कोभिड खोप: विश्वलाई आपूर्ति गरिरहेको भारतीय कम्पनी

खोपका शिशि
    • Author, चियो रोबर्टसन
    • Role, बीबीसी न्यूज

विश्वलाई कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने दौडमा भारतको एउटा औषधि कम्पनीले अग्रता लिएको छ।

खोप निर्माणमा विश्वकै ठूलो कम्पनी सीरम इन्स्टिच्युट अफ इन्डिया सुनिएको धेरै सुनिएको थिएन।

पश्चिम भारतको पुनेस्थित उक्त कम्पनीले हरेक वर्ष एक अर्ब ५० करोड मात्रा खोप उत्पादन गर्छ।

आस्ट्राजेनेका जस्तो औषधि कम्पनीको सहकार्यमा उसले अहिले कोभिड खोप बनाइरहेको छ।

"सन् २०२० मा नियामक निकायले अनुमति दिएका थिएनन् तर हामीले जोखिम उठायौँ", प्रमुख कार्यकारी अदार पूनावालले बीबीसीलाई भने।

"किनकि यसअघि मलेरियाविरुद्ध खोप बनाउँदा पनि सहकार्य गरेका अक्सफोर्डका वैज्ञानिकहरूबारे हामीलाई थाहा थियो।"

सीरम निजी कम्पनी हो। जसले गर्दा पूनावाला र उनका वैज्ञानिकहरूले छिट्टै निर्णय लिन सके।

त्यसको निम्ति लगानीको जोहो गर्नु चुनौती थियो। सीरमले करिब २६ करोड डलर लगानी गर्‍यो।

थप लगानी बिल गेट्स जस्ता परोपकारीबाट र अन्य देशहरूबाट अग्रिम भुक्तानी लिएर जुटायो।

उसले कोभिड खोप उत्पादन गर्न सन् २०२० को मे महिनासम्म ८० करोड डलर जुटाइसकेको थियो।

दुर्लभ खोप

एसआईआईले वास्तवमा कसरी खोपको व्यापक उत्पादन गर्न सक्यो? सन् २०२० एप्रिलमै पूनावालाले खोपको निम्ति आवश्यक सिसी र फिल्टर कति आवश्यक पर्छ भन्ने अनुमान गरिसकेका थिए।

"मैले समयभन्दा पहिल्यै ६० करोड खोपको निम्ति आवश्यक सिसी प्राप्त गरिसकेको थिएँ र सेप्टेम्बरसम्म त्यसलाई गोदाममा राखिसकेको थिएँ," उनले सुनाए।

"सबैभन्दा महत्त्वपूर्ण कुरा मैले अगस्टमै जोखिम उठाएर उत्पादन सुरु गरेकाले ज्यानुअरीसम्ममा ७-८ करोड खोप उत्पादन गर्न सक्यौँ।" 

अन्य कम्पनीहरूले पनि जोखिम उठाएको भए विश्वले अहिले अझै धेरै खोप पाउन सक्थ्यो भन्ने उनलाई लागेको छ।

सीरम इन्स्टिच्यूट

तस्बिर स्रोत, BBC

पूनावालाले उत्पादनमा भएको ढिलाइका निम्ति विश्वव्यापी नियामक प्रणालीको काम गर्ने शैली र समन्वयको अभावलाई कारक बताउँदै त्यसको आलोचना गरे।

उनका भनाइमा यूकेको मेडिसिन्स् एन्ड हेल्थकेयर प्रोडक्टस् रेग्युलेटरी एजेन्सी, युरोपियन मेडिसिन्स् एजेन्सी र यूएस फूड एन्ड ड्रग एड्मिनिस्ट्रेसनजस्ता प्रमुख नियामकहरूबीच समान मापदण्डमा एकता र सहमति हुनसक्ने थियो।

उनले भारतदेखि युरोपसम्म खोप बनाइरहेका देशहरूका नियामकहरू पनि समान अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्न सक्ने बताउँदै विभिन्न सरकारहरूको पनि आलोचना गरे।

"नयाँ खोपको निम्ति समय जोगाउन अझै पनि समन्वय भएको छैन। फेरि पनि त्यस्तै भयो भने राम्रो होइन।

भाइरसको नयाँ प्रकार

पूनावालालाई कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर उति साह्रो चिन्ता छैन।

"अक्सफोर्ड आस्ट्राजेनेका खोप लिइसकेकाहरू अहिलेसम्म अस्पताल वा भेन्टिलेटरमा जानु परेको छैन र उनीहरूको जीवन जोखिममा छैन", उनी भन्छन्।

"उनीहरूले अरूलाई पक्कै सङ्क्रमण सारेका छन्। त्यसैले आदर्श अवस्था त होइन तर खोपले उनीहरूको जीवन सुरक्षित गरेको छ।"

सीरमले भारतमा अगस्टसम्म ३० करोडलाई खोप दिने विश्वकै ठूलो खोप अभियानमा पनि संलग्न छ।

तर ब्लुमबर्गका अनुसार खोप लगाउन योग्य ५६ प्रतिशत मानिसमात्र खोप लगाउन अघि सरेका छन्।

"सेलिब्रिटीहरू वा गैर विज्ञहरूले खोप सुरक्षित नरहेको बताएकाले खोपबारे परम्परागत रूपमा सङ्कोच देखिएको छ," पूनावाला भन्छन्।

"सामाजिक क्षेत्रमा प्रभाव राख्ने सेलिब्रिटी र अरूलाई केही कुरा बोल्नुअघि तथ्यको अध्ययन गर्न र जिम्मेवार बन्न मेरो आग्रह छ।"