पहिला उनलाई उज्यालो कति महत्त्वपूर्ण हुन्छ भन्ने खासै वास्ता थिएन। अहिले उनले छानामा साँघुरो ठाउँमा उज्यालो बनाउने बत्ती राखेकी छन्। उनले डेस्कका लागि छुट्टै बत्ती पनि किनेकी छन्।
दुईपत्रे झ्याल फेर्न लैला पैसा जम्मा गर्दैछिन्। उनको घर ठूलो बाटोको छेउमै छ। त्यसैले काम गर्दा उनले ध्यान केन्द्रित गर्न धेरै मेहनत गर्नुपर्छ। बाहिरको आवाज आउँछ भन्ने उनले सोचेकै थिइनन्।
उनले मटान थप्ने र बगैँचामा कार्यकक्ष बनाउने विषयमा सोचेकी थिइन्। तर उनले अहिलेका लागि शयनकक्षबाटै काम गर्ने निर्णय गरिन्।
लैला र उनीजस्ता लाखौँ अरू मानिसका लागि ठूलो परिवर्तन आयो।
तर सबै कुरा फेरिँदैनन्।
महामारी सुरु भएपछि लैलाले आफ्नो जीवनशैलीमा तत्काल परिवर्तन गरिन्। तर वास्तुकलाको गति ढिलो हुन्छ। कुनै भवनको नमुना बनाउन, खर्चको जोहो र निर्माण गर्न वर्षौँ लाग्छ।
धेरै मानिस घर फेर्न वा घरमा सुधार गर्न खर्च जुटाउन सक्दैनन्। अनि आर्थिक मन्दीको खतरा भएको बेला रोजगारदाताहरू कार्यालय सार्न वा भएको ठाउँमा परिवर्तन गर्न सक्दैनन्।
अब केही महिनामै कोभिड-१९ हरायो वा त्यसविरुद्ध खोप बन्यो भने धेरै घर र कार्यालयहरू "सामान्य" स्थितिमा फर्किन सक्छन्।
यद्यपि लैलाको जस्तो काल्पनिक जीवन हामी धेरैका लागि वास्तविकता बन्न सक्छ। विशेषतः सङ्क्रमणले निरन्तरता पायो वा खोप बनेन भने।
परिवर्तनका लागि आर्थिक दबाव
धेरै आर्किटेक्टलाई 'घरबाट काम' गर्ने चलन कोभिड-१९ महामारीको सबैभन्दा ठूलो प्रभाव हो भन्ने लाग्छ।
किन त? सङ्क्षेपमा उत्तर पैसा भएको प्रा. डेभिड बर्नी बताउँछन्। उनी न्यूयोर्क महानगरको पब्लिक आर्किटेक्ट आयुक्त थिए।
"घरबाटै काम गर्ने कर्मचारीको सङ्ख्या बढ्दा कम्पनीहरूले आफ्नो कार्यालय राख्ने ठाउँको खर्च घटाउन सक्छन्," उनले भने।
"रीअल इस्टेट व्यवसायमा भएका केही मानिस आत्तिन थालेको हामीले अहिले पाएका छौँ। उनीहरूले कार्यालय राख्ने ठाउँको माग घटेको देखेका छन्।"

सहरबाट पर
धेरै भवनहरू भाडामा नजाने वा विक्री नहुने सम्भावना भएको रोयल इन्स्टिट्यूट अफ ब्रिटिश आर्किटेक्ट्सका ह्यू पीअर्म्यान बताउँछन्।
ठूला कार्यालयका लागि प्रयोग हुने ठाउँ, विशेषगरी हेरफेर गर्न नमिल्ने अग्ला भवनहरूले अहिले नै आकर्षण गुमाइसकेका छन्।
"अनि सहर छोडेर अन्यत्र जाने दबाव हुनेछ," उनी भन्छन्।
विगतमा पनि स्वास्थ्यसम्बन्धी चासोले वास्तुकलामा महत्त्वपूर्ण विकास भएको पीअर्म्यान औँल्याउँछन्।
रोग र कम गुणस्तरको वायुका कारण १९औँ र २०औँ शताब्दीमा मानिसहरू सहर छोडेर हिँड्न थाले। फलस्वरूप सहरबाहिर सबर्ब भनिने क्षेत्रहरू बने।

घर नै कार्यालय
कोभिडपूर्व घरहरू विश्राम गर्नका लागि थिए भने कोभिड फैलिएपछि घरहरू आंशिक रूपमा घर र आंशिक रूपमा कार्यालय हुने ब्रिटिश आर्किटेक्ट ग्रेस चोईको ठम्याइ छ।
"धेरै मानिसहरू आफ्नो घरमा कामका लागि धेरै ठाउँ खोज्नेछन्, अथवा कम्तीमा उपलब्ध स्थानमा केही हेरफेर गर्न सकिने सम्भावना। हामी सबैले आफ्नो ठाउँलाई बुद्धिमत्तापूर्वक विन्यास गर्नेछौँ।"
चोईका अनुसार उनीसँग अहिले नै धेरै निर्माताहरूले कार्यालयस्थल र गार्डन स्ट्यूडिओयुक्त घरबारे सोधखोज गरिसकेका छन्। किनभने भान्साको टेबलमा ल्यापटप राखेर काम गर्न सधैँ सहज हुँदैन।
धेरै काम घरबाट गर्न मिल्दैन। हजारौँ कार्यालयहरू यथावत् रहनेछन्। आर्किटेक्टहरू सिर्जनशील सोच र नयाँ प्रविधिले तिनलाई सान्दर्भिक बनाउने विश्वासमा छन्।

स्पर्शरहित प्रविधिको उदय
"कार्यालयमा बसेर ल्यापटपमा ठोकठाक गर्ने दिन सकिए - तपाईँ त्यो काम घरबाटै गर्न सक्नुहुन्छ," एईकम नामक कम्पनीका निर्देशक तथा आर्किटेक्ट डेल सिन्क्लेअर भन्छन्।
"सहकर्मीसँग सहकार्य तथा विचार मन्थन गर्न कार्यालय जानु वास्तवमै रोचक हुनेछ।"
कार्यालयहरूमा विशेषतः "स्पर्शरहित प्रविधि" वा "सम्पर्करहित मार्ग" र डेटाको अधिकतर प्रयोगबाट स्वचालित प्रक्रिया अङ्गीकार हुने सिन्क्लेअर र अन्य आर्किटेक्टहरूले अनुमान गरेका छन्।
"भवनहरूमा प्रविधिको व्यापक प्रयोग हुनेछ - फोन र अनुहार तथा स्वर चिन्ने प्रविधिको प्रयोग हुनेछ। अनि डेटा सङ्कलन गर्न रोबट र सेन्सरहरू प्रयोग भएको हामी पाउनेछौँ," उनी भन्छन्।
"यो क्षेत्र साँच्चै उकालो लाग्नेछ। हामीले अहिले नै अस्पतालहरूमा यो प्रविधि प्रयोग गरेका छौँ - अनि कोभिड-१९ ले अन्यत्र पनि त्यसको प्रयोगको गति बढाइदिएको छ।"
कतै जडान गरेर राखिएको र मान्छेले लगाएर हिँड्न मिल्ने सेन्सर प्रयोग गरी रोगकारक कीटाणु नियन्त्रण गर्न वायुको तापमान र आद्रता मिलाउन सकिनेछ।
पराबैजनी किरण प्रयोग गरेर ब्याक्टेरिया र भाइरस मार्ने एअर कन्डिशनिङ प्रणाली अहिले पनि प्रचलनमा छ।

खुला कार्यालयको अस्तित्व के होला?
महामारीको बेला 'ओपन प्ल्यान' अर्थात् खुला कार्यस्थलको नकारात्मक पक्ष देखिनु स्वाभाविकै हो। तर केही विज्ञहरू विशेष उपाय अवलम्बन गरिए त्यस्ता उदाङ्ग कार्यालयहरू जोगिन सक्ने धारणा राख्छन्।
ठाउँ छुट्याउन विभाजक आवश्यक हुँदा आर्किटेक्ट र डिजाइनरहरू तिनले सामाजिक अन्तर्क्रियामा पार्ने प्रभावलाई न्यून पार्ने प्रयास गर्दैछन्।
थोरै जोखिम हुँदा तिनलाई हटाउन र पछि आवश्यक हुँदा फेरि जडान गर्न मिल्छ कि?
सहकर्मीहरूले एकअर्कालाई देख्न सकून् भनेर पारदर्शी विभाजक पो राख्न सकिन्छ कि?
एशेल आर्किटेक्चर नामक कम्पनीका बेन शेननका अनुसार "बायोफिलिया" अर्थात् प्राकृत विश्वसँगको हाम्रो आकर्षण नै निकासको बाटो हो।
"हामी मानिसहरूलाई छुट्याउन बोटबिरुवा प्रयोग गर्न सक्छौँ। उनीहरू ब्लीच गन्हाउने प्लास्टिक क्यूबिकलमा फर्किन चाहँदैनन्। उपयुक्त परिस्थितिमा वनस्पतिको पर्दा निकै राम्रो उपाय हुनसक्छ। अनि त्यसले वायुको गुण सुधार गर्न पनि सघाउन सक्छ।"
सूक्ष्मजीवलाई प्राकृतिक रूपमै नियन्त्रण गर्न प्रायः धेरै छोइने ढोका र दराजका घर्रामा तामा र यसको मिश्रधातुयुक्त पदार्थ प्रयोग गर्नुपर्ने शेननको तर्क छ।
तामा महँगो हुन्छ। तर यो प्रयोग नगर्दा पनि कम्पनीहरूले अहिले ठूलो खर्च बेहोर्नुपरेको उनी बताउँछन्।

अब हुनसक्ने कुराको सङ्केत
कोभिडका कारण धेरै जनाले कार्यालय नै नगई काम गर्न पाउने भए पनि वास्तविक संसारमा एकजुट हुनु मानव मनोविज्ञानका लागि आधारभूत कुरा भएको लन्डनस्थित डीआरएमएममा कार्यरत सेडी मोर्गनको धारणा छ।
"व्यापार-व्यवसायका लागि आवश्यक जोखिम र सिर्जनशीलता प्रायः अरूलाई प्रत्यक्ष देख्न सकिने र एकै ठाउँ हुँदा वास्तविक समूहमा लिइन्छ, अवास्तविक (भर्चूअल) स्थानमा हैन।"
ग्रेस चोई पनि यसमा सहमत छिन्। "विचार साटासाट गर्न हामीले भेटघाटको महत्त्वलाई कम आकलन गर्नुहुँदैन।"
"हामी शरीरको हाउभाउ, कहिले बोल्ने भन्ने सङ्केत, सहज संवाद र एकआपसमा हुने अन्य सम्बन्ध गुमाइरहेका छौँ।"
























