कोरोना भाइरसः कोभिड-१९ को खोप बनाउन भारतले कसरी महत्त्वपूर्ण भूमिका खेल्नेछ

- Author, सौतिक विश्वास
- Role, भारत संवाददाता
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले गत साता कोरोनाभाइरसविरुद्ध खोपको विकासका लागि भारत र अमेरिकाले मिलेर काम गरिरहेको बताए।
उनको भनाइ पूर्णतः आश्चर्यजनक रूपमा आएको थिएन।
तीन दशकभन्दा बढी समययता यी दुई मुलुकले अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त खोपको विकासका लागि काम गर्दै आएका छन्।
डेङ्गी, पेटसम्बन्धी रोग, इन्फ्लुएन्जा र क्षयरोग नियन्त्रणको दिशामा काम गरेका छन्। निकट भविष्यमा डेङ्गीको खोप परीक्षण गर्ने योजना छ।
भारत धेरै मात्रामा सामान्य खालका औषधि र खोप उत्पादन गर्ने विश्वका मुलुकहरूमा पर्छ।
भारत आधाजति ठूला र केही साना खोपहरूको उत्पादनकर्ता हो। उसले पोलियो, मेनिन्जाइटिस, निमोनिया, रोटाभाइरस, बीसीजी, दादुरा, हाडे र रुबेला लगायत रोगविरुद्ध खोपको 'डोज' बनाएको छ।
अहिले आधाभन्दा बढी भारतीय कम्पनीहरू कोभिड-१९ रोग निम्त्याएका भाइरसविरुद्ध खोपको विकासमा लागिपरेका छन्।
तीमध्ये सीरम इन्स्टिट्युट अफ इन्डिया एक हो जुन धेरै मात्रामा खोप बनाउने र विक्री गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

लगभग ५३ वर्ष पुरानो यो कम्पनीले प्रतिवर्ष खोपको डेढ अर्ब मात्रा बनाउँछ जुन मुख्यतः पश्चिमी शहर पुनेस्थित उसका दुईवटा केन्द्रमा बन्छ।
सीरम इन्स्टिट्युट अफ इन्डियाका दुई साना प्लान्ट द नेदरल्यान्ड्स र द चेक गणतन्त्रमा पनि छन्।
यो कम्पनीमा करिब सात हजार कर्मचारी कार्यरत छन्।
सीरम इन्स्टिट्युट अफ इन्डियाले विश्वका १६५ मुलुकलाई करिब २० प्रकारका खोपहरू विक्री गर्छ।

तस्बिर स्रोत, kaliprasad
असी प्रतिशतजति उसका खोपहरू निर्यात गरिन्छ। प्रतिमात्राको औसत ५० सेन्ट पर्छ जुन विश्वका सस्ता मूल्यमध्ये पर्छ।
अहिले यो कम्पनी अमेरिकी बायोटेक कम्पनी कोडाजेनिक्ससँग मिलेर कोरोनाभाइरसविरुद्ध खोप विकास गर्ने ८० भन्दा बढी प्रयासमध्ये एक प्रयास गरिरहेको छ।
यो कम्पनीको प्रयास भने भाइरसलाई जीवित रहन दिने तर त्यसको खराव गुणहरू हटाउने खालको खोप निर्माण गर्नेमा केन्द्रित छ।
सीरम इन्स्टिट्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पूनावालाले भने,"हामीले एप्रिल महिनामा जनावरहरूमा यो खोपको परीक्षण गर्ने योजना बनाइरहेका छौँ। सेप्टेम्बर महिनासम्म मानवमा हामीले परीक्षण गर्न सक्नेछौँ।"
पूनावालाको कम्पनीले अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको र ब्रिटिश सरकारले समर्थन गरेको खोप ठूलो मात्रामा बनाउन पनि सहकार्य गरिरहेको छ।
अक्सफोर्डले विकास गरिरहेको नयाँ खोपको आधार चिम्पान्जीबाट प्राप्त भाइरसको अनुवांशिक संरचनामा परिवर्तित रूप हुनेछ।
बिहीवार अक्सफोर्ड विश्वविद्यालयमा मानिसमा परीक्षण शुरू गरिएको छ।
यदि सबै कुरा राम्रो ढङ्गले अघि बढ्यो भने सेप्टेम्बरसम्ममा खोपको कम्तीमा दश लाख मात्रा बनाइसक्ने वैज्ञानिकहरूको विश्वास छ।
भारतमा थप कम्पनीहरु पनि छन्।
हैदरबादस्थित भारत बायोटेकले विश्वव्यापी वितरणका लागि विस्कन्सिन म्याडिसन र अमेरिकास्थित फ्लुगेन कम्पनीसँग मिलेर खोपको करिब ३० करोड मात्रा उत्पादन गर्नका निम्ति साझेदारी गर्ने घोषणा गरेको छ।
जाइडस क्याडिला नामक कम्पनीले दुईवटा खोपमाथि काम गरिरहेको छ भने इन्डियन इम्युनोलोजिकल्स र माइनभ्याक्सले एक/एकवटा खोपको विकासका लागि काम गरिरहेका छन्।
तर विज्ञहरूले मानिसहरूलाई तत्काल बजारमा खोप आउने अपेक्षा नगर्न चेतावनी दिइरहेका छन्।
लन्डनस्थित इम्पेरिअल कलेजस्थित स्वास्थ्यसम्बन्धी प्राध्यापक डेभिड नबारो भन्छन्, "मानिसहरू कोरोनाभाइरसको खतरासँग बाँच्नुपर्ने हुन्छ किनकि खोपको सफल विकास हुने कुरा सुनिश्चित छैन।"









