कोभिड भारत: अक्सिजन अभावबीच भारतमा सङ्क्रमितको सङ्ख्या दुई करोड नाघ्यो

भारतले दैनिक हजारौँ टन अक्सिजन उत्पादन गरिरहेको छ तर आपूर्तिको अभावले राजधानी दिल्लीमा असर गरिरहको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतले दैनिक हजारौँ टन अक्सिजन उत्पादन गरिरहेको छ तर आपूर्तिको अभावले राजधानी दिल्लीमा असर गरिरहको छ

भारतमा कोभिड सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ तर सरकारले सङ्क्रमितको सङ्ख्या "घटिरहेको" जनाएको छ।

मङ्गलवार थप तीन लाख ५५ हजार नयाँ सङ्क्रमित थपिएका छन् जुन एप्रिल ३० तारिखमा देखिएको चार लाख दैनिक सङ्ख्याभन्दा कम हो।

तर परीक्षण सङ्ख्या पनि घटाइएको छ र भारतमा साँच्चै सङ्क्रमित हुनेको सङ्ख्या निकै धेरै भएको आशङ्का पनि गरिएको छ।

एप्रिलको सुरुयता दोस्रो लहर सुरु भएको महाराष्ट्र राज्यमा सङ्क्रमितको सङ्ख्या निरन्तर रूपमा घटिरहेको छ।

यसैबीच अक्सिजन अभावको अवस्थामा सुधार हुने कुनै सङ्केत देखिएको छैन र राजधानी दिल्लीलगायतका थुप्रै सहरमा उपचारका लागि मानिसहरू सङ्घर्ष गरिरहेका छन्।

मानिसहरूको ठूलो भेला हुने सार्वजनिक पर्व र चुनावी र्‍यालीमा सुरक्षा मापदण्ड पालना नहुँदा पनि त्यसले भारतमा दोस्रो लहरका बेला अस्पतालहरूमा भीड बढेको हो। परीक्षण, रोग पहिचान र उपचारलगायत सघन उपचार सेवा तथा अत्यावश्यक औषधीमा ढिलाइ हुँदा पनि त्यसले मृत्यु हुनेको सङ्ख्या बढाएको छ।

भारतमा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २,२२,००० पुगेको छ। तर विज्ञहरू भने मृत्यु हुनेको सङ्ख्या निकै कम मात्रै गणनामा आएको बताउँछन्।

आधिकारिक तथ्याङ्क र मानिसहरूले शवदाह गृहमा देखेका शवको लामो लाइनबीच तालमेल नभएको उनीहरू बताउँछन्। सहरमा सामूहिक शवदाह गर्न अस्थायी चिताहरू बनाइएका छन् र शव जलाउन वा गाड्न ठाउँ अभाव भएको छ।

थुप्रै सहरहरूमा नयाँ प्रतिबन्धहरू लगाइएको छ, पूर्ण लकडाउनबाट रात्रिकालीन कर्फ्यूसमेत लगाइएको छ। दैनिक १३ हजार दैनिक सङ्क्रमित सङ्ख्या देखिएको उत्तरी राज्य बिहारमा पूर्ण लकडाउन गरिएको छ र अत्यावश्यकीय सेवा मात्रै खुलेका छन्।

के भारतमा सङ्क्रमितको सङ्ख्या साँच्चै घट्न थालेको हो?

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घटेको देखिए पनि सङ्क्रमण घटिरहेको भन्न निकै चाँडो हुनेछ।

परीक्षणमा र आधिकारिक सङ्ख्या राख्नमा ढिलाइ हुने गरेकाले विज्ञहरू थप स्पष्ट दृश्यका लागि दैनिकभन्दा पनि साप्ताहिक सङ्क्रमितको औसत सङ्ख्या हेर्छन्। र औसतमा भारतमा सङ्क्रमित सङ्ख्या गत साता बढिरहेको थियो तर त्यो भन्दा अघिल्लो साताभन्दा कम दरमा बढिरहेको थियो।

तर दिल्ली, उत्तर प्रदेश र महाराष्ट्र तथा अन्य धेरै प्रभावित राज्यमा पनि दैनिक सङ्ख्या घटेको छ।

परीक्षणको सङ्ख्या पनि घटाइएकोले यो घटेको सङ्ख्यालाई लिएर अनुमान गर्न गाह्रो हुनेछ। महाराष्ट्रमा परीक्षण सङ्ख्या निरन्तर रूपमा एउटै भए पनि हालैका सातामा दिल्लीमा निकै घटेको छ।

धेरै प्रभावित मध्येको उत्तर प्रदेश राज्यमा परीक्षण अन्य राज्यको दाँजोमा निकै कम छ।

उत्तर प्रदेशमा २२ करोड मानिस छन् र प्रत्येक १० लाखमा करिब १,८४,००० को परीक्षण भइरहेको छ। ७ करोड ५० लाख जनसङ्ख्या भएको तामिलनाडू राज्यमा प्रति १० लाख जनसङ्ख्यामा तीन लाखको परीक्षण गरिँदैछ।

अक्सिजनका लागि सङ्घर्ष

दिल्ली सरकारले कोभिड बिरामीको सेवाका सुविधा केन्द्र र सघन उपचार एकाइहरू बनाउन सेनालाई भनेको छ।

मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले पर्याप्त अक्सिजन उपलब्ध नगराएको कुरा पटक पटक भनेका छन्।

तर सङ्घीय सरकारका अधिकारीहरूले भने अभाव नभएको बताएका छन् र अहिलेको चुनौती यातायातको रहेको बताएका छन्।

दिल्लीमा हालैका सातामा शवदाह गृहमा शव जलाउन चाप बढेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दिल्लीमा हालैका सातामा शवदाह गृहमा शव जलाउन चाप बढेको छ

मोदीको निर्वाचन क्षेत्रमा सङक्रमित सङ्ख्यामा वृद्धि

हिन्दूहरूका लागि विश्वकै एउटा पवित्र स्थल वाराणसी वरपरको क्षेत्र कोरोनाभाइरसको दोस्रो लहरबाट प्रभावित हुनेमध्येको एउटा हो।

उत्तर प्रदेशस्थित उक्त क्षेत्रका थुप्रै आक्रोशित जनताहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र सांसदहरू आवश्यकताको समयमा कहाँ छन् भनेर प्रश्न गरिरहेका छन्।

वाराणसीमा स्वास्थ्यका पूर्वाधार थेग्नै नसक्ने अवस्थामा पुगेको छ र मानिसहरूले अस्पतालमा शय्या, अक्सिजन, एम्बुलेन्सको सेवा पाउन सकेका छैनन्।

कोरोनाभाइरसको परीक्षणकै लागि पनि मानिसहरूलाई एक सातासम्म लाग्न सक्छ।

विगत १० दिनमा औषधी पसलहरूमा भिटामिन, जिङ्क, प्यारासिटामोलजस्ता आधारभूत औषधी पनि पाइन छोडेको छ।

वाराणसीका बासिन्दाहरूले समस्याको पहिलो सङ्केत मार्चमा देखिएको बताएका छन्। त्यसबेला दिल्ली र मुम्बईमा सङ्क्रमितको सङ्ख्या बढेसँगै अधिकारीहरूले प्रतिबन्ध लगाउन थाले र प्रवासी कामदारहरू वाराणसीका गाउँमा भिडभाडयुक्त रेल, बस र ट्रक हुँदै फर्किन थाले।

आउनेमध्ये धेरै २९ मार्चको पर्वका लागि वा १८ एप्रिलको चुनावका लागि मतदान गर्न आएका थिए। विज्ञहरूले भिडभाड नगर्न सुझाव दिए पनि त्यहाँ चुनाव गरिएको थियो।

खबरहरूका अनुसार चुनावमा खटिएका सात सयभन्दा बढी शिक्षकको ज्यान गएको थियो र चुनावका कारण भाइरसको सङ्क्रमण फैलिन मद्दत पुगेको थियो।