कोभिड नेपालः कोरोना भाइरस महामारी नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा निषेधाज्ञा एक साता थप

काठमाण्डू

तस्बिर स्रोत, RSS

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्न थालेपछि काठमाण्डू उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा एक साता थप्ने निर्णय गरेका छन्।

यसअघि गत साता बिहीवार स्थानीय प्रशासनहरूले काठमाण्डू उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी गरेका थिए।

यसपटकको निषेधाज्ञा थप कडा पारिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

"अबदेखि अत्यावश्यक खाद्यान्न किन्नका लागि बिहान ९ बजेसम्ममात्रै पसल खुला रहनेछन्, बेलुका पसलहरू खोल्न पाइनेछैन," उनले भने।

निषेधाज्ञामा पनि मानिसहरूको आवतजावत विगतको तुलनामा धेरै भएको भन्ने गुनासोका माझ कार्यालयको पास जाँचमा कडाइ गरिने उनले बताए।

निषेधाज्ञा

तस्बिर स्रोत, Nepal Police

उनका अनुसार अब कुनै पनि कार्यालयले एकचौथाइ कर्मचारीलाई मात्रै पास उपलब्ध गराएर काम गर्नुपर्नेछ।

केन्द्रीय ब्याङ्क तथा वित्तीय संस्थाहरूले पनि २० प्रतिशत कर्मचारी राख्न पाउनेछन् भने २५ प्रतिशतमात्रै शाखा कार्यालय खोल्न पाइने उनले बताए।

मङ्गलवार तीनवटै जिल्लाका प्रमुखहरू बसेर गरिएको निर्णयबारे भट्टराईले भने, "यसअघि जारी गरिएका सबै पास रद्द गरिनेछ।"

"अत्यावश्यकबाहेक अरूलाई पास जारी गरिनेछैन," उनले भने।

सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञामा थप कडाइ गर्ने सरकारको योजना भएको सङ्केत दिएका थिए।

नेपाल निषेधाज्ञा

तस्बिर स्रोत, EPA

सङ्क्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने भन्दै उनले "एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाहअनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको" बताएका थिए।

यसअघि काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले "अत्यावश्यकबाहेक अरू कार्यालयका कर्मचारीहरूको आवतजावत रोक्ने, ब्याङ्क, वित्तीय संस्था र सहकारी संस्थाका कर्मचारीहरूको आवश्यकबाहेक आवतजावतलाई पनि नियन्त्रित गर्ने र बिहान बेलुका जुन दुईवटा समयमा बजारहरू खुलिरहेका थिए तिनलाई पनि एक समय मात्रै खुला गर्ने" विषयमा छलफल गरिएको जानकारी दिएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के नयाँ भेरिअन्टका कारण भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको हो

निषेधाज्ञाअघि र पछि सङ्क्रमणको अवस्था कस्तो छ?

वैशाख १६ गते निषेधाज्ञा लागु हुनुभन्दा एक दिनअघि स्वास्थ्य मन्त्रालयले काठमाण्डू उपत्यकाका तीनवटै जिल्लामा ५०० भन्दा बढी सङ्क्रमितहरू उपचारार्थ रहेको जनाएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस नेपाल: कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च

त्यस बेला २४ घण्टामा देखा परेका सङ्क्रमितको सङ्ख्या पाँच हजारमुनि थियो।

तीमध्ये काठमाण्डू उपत्यकामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या २,००० भन्दा बढी थियो।

निषेधाज्ञा लागु गरिएपछि पनि नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा झन्डै साढे सात हजार जनामा सङ्क्रमण पुष्टि भएको देखिन्छ।

तीमध्ये आधाजति राजधानीमा फेला परेका हुन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘निको भएपछि कोभिड बिरामीको सेवामै फर्किन्छु’

कारबाहीमा पर्नेको सङ्ख्या लगभग ११ हजार

गृह मन्त्रालयका अनुसार सोमवार साँझ ६ बजेसम्म देशका ३७ वटा जिल्लामा जिल्लाभरि लागु हुनेगरी कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधका आदेशहरू जारी गरिएका छन्।

अरू आठ जिल्लामा निश्चित क्षेत्रमा मात्रै लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार निषेध उल्लङ्घन गर्ने १०,८०० जनाभन्दा बढीलाई कुल ११ लाख रुपैयाँभन्दा बढी रकम जरिवाना गराइएको छ।

उनले नियमित निगरानी र गस्तीबाहेक स्वास्थ्य मापदण्डसम्बन्धी जनचेतना फैलाउन देशैभरि प्रहरी परिचालित भएको जानकारी बीबीसीलाई दिए।