कोभिड नेपालः थप नौ हजार जनामा कोरोना भाइरस सङ्क्रमण, ५४ जनाको मृत्यु

कोभिड बिरामी

तस्बिर स्रोत, Reuters

नेपालमा गत २४ घण्टामा थप नौ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि सङ्ख्या हो।

मन्त्रालयका अनुसार सो अवधिमा थप ५४ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ। रूपन्देहीमा पनि ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।

सरकारको तथ्याङ्कअनुसार बिहीवार अपराह्णसम्म देशभरि ७२,५६१ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

नेपालमा कोभिडको तथ्याङ्क
तस्बिरको क्याप्शन, एन्टिजन विधिबाट परीक्षण गर्दा पुष्टि भएका १०० सङ्क्रमित पनि यो तथ्याङ्कमा समाविष्ट

अहिले पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

कुल २१,१४२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यो अवधिमा २,७०७ जना सङ्क्रमणमुक्त भएका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

मन्त्रालयका अनुसार अहिले काठमाण्डू जिल्लामा ३,१६३ जना, ललितपुर जिल्लामा ५६७ र भक्तपुरमा २४२ जनामा कोभिड पुष्टि भएको हो।

त्यसैगरी मोरङमा २५५, कास्कीमा ३७५, दाङमा २४६, बाँकेमा ३९८, रूपन्देहीमा १,०६९ तथा सुर्खेतमा २०६ जनामा पनि सङ्क्रमण पुष्टि भयो।

तीमध्ये ५,३१५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जटिल समस्या भएका बिरामीहरूको अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरमा उपचार भइरहेको छ।

Intensive care - hospital
Science Photo Library
नेपालमा कोरोनाभाइरस सङ्क्रमितको अवस्था

वैशाख २४ गते अपराह्णसम्मको विवरण

  • ७२,५६१देशभरि भएका सक्रिय सङ्क्रमित

  • १४.३%पीसीआरमा परीक्षणमध्ये सङ्क्रमण पुष्टि दर

  • १,४०६नेपालमा अहिले उपलब्ध आईसीयू शय्या

  • ५६६नेपालमा अहिले उपलब्ध भेन्टिलेटर

  • ६५२ +२०१आईसीयू र भेन्टिलेटरमा भएका सङ्क्रमित

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

केही सातायता नेपालमा परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि अनुपात बढ्न थालेको छ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका देखिन्छन्।

तीमध्ये २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।

कोभिड परीक्षण

तस्बिर स्रोत, EPA

काठमाण्डूमा धेरै सक्रिय सङ्क्रमित

मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा तीन जिल्लामा कुल ३२,४०० जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

  • काठमाण्डूः २४,५३३
  • भक्तपुरः २,९४५
  • ललितपुरः ४,९७४

उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सङ्ख्याको ४४.६ प्रतिशत हो।

कोभिडबाट मृत्यु भएका व्यक्तिको शव

तस्बिर स्रोत, RSS

राजधानी उपत्यकामा अहिलेसम्म १,२०४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ।

  • काठमाण्डूः ८०८
  • भक्तपुरः १६६
  • ललितपुरः २३०

यो देशभरि कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्याको एकतिहाइ हो।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च

के छ भारतको स्थिति?

भारत सरकारले बिहीवार प्रकाशित गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा ४,१२,००० जनामा अर्थात् अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कोभिड-१९ पुष्टि भयो।

उक्त अवधिमा ३,९८० जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ।

उत्तर प्रदेश, हरियाणा, पञ्जाब, तमिलनाडु र कर्नाटकसहित केही राज्यमा बुधवार अहिलेसम्मकै सर्वाधिक दैनिक मृत्यु भयो।

महामारी फैलिएदेखि धेरै प्रभावित महाराष्ट्र राज्यमा ९२० जनाको कोभिड-१९ का कारण २४ घण्टाको अवधिमा मृत्यु भएको तथ्याङ्क छ।

तर विज्ञहरूले परीक्षणको सङ्ख्या घटेको तथा मृत्युबारे पूर्ण विवरण प्राप्त नभएकाले आधिकारिकभन्दा वास्तविक सङ्ख्या बढी हुन सक्ने औँल्याएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले आफ्नो साप्ताहिक प्रतिवेदनमा गत साता भारतमा फेला परेका सङ्क्रमितको सङ्ख्या विश्वभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्याको झन्डै आधा र मृतकको सङ्ख्या एकचौथाइ उल्लेख गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड बिरामीले भरिएको भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अवस्था