कोभिड भारतः कोरोना भाइरसको 'डबल म्यूटन्ट भेरिअन्ट'का कारण 'सङ्क्रमण बढेको हुनसक्ने' अनुमान

भारतमा कोभिड परीक्षण

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, "डबल म्यूटन्ट भेरिअन्ट" का कारण अहिले भारतमा कोरोनाभाइरस फैलिएको अनुमान गरिएको छ

भारतमा कोरोनाभाइरसको एउटा उत्परिवर्तित प्रकारका कारण महामारीको घातक दोस्रो लहर फैलिएको हुनसक्ने अनुमान गरिएको छ।

भारतमा गत मार्च महिनामा पहिलो पटक "डबल म्यूटन्ट भेरिअन्ट" अर्थात् दोहोरो उत्परिवर्तन भएको कोरोनाभाइरस फेला परेको थियो।

सङ्क्रमितको सङ्ख्या उच्च रहेका विभिन्न राज्यबाट सङ्कलित नमुनामा बी.१.६१७ नाम दिइएको उक्त भेरिअन्ट देखा परेको छ।

यद्यपि भारतको न्याश्नल सेन्टर फर डिजीज कन्ट्रोलका एक अधिकारीले कोरोनाभाइरसको उत्परिवर्तित रूपसँग कोभिड-१९ को दोस्रो लहरको सम्बन्ध पूर्ण रूपमा स्थापित हुन बाँकी भएको बताएका छन्।

भारतमा बुधवार २४ घण्टाको अवधिमा ४,१२,००० जनामा अर्थात् अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।

उक्त अवधिमा ३,९८० जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ।

तेस्रो लहरको सम्भावना कस्तो?

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकारले कोभिड महामारीको तेस्रो लहर अवश्यम्भावी भएको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतको महामारी किन पूरा विश्वका लागि चिन्ताको विषय

स्वास्थ्य मन्त्रायलको ब्रीफिङमा बोल्दै के विजयराघवनले कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या यति "उग्र" होला भन्ने विज्ञहरूले पूर्वानुमान गर्न नसकेको स्वीकार गरे।

"भाइरस ठूलो मात्रामा प्रसारित भएकाले तेस्रो चरण अवश्यम्भावी छ," उनले भने।

"तर तेस्रो चरण कुन समयमा हुन्छ भन्ने स्पष्ट छैन। ... हामीले नयाँ लहरहरूका लागि तयारी गर्नुपर्छ।"

अहिले चलिरहेको प्रकोपका कारण भारतको स्वास्थ्यप्रणाली अस्तव्यस्त भइसकेको छ।

अस्पतालहरूले र मसानघाटहरूले चाप थेग्न सकिरहेका छैनन्। धेरै ठाउँमा मेडिकल अक्सिजनको अभाव देखिएको छ।

विभिन्न राज्यहरूले स्थानीय तहमा निषेधाज्ञा र लकडाउन लगाएका छन्।

देशको अर्थतन्त्र प्रभावित हुने भयका कारण सङ्घीय सरकार देशभरि लकडाउन लगाउन अनिच्छुक देखिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?

डबल म्यूटन्ट भेरिअन्ट कहाँ फेला पर्‍यो?

आठ राज्यबाट सङ्कलित नमुनामध्ये झन्डै १३,००० वटाको जीन सीक्वन्सिङ गर्दा झन्डै ३,५०० वटाभन्दा केही बढीमा कोरोनाभाइरसका उत्परिवर्तित भेरिअन्टहरू भएको पत्ता लाग्यो।

एक महिनाभन्दा अघिदेखि दिल्लीले अहिले सङ्क्रमण बढ्नुमा बी.१.६१७ सङ्केत दिइएको दोहोरो उत्परिवर्तन भएको प्रकारको कुनै सम्बन्ध नभएको दाबी गरिरहेको थियो।

अधिकारीहरूले अहिले कोरोनाभाइरसको प्रकोप बढ्नुमा यूके, अफ्रिकी र ब्रजिलियन भेरिअन्टको सम्बन्ध भएको कुरा पनि स्वीकारेका छैनन्।

भाइरसविज्ञ डा. शाहिद जमीलले बीबीसीका विकास पाण्डेलाई यसअघि भारतले भाइरसमा हुने उत्परिवर्तनबारे धेरै ढिलो ध्यान दिएको थियो।

उनका अनुसार फेब्रुअरी महिनाको मध्यतिर मात्रै भाइरसको आनुवंशिक संरचना सीक्वन्सिङ गरेर अध्ययन गर्न थालियो।

भारतमा अहिले सङ्कलित नमुनामध्ये एक प्रतिशतजतिको मात्र सीक्वन्सिङ गरिन्छ।

"यूकेले महामारी उत्कर्षमा पुग्दा ५-६ प्रतिशत नमुनाको सीक्वन्सिङ गर्थ्यो। तर त्यो क्षमता अहोरात्र बनाउन सकिँदैन," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के नयाँ भेरिअन्टका कारण भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको हो?

सङ्घीय सरकारले कोरोनाभाइरसको उत्परिवर्तनसँग अहिले सङ्क्रमण फैलिनुको सम्बन्ध भए पनि त्यो "पूर्ण रूपमा प्रमाणित" हुन बाँकी भएको बताएको छ।

"यसको एपिडिमिअलजिकल र क्लिनिकल सम्बन्ध पूर्णतः स्थापित भइसकेको छैन... सहसम्बन्धबिना हामी सङ्ख्या बढ्नुसँग प्रत्यक्ष सम्बन्ध प्रमाणित गर्न सक्दैनौँ," न्याश्नल सेन्टर फोर डिजीज कन्ट्रोलका सुजीत सिंहले भने।

"तर हामीले राज्यहरूलाई जनस्वास्थ्यसम्बन्धी प्रतिकार्य - परीक्षण, तत्काल आइसोलेशन, भिडभाड नियन्त्रण र खोप - बढाउन सुझाव दिएका छौँ।"

भारत कोभिड बिरामी

तस्बिर स्रोत, Getty Images

भारतको अहिलेको अवस्था कस्तो छ?

उत्तर प्रदेश, हरियाणा, पञ्जाब, तमिलनाडु र कर्णाटकसहित केही राज्यमा बुधवार अहिलेसम्मकै सर्वाधिक दैनिक मृत्यु भयो।

महामारी फैलिएदेखि धेरै प्रभावित महाराष्ट्र राज्यमा ९२० जनाको कोभिड-१९ का कारण २४ घण्टाको अवधिमा मृत्यु भएको तथ्याङ्क छ।

तर विज्ञहरूले परीक्षणको सङ्ख्या घटेको तथा मृत्युबारे पूर्ण विवरण प्राप्त नभएकाले आधिकारिकभन्दा वास्तविक सङ्ख्या धेरै बढी हुन सक्ने औँल्याएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले आफ्नो साप्ताहिक प्रतिवेदनमा गत साता भारतमा फेला परेका सङ्क्रमितको सङ्ख्या विश्वभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्याको झन्डै आधा र मृतकको सङ्ख्या एकचौथाइ भएको उल्लेख गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वास्तवमा कोरोनाभाइरस के हो?

कोभिड खोप अभियान के हुँदैछ?

भारतलाई आफूले सुरु गरेको महत्वाकाङ्क्षी खोप अभियानलाई निरन्तरता दिन गाह्रो भइरहेको छ। जुलाई महिनासम्म ३० करोड नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने उसको लक्ष्य थियो।

तर खोपको अभाव भएकाले अभियान प्रभावित भएको छ।

झन्डै १.४ अर्ब जनसङ्ख्यामध्ये २६.९ करोड मानिसले कोभिड खोपको दुईवटै मात्रा पाएका छन् भने १२.८ करोड जनाले पहिलो मात्रा मात्र लिन पाएका छन्।

भारतसँग भएको खोपको भण्डार पनि निख्रिन लागेको छ। अहिले भारत सरकारले खोप दिने भनेका ४५ वर्षमुनिका वयस्कहरू खोपका लागि आफ्नो नाम लेखाउन र मिति लिन सङ्घर्ष गरिरहेका छन्।

विज्ञहरू लकडाउन लगाउनु र खोप उपलब्ध गराउनु नै अहिलेको विकल्प भएकोमा जोड दिन्छन्।

तर सरकारले कोरोनाभाइरस विस्तार रोक्न तत्काल अझ काम गर्नुपर्ने देखिएको उनीहरूको भनाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?