कोभिड नेपालः एकैदिन ५५ जनाको मृत्यु पुष्टि, थपिएका ७६ सय कोरोना भाइरस सङ्क्रमितमध्ये आधा काठमाण्डू उपत्यकामा

तस्बिर स्रोत, Science Photo Library
नेपालमा गत २४ घण्टामा थप ७,६६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।
मन्त्रालयका अनुसार सो अवधिमा थप ५५ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ।
यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो।
मङ्गलवार पुष्टि भएका सङ्क्रमितहरू १६,१३१ पीसीआर र ५७१ एन्टिजन परीक्षण गर्दा पहिचान भएका हुन्।

तस्बिर स्रोत, Reuters
सो अवधिमा १,७७५ जना निको भएको मन्त्रालयले जनाएको छ।
अहिलेको वृद्धिसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५९,७९८ पुगेको छ।
सरकारले सोमवार प्रकाशित गरेको विवरणअनुसार थप ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु भएको थियो।

अहिले काठमाण्डू जिल्लामा २,७७९ जना, ललितपुरमा ६०१ जना र भक्तपुरमा ५१३ जना गरी उपत्यकामा कुल ३,८९३ जनामा कोभिड पुष्टि भएको हो।
यो वृद्धि भएको सङ्क्रमितको कुल सङ्ख्याको आधाभन्दा बढी हो।
मन्त्रालयका अनुसार रूपन्देहीमा थप ३६९, कास्कीमा २४७, मोरङमा २४६, चितवनमा २२६, दाङमा २०१ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।
अहिले २० वटा जिल्ला प्रत्येकमा ५०० भन्दा बढी र अन्य १४ जिल्लामा २०० भन्दा बढी सङ्क्रमित उपचारार्थ भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरिका अस्पतमा भर्ना भएका कोभिड बिरामीमध?ये आईसीयूमा ६१६ र भेन्टिलेटरमा १७९ जना भएको मन्त्रायलको विवरणमा उल्लेख छ।
के छ भारतको स्थिति?
भारत अहिले कोरोनाभाइरस महामारीबाट नराम्री प्रभावित भएको छ। अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या दुई करोड नाघेको छ।
तर भारत सरकारले सङ्क्रमणको दर घट्न थालेको दाबी गरेको छ।
मङ्गलवार बिहान प्रकाशित तथ्याङ्कअनुसार ३,५५,००० नयाँ सङ्क्रमित थपिएका छन्। गत शुक्रवार सङ्क्रमितको दैनिक वृद्धि ४,००,०० भन्दा बढी थियो।
परीक्षणको सङ्ख्या घटेकाले औपचारिक अभिलेखको सङ्ख्याभन्दा सङ्क्रमितको वास्तविक सङ्ख्या उच्च भएको आशङ्का गरिएको छ।
दोस्रो लहरबाट अतिप्रभावितमध्येको महाराष्ट्र राज्यमा सङ्क्रमितको सङ्ख्या निरन्तर रूपमा घटेको देखिएको छ।
राजधानी दिल्लीसहित प्रभावित सहरहरूमा अक्सिजनको अभाव अझै विद्यमान छ।












