कोरोना भाइरस भारतः कोभिशील्ड खोप बनाउने कम्पनीका प्रमुख भन्छन्, 'सरकारले ढिलो भन्यो, अभाव केही महिना लम्बिन्छ'

भारत खोप

तस्बिर स्रोत, Reuters

विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सीरम इन्स्टिट्यूट अफ इन्डियाका प्रमुखले कोभिड खोप अभाव हुनुमा भारत सरकार जिम्मेदार भएको बताएका छन्।

आदर पूनावालाले बिटेनको पत्रिका द फाइनान्शल टाइम्ससँग भारत सरकारले आफ्नो कम्पनीसँग मार्च महिना हुँदासम्म ठूलो सङ्ख्यामा खोप बनाउन नभनेको बताएका हुन्।

मार्च महिनासम्म भारतमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भइसकेको थियो।

पूनावालाका अनुसार उनको कम्पनीलाई सुरुमा दुई करोड १० लाख अक्सफर्ड-आस्ट्राजेनेका खोप मात्रै बनाउन भनिएको थियो।

सीरम इन्स्टिट्यूटले भारतमा उत्पादन गरेको खोपको नाम कोभिशील्ड राखिएको छ।

महत्त्वाकाङ्क्षी लक्ष्य

कोरोनाभाइरसको महामारीका कारण भारतमा अस्पताल बिरामीले भरिएका छन्, मेडिकल अक्सिजनको अभाव छ र मृतकको अन्तिम संस्कार गर्ने स्थानहरूमा भारत थेग्न नसक्ने अवस्थामा पुगेका छन्।

अदार पूनावाला

अहिले देखिएको खोपको अभाव जुलाई महिनासम्म रहने पूनावालाले चेतावनी दिएका छन्।

आस्ट्राजेनेका खोप उत्पादन गर्ने भारतको सीरम इन्स्टिट्यूटले खोप उत्पादन ब्रिटेनसहित अन्य देशमा पनि विस्तार गर्ने योजना गरिरहेको छ।

भारतले सङ्क्रमितको सङ्ख्या घटिरहेको अवस्था र अलि धेरै आशाका बीच गत ज्यानुअरीमा खोप अभियान सुरु गरेको थियो।

भारत सरकारले जुलाईसम्म २५ करोड जनसङ्ख्यालाई खोप लगाउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ। तीमध्ये धेरैजसो खोप सीरमले उपलब्ध गराउनुपर्नेछ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को योजनाअनुसार भारतले आवश्यक रहेका देशहरूमा खोपको निर्यातसम्म गरेको थियो।

खोप

तस्बिर स्रोत, Reuters

तर तीन महिनायता कोभिड-१९ बाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या देशभरि बढिरहेको छ।

एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा अहिलेसम्म दुई करोड ६० लाख मानिसहरूले दुवै मात्रा खोप लगाइसकेका छन् भने १२ करोड ४० लाखले खोपको पहिलो मात्रा मात्रै लगाएका छन्।

आफ्नै देशमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको र खोपको माग बढेपछि सरकारले अन्य देशमा निर्यात गर्दै आएको खोपमाथि रोक लगाएको थियो।

भारत सरकारले मे १ तारिखदेखि १८ वर्षमाथिका सबैलाई खोप लगाउने अभियान थाले पनि थुप्रै राज्यले पर्याप्त खोप नभएको बताउँदै आएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन कोभिड खोपबीच तुलना गर्न मिल्दैन?

खोप कहिलेसम्म उपलब्ध होला

यसबारे कसैलाई पनि थाहा छैन। अहिले बाँकी खोपले केही धाने पनि अभाव भने जारी रहने देखिन्छ।

हर्ड इम्यूनिटी अर्थात् सामुदायिक प्रतिरक्षाको स्थितिमा पुग्नका लागि ७० प्रतिशत जनसङ्ख्याले खोप लगाउनुपर्ने हुन्छ। त्यसका लागि भारतमा खोपको ८७ करोड मात्रा चाहिन्छ।

अर्को वर्षसम्म यी सबै खोप लगाउनका लागि प्रतिदिन ३५ लाख खोपको मात्रा दिन आवश्यक हुन्छ। अर्थात् अहिले प्रतिदिन दिइएकोभन्दा १० लाखजति बढी।

तर अहिलेको आपूर्ति आवश्यकताभन्दा एकदमै न्यून छ।

सीरम इन्स्टिट्यूटले मे महिनामा सात करोड र भारत बायोटेकले थप दुई करोड उत्पादन गर्ने ठानिएको छ।

त्यो भनेको एक महिनामा नौ करोड खोप हो। उनीहरूले खोप उत्पादनको सङ्ख्या बढाउने ठानिएको छ तर त्यसका लागि समय लाग्नेछ।

भारतले रुसबाट पनि खोप आयात गर्दैछ तर त्यो जुन महिनामा वितरण गर्न थालिने अपेक्षा गरिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दिल्लीमा बिरामीका आफन्त अक्सिजन खोज्न यताउता भौँतारिँदै