आईपीएल: भारतमा कोभिड महामारी चलिरहँदा यो क्रिकेट प्रतियोगिता सञ्चालन गर्दाका जोखिम

तस्बिर स्रोत, Getty Images
विश्व क्रिकेटको सबैभन्दा चर्चित र महँगो प्रतियोगिता कोभिड-१९ को घातक दोस्रो लहरसँग सङ्घर्ष गरिरहेको भारतमा आयोजना गर्ने तयारी भइरहेको छ।
शुक्रवारदेखि सुरु हुने इन्डीयन प्रीमीयर लीग आईपीएलमा आठ टोलीले छ मैदानमा बिनादर्शक ५२ खेल खेल्नेछन्। फाइनल खेल मे ३० मा हुनेछ।
खेलहरू कोभिड सङ्क्रमण र अस्पताल भर्ना सङ्ख्या धेरै बढिरहेका चेन्नई, बेङ्ग्लोर, दिल्ली, मुम्बई, कोलकाता र अहमदाबादमा हुनेछन्।
भारतमा अहिलेसम्म कोभिडका कारण १,६५,००० भन्दा बढीले ज्यान गुमाएका छन् भने एक करोड २५ लाख सङ्क्रमित भइसकेका छन्। एप्रिलमा भारतमा दैनिक सङ्क्रमण सङ्ख्या ९०,००० को औसतमा रहेको छ।
जनस्वास्थ्य सुरक्षा नियमहरूप्रतिको उपेक्षा भएकाले दोस्रो लहर देखा परेको बताइन्छ।
भारतीय क्रिकेट बोर्डका एक वरिष्ठ अधिकारीले आईपीएलको चौधौँ संस्करण बिनासमस्या आयोजन हुने विश्वास व्यक्त गरेका छन्।
बोर्डका उपाध्यक्ष राजीव शुक्लाले खेलाडी र अन्य प्रतियोगितासँग सम्बन्धित व्यक्तिहरूका लागि सुरक्षित व्यवस्था गरिएको र परीक्षण गरिएको बताएका छन्।
तर सबै जना त्यो कुराले ढुक्क छैनन्।
प्रतियोगिताअगावै चार खेलाडी र एक टोली सल्लाहकार सङ्क्रमित भएका छन्। बेङ्ग्लोरका देवदत्त पडिकाल, दिल्लीका अक्षर पटेल, कोलकाताका नीतीश राना एवं मुम्बईका सल्लाहकार किरण मोरे सङ्क्रमित भएका छन्।

तस्बिर स्रोत, AFP
बुधवार अस्ट्रेलियाका डानियल साम्स बेङ्ग्लोरका लागि खेल्न चेन्नई आइपुग्दा गरिएको परीक्षणमा सङ्क्रमित भेटिए।
दश खेल आयोजना हुने मुम्बईको वानखेडे रङ्गशालाका १० कर्मचारी सङ्क्रमित भएका छन्। भारतमा दोस्रो लहरको सङ्क्रमणमा सबैभन्दा खराब अवस्थामा देखिएको मुम्बईमा पाँच टोलीको बसाइ र अभ्यास छ।
द टाइम्स अफ इन्डिया दैनिक पत्रिकाले 'आईपीएलमाथि कोभिडको कालो बादल' शीर्षक लेख्दै सोधेको छ: 'दर्शक नहुने भए छ सहरमा किन खेल्नुपर्यो? गत वर्ष जस्तै यूएईमा किन प्रतियोगिता सारिएन?'
सबैभन्दा कडा प्रश्न भने यस्तो छ: के यो संस्करण अब टाइम बम हो?
टोलीहरू सुरक्षित स्थलमा बसेको र बाहिरका कोहीसँग पनि सम्पर्कमा नआउने बताइएको छ। एक समाचारका अनुसार बोर्डले प्रत्येक टोलीलाई सम्पर्कहीन बस्ने नियम पालना गराउन एक-एक जना व्यवस्थापक खटाउने भएको छ। ईएसपीएनक्रिकइन्फो वेबसाइटका अनुसार मुम्बईका कर्मचारीलाई प्रत्येक दुई दिनको फरकमा परीक्षण गरिएको छ।
धेरैले तैपनि सुरक्षित राख्न गाह्रो हुने बताइरहेका छन्।

तस्बिर स्रोत, Getty Images
आठ टोलीमा लगभग २०० खेलाडी छन् र सयौँ अन्य व्यवस्थापक, कर्मचारी, प्रत्यक्ष प्रसारण टोलीका सदस्य, मैदानका कर्मचारी, खाना व्यवस्था गर्ने व्यक्तिहरू छुट्टाछुट्टै एकान्तवासमा छन्। स्टार स्पोर्ट्स टीभी च्यानलका मात्रै ७०० सदस्य र १०० जना कमेन्टेटर विभिन्न आठ स्थानमा एकान्तवासमा भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
"अधिकारीहरूले ठूलो जोखिम लिएका छन्। एउटा मात्रै एकान्तवासमा समस्या भयो भने प्रतियोगिता नै अप्ठेरोमा पर्छ," नाम नबताउने सर्तमा एउटा टोलीका पूर्वअधिकारीले बताए।
भारतका पूर्वकप्तान र बोर्डका प्रमुख सौरभ गाङ्गुलीले गत वर्षको आईपीएलले एक पटक सबै प्रणालीमा आएपछि र एकान्तवासमा बस्दा सबै कुरा नियन्त्रित हुने बताएको समाचार प्रकाशित भएका छन्।
तर क्रिकेट खेलाडीहरू सुपरस्टार हुने भारतीय सहरहरूमा एकान्तवास र सुरक्षालाई पूर्ण पालना गराउनु मुस्किलको काम हुन सक्छ।
गत वर्ष यूएईमा प्रतियोगिता गर्दा भारतमा अहिलेको भन्दा कम सङ्क्रमण दर थियो, खेलहरू तीन स्थानमा मात्रै खेलिएका थिए र अहिलेको जस्तो हवाईयात्राको आवश्यकता थिएन।
अहिले आईपीएल रद्द गर्दा भारतीय क्रिकेट बोर्डलाई ठूलो घाटा पर्छ। गत वर्ष आईपीएल रद्द गरिएको भए सञ्चार अधिकारबाट हुने आम्दानीमा मात्रै ५० करोड डलर घाटा लाग्ने आकलन गरिएको थियो।

तस्बिर स्रोत, Getty Images
"यो प्रतियोगितामा धेरै पैसा भएको कुरा साँचो हो। आईपीएलले घरेलु क्रिकेटमा पनि ठूलो पैसा ल्याउँछ। तर व्यक्तिगत रूपमा मलाई लाग्छ आईपीएल नखेल्नु पर्थ्यो," विज्डन इन्डिया अल्मन्याकका सम्पादक सुरेश मेननले बीबीसीलाई बताए।
मेननका अनुसार सङ्क्रमण भएका प्रतियोगिता रद्द गर्ने अवस्था आउँछ। त्यसपछि अर्को आईपीएलसम्म भारतीय क्रिकेटको पात्रोमा खाली मिति छैन: यसबीच भारतले १४ टेस्ट, १२ एकदिवसीय खेल र २२ वटा टी२० खेल खेल्नेछ। यसमा भारतमा अक्टोबरमा आयोजना हुने टी२० विश्वकप समाविष्ट छैन।
"व्यवस्थित एकान्तवास, खेलाडीको अनुशासन र भाग्य मिलेको कारण महामारीको वर्ष २०२० मा भारतीय क्रिकेटमा कुनै नराम्रो घटना भएन। तर यस्तो अवस्थामा खेल्नु पर्दाको मानसिक दबावलाई अवमूल्यन गर्न मिल्दैन," मेननले भने।
"गत वर्ष हामी निकै भाग्यमानी भयौँ।"









