कोरोना भाइरस अपडेट: खोप कहिलेसम्म बन्छ?

तस्बिर स्रोत, Reuters
- Author, जेम्स ग्यालहर
- Role, स्वास्थ्य तथा विज्ञान संवाददाता
विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण फैलिरहेको छ, तर अझै पनि मानव शरीरलाई कोभिड-१९ रोगबाट बचाउने खोप तयार भइसकेको छैन। धेरै स्वास्थ्य अनुसन्धानकर्ताहरू खोप विकास गर्न लागिपरेका छन्।
किन कोरोनाभाइरसको खोप महत्त्वपूर्ण छ?
कोरोनाभाइरस एकदमै सहज रूपमा सर्छ र अहिले पनि विश्वको जनसङ्ख्याको अधिकांश हिस्सा सङ्क्रमणको जोखिममा छ।
खोपले उक्त भाइरससँग लड्ने मानव शरीरको क्षमतालाई बलियो बनाउने भएकाले उनीहरू बिरामी पर्दैनन्।
यसबाट लकडाउनको अवस्थालाई सुरक्षित रूपमा हटाउन सकिन्छ र सामाजिक दूरीसम्बन्धी सुझावहरूलाई खुकुलो बनाउन सकिन्छ।
अहिलेसम्म के प्रगति भएको छ?
अनुसन्धानको काम द्रुत गतिमा चलिरहेको छ।
विश्वभरि लगभग ८० वटा समूहले खोपबारे अनुसन्धान गरिरहेका छन् र कतिपय 'क्लिनिकल ट्रायल' चरणमा पुगिसकेका छन्।
- मानवमा खोपको पहिलो परीक्षणको घोषणा अघिल्लो महिना सीयाटलका वैज्ञानिकहरूले गरेका थिए। सुरक्षा र प्रभावकारिता जाँच्न जनावरमा गरिने परीक्षण नगरी अस्वाभाविक रूपमा उनीहरूले यो अनुसन्धान अघि बढाएका हुन्।
- खोप विकासका लागि ठूला फर्मास्युटिकल कम्पनीहरू सानोफी र जीएसकेले मिलेर काम गरिरहेका छन्।
- अस्ट्रेलियाका वैज्ञानिकहरूले बिरालो प्रजातिको फेरेटमा दुई सम्भावित खोपहरूको परीक्षण गरिरहेका छन्। यो जनावारहरूमा गरिएको पहिलो 'प्री क्लिनिकल ट्रायल' हो र अनुसन्धानकर्ताहरूले एप्रिल महिनाको अन्त्यमा मानवमा परीक्षण थाल्ने अपेक्षा गरेका छन्।
- अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सेप्टेम्बर महिनासम्म दश लाख खोप तयार पार्ने लक्ष्यसहित मानवमा परीक्षण गरिरहेका छन्।
तर यी खोप कतिको प्रभावकारी बन्न सक्छन् भन्न गाह्रो छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

कहिलेसम्म कोरोनाभाइरसको खोप तयार होला?
खोप तयार गर्न समान्यतया वर्षौँ मात्र होइन दशकौँसम्म लाग्छ।
अनुसन्धानकर्ताहरूले केही महिनाभित्र यो लक्ष्य पूरा गर्ने अपेक्षा गरिरहेका छन्।
अधिकांश विज्ञले सन् २०२१ को मध्यसम्म खोप तयार हुने ठानिरहेका छन्।
यो आधिकारिक रूपमा सार्स-सीओभी-२ भनिने नयाँ कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा पहिला देखिएको १२ देखि १८ महिनाको अवधि हो।
लक्ष्य पूरा भए त्यो ठूलो वैज्ञानिक उपलब्धि हुनेछ, तर सोचेअनुरूप हुनेछ भन्ने कुनै ग्यारेन्टी छैन।
मानव शरीरमा चार थरीका कोरोनाभाइरस अहिले नै देखापरेका छन्। तिनीहरूले रुघाखोकी लगाउँछन्, तर हामीसँग तिनीहरूमध्ये कसैको पनि खोप छैन।
अझै के गर्नुपर्नेछ?
एकभन्दा बढी समूहले सम्भावित खोपको ढाँचा पारेका छन्, तर उनीहरूले अझै धेरै काम गर्न बाँकी छ।
- परीक्षणले खोप सुरक्षित भएको देखाउनुपर्नेछ। रोगभन्दा बढी समस्या निम्त्याए यो उपयोगी हुनेछैन।
- क्लिनिकल ट्रायलले खोपले रोगप्रतिरोधी प्रतिक्रियालाई सक्रिय बनाउने र मानिसलाई बिरामी हुनबाट जोगाउने देखाउनुपर्ने हुन्छ।
- ठूलो परिमाणमा खोप उत्पादन हुने र अर्बौँको सङ्ख्यामा खोप तयार हुनुपर्ने देखिन्छ।
- स्वास्थ्य नियामक निकायहरूले पूर्वस्वीकृति दिएपछि मात्रै खोप आमप्रयोगमा आउनेछ।
- अन्त्यमा विश्वको जनसङ्ख्याको अधिकांश हिस्सालाई खोप उपलब्ध गराउन स्रोतसाधनको ठूलो चुनौती देखापर्नेछ।
लकडाउनका कारण खोप विकास गर्ने प्रक्रिया ढिलो हुन सक्छ।
यदि सङ्क्रमितको सङ्ख्या कम भयो भने खोपले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन लामो समय लाग्नेछ।
उपचार नभएकाले मानिसहरूलाई खोप दिएर पछि जनाजान सङ्क्रमण गराउने विधिबाट अनुसन्धान गर्नु खतरनाक हुनेछ।

तस्बिर स्रोत, Science Photo Library
कति मानिसहरूलाई खोप लगाउनुपर्छ?
खोप कतिको प्रभावकारी हुन्छ भन्ने थाहा नपाई यो प्रश्नको जवाफ पाउन गाह्रो छ।
सहजै भाइरस सर्ने अवस्था अन्त्य गर्न ६० देखि ७० प्रतिशत मानिसमा भाइरसप्रतिरोधी क्षमता हुनुपर्ने ठानिएको छ।
यदि खोपले राम्रोसँग काम गर्यो भने अर्बौँ मानिसका लागि खोप विकास गर्नुपर्ने हुन्छ।
खोप कसरी बनाउने?
खोपले प्रतिरोधी प्रणालीलाई कुनै क्षति नपुर्याई भाइरस वा ब्याक्टेरिया हाम्रो शरीरलाई देखाइदिन्छन।
शरीरको प्रतिरक्षा प्रणालीले त्यसपछि उनीहरूलाई आक्रमणकारीको रूपमा चिन्ने र त्योसँग कसरी लड्ने भन्ने थहा पाउने गर्छन्।
यदि साँच्चिकै सङ्क्रमण भयो भने के गर्ने उनीहरूलाई थहा हुन्छ।
मूल भाइरसको प्रयोग दशकौँदेखि खोपको प्रमुख विधि रहँदै आएको छ।
उदाहरणका लागि दादुराविरुद्धको एमएमआर भनिने मिजेल, मम्प्स र रुबेला खोप पूर्ण सङ्क्रमण गर्न नसक्ने कमजोर क्षमताका भाइरस प्रयोग गरी तयार पारिएको हो।
तर नयाँ कोरोनाभाइरसका लागि नयाँ र कम परीक्षण गरिएको विधि अपनाइँदैछ।
हामीलाई नयाँ कोरोनाभाइरस सार्स-सीओभी-२का आनुवंशिक चरित्रहरू थाहा भएकाले यसलाई कसरी निर्माण गर्ने भन्ने पूर्ण जानकारी उपलब्ध छ।
अक्सफोर्डका अनुसन्धानकर्ताहरूले ती आनुवंशिक चरित्रहरूको सानो हिस्सा चिम्पान्जीहरूलाई सङ्क्रमित गर्ने भाइरसमा हालेर परीक्षण गरिरहेका छन्।
उनीहरूले त्यसबाट कोरोनाभाइरससँग मिल्ने एउटा सुरक्षित खालको र प्रतिरोधी प्रतिक्रिया जन्माउने भाइरसको विकास गर्न सकिने अपेक्षा गरिरहेका छन्।
अन्य समूहहरूले अप्रशोधित जेनेटिक कोड (प्रक्रिया अनुसार डीएनए वा आरएनए) को प्रयोग गर्दैछन् जसले एक पटक मानव शरीरमा सुईमार्फत् पठाएपछि भाइरससँग सम्बन्धित प्रोटिनका अंशहरू उत्पादन गर्न थाल्नुपर्छ र शरीरको रोग प्रतिरोधात्मक प्रणालीले त्यससँग लड्ने अभ्यास गर्न सक्छ।
के खोपले सबै उमेर समूहका मानिसलाई जोगाउछ?
खोपले वृद्धवृद्धामा राम्रो काम नगर्ने भएकाले यो बढी उमेर भएका मानिसहरूका निम्ति अलिक कम सफल हुने पक्का पक्का छ।
बर्सेनि रुघाखोकीले निम्त्याउने श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणले पनि वृद्धवृद्धालाई बढी प्रभावित पार्ने देखिन्छ।
तर एकभन्दा बढी मात्रामा खोप दिएर वा खोपसँगै अरू कुनै औषधि दिएर रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउन भने सकिन्छ?
कसले खोप पाइएला?
यदि खोप विकास भयो भने कम्तीमा शुरूमा सीमित आपूर्ति हुनेछ।
त्यही भएर कसलाई खोप दिने भन्ने प्राथमिकता निर्धारण गर्नुपर्नेछ।
कोभिड-१९ का बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउने मानिसहरू सबैभन्दा उच्च प्राथमिकतामा हुनेछन्।
वृद्धवृद्धामा पनि कोरोनाभाइरसको उच्च जोखिम रहेकाले खोप प्रभावकारी भए त्यो उमेर समूह पनि प्राथामिकतामा पर्नेछन्।
तर वृद्धवृद्धासँग बस्ने वा उनीहरूको हेरचाहमा खटिनेहरूलाई खोप लगाउनु अझ उपयोगी हुन सक्छ।








