कोभिड भारत: कोरोना भाइरस सङ्क्रमणका कारण आईपीएल स्थगित

तस्बिर स्रोत, BCCI
क्रिकेट खेलाडीहरूमा कोभिड-१९ बढेपछि भारतमा भइरहेको इन्डियन प्रीमीअर लीग आईपीएल स्थगित गरिएको छ।
मङ्गलवार मुम्बई इन्डियन्सविरुद्धको खेलअघि सनराइजर्स हैदराबादका एक खेलाडीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
सोमवारको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल दुई खेलाडीमा सङ्क्रमण पुष्टि भएपछि खेलाइएको थिएन।
एक विज्ञप्तिमा आईपीएलले एउटा आपत्कालीन बैठकमा यो वर्षको प्रतियोगितालाई स्थगित गर्ने सर्वसम्मत निर्णय भएको बताएको छ।
"भारतीय क्रिकेट बोर्ड बीसीसीआई खेलाडी, कर्मचारी र अन्य सहभागीको सुरक्षामा कुनै पनि प्रकारको सम्झौता गर्न चाहँदैन," विज्ञप्तिमा भनिएको छ।
"यो निर्णय सबै जनाको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर लिइएको हो।"
"विशेषगरी भारतको यो कठिन परिस्थितिमा हामीले केही सकारात्मकता र खुसी ल्याउने प्रयास गरेका थियौँ तर अब प्रतियोगिता निलम्बन गरेर सबै जनालाई यो कठिन अवस्थामा आफ्नो परिवारसँग फिर्ता जानुको विकल्प रहेन।"
"आईपीएल २०२१ को सबै सहभागीलाई सुरक्षित मार्ग दिनका लागि बीसीसीआईले सकेको सहयोग गर्नेछ।"
बुधवारको चेन्नई सुपर किङ्ग र राजस्थान रोयल्सबीचको खेल पनि चेन्नईका खेलाडी लक्ष्मीपति बालाजी सङ्क्रमित भएपछि यसअघि नै नखेलाइने निर्णय गरिएको थियो।
विश्व क्रिकेटमा आईपीएल सबैभन्दा धनी क्रिकेट प्रतियोगिता हो जसमा आठ टोलीले २० ओभरमा क्रिकेट खेल्ने गर्छन्।
आईपीएलमा विश्वभरिका चर्चित खेलाडीहरूले विभिन्न टोलीबाट महँगो अनुबन्धमा खेल्ने गर्छन्।
गत सप्ताहान्तमा भारतमा महामारीयता सबैभन्दा धेरै मानिसको कोभिडसम्बन्धी कारणले मृत्यु भएको थियो।
भारतमा हालसम्म दुई करोड जना सङ्क्रमित भएका छन् भने दुई लाख २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
आईपीएलका खेलहरू भारतका छवटा सहर चेन्नई, बेङ्ग्लोर, दिल्ली, मुम्बई, कोलकाता र अहमदाबादमा भइरहेका थिए।
आईपीएलका लागि खेलाडीहरू निजी वा भाडामा लिइएका विमानमा आवतजावत गरिरहेका थिए।
खेलाडीहरू होटल र रिसोर्टमा सुरक्षित क्षेत्रमा बाहिरी सम्पर्कबिना बसेका थिए।
आईपीएलमा खेलहरू बिनादर्शक भएका थिए र फाइनल खेल मे ३० मा हुने योजना थियो।











