कोरोना भाइरस नेपाल: निषेधाज्ञाको अवधि थप गर्दा काठमाण्डू उपत्यकामा कुनकुन क्षेत्रमा कस्तो कडाइ

काठमाण्डू लकडाउन

तस्बिर स्रोत, RSS

काठमाण्डू उपत्यकाका तीन जिल्लामा एक साताका लागि लगाइएको निषेधाज्ञालाई अझ कडा बनाउँदै विस्तार गर्न लागिएको अधिकारीहरूले बताएका छन्।

थप गरिने कडाइका आदेशबारे काठमाण्डू, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भइरहेको र बुधवार साँझसम्म त्यसबारे औपचारिक घोषणा गरिने भनिएको छ।

कोरोनाभाइरसको महामारी बढ्दै गएपछि गत वैशाख १६ गते बिहान ६ बजेबाट वैशाख २२ गते मध्यरातसम्म लागु हुनेगरी उपत्यकामा निषेधाज्ञा लगाइएको थियो।

काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार केही क्षेत्रहरूलाई थप सीमित गर्दै आवतजावतलाई थप नियन्त्रण गर्ने गरी एकदेखि डेढ सातासम्म निषेधाज्ञालाई विस्तार गर्न लागिएको छ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञामा थप कडाइ गर्ने सरकारको योजना भएको सङ्केत दिएका थिए।

सङ्क्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने भन्दै उनले "एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाहअनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको" बताएका थिए।

कुनकुन क्षेत्रमा थप कडाइ गरिँदैछ?

प्रमुख जिल्ला अधिकारी पराजुली भन्छन्, "अत्यावश्यकबाहेक अरू कार्यालयका कर्मचारीहरूको आवतजावत रोक्ने, ब्याङ्क, वित्तीय संस्था र सहकारी संस्थाका कर्मचारीहरूको आवश्यकबाहेक आवतजावतलाई पनि नियन्त्रित गर्ने र बिहान बेलुका जुन दुईवटा समयमा बजारहरू खुलिरहेका थिए त्यसलाई पनि एक समय मात्रै खुला गर्ने भनेर हामीले छलफल गरिरहेका छौँ।"

लकडाउन

तस्बिर स्रोत, RSS

"अहिलेको व्यवस्था बुधवारसम्म लागु छ। तीनवटै जिल्लाले एकै खालको मापदण्ड बनाउनुपर्ने भएकाले हामी छलफल गरिरहेका छौँ। तर बिहीवारबाट हामी यी नयाँ कडाइका मापदण्डहरू लागु गर्छौँ।"

प्रहरीले जथाभाबी निस्केका मानिसहरूलाई जरिवाना गर्न थालिसकेको उल्लेख गर्दै उनले नयाँ व्यवस्था लागु भएपछि अनावश्यक हिँडडुलमा थप कडाइ गरिने बताए।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार काठमाण्डू उपत्यकामा आवतजावत रोक्ने हिसाबले आफूहरूले योजना बनाइरहेको बताए।

उनले भने, "हामीले उपलब्ध गराएका सवारी पासहरू २२ गतेबाट धेरै नियन्त्रण गर्दैछौँ। अहिलेसम्म व्यापार, रकम सङ्कलनका कुरा केही सहज गरिएको अवस्था छ।"

सङक्रमण

तस्बिर स्रोत, RSS

"तर अब हामी हरेक ब्याङ्कका शाखाहरूले दुईवटा मात्रै गाडी चलाउन पाउने व्यवस्था गर्दैछौँ। मन्त्रालय र विभागहरूले न्यूनतम कतिवटा गाडी चलाउने हो त्यसको लागि सुरुमै सूची दिनुपर्ने भन्ने हिसाबमा छलफल भइरहेको छ। हामी एउटा निष्कर्ष निकाल्छौँ।"

उनले आपूर्ति र विकास निर्माणसँग सम्बन्धित सवारी साधनहरू चल्ने तर अहिले बढी देखिएका सञ्चारमाध्यम, ब्याङ्क र सरकारी कर्मचारीका सवारी साधनको आवतजावत नियन्त्रण गरिने जनाए।

निषेधाज्ञाअघि र पछि सङ्क्रमणको अवस्था कस्तो छ?

वैशाख १६ गते निषेधाज्ञा लागु हुनुभन्दा एक दिनअघि स्वास्थ्य मन्त्रालयले काठमाण्डू उपत्यकाका तीनवटै जिल्लामा ५०० भन्दा बढी सङ्क्रमितहरू उपचारार्थ रहेको जनाएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस नेपाल: कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च

त्यस बेला २४ घण्टामा देखा परेका सङ्क्रमितको सङ्ख्या पाँच हजारमुनि थियो।

तीमध्ये काठमाण्डू उपत्यकामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या २,००० भन्दा बढी थियो।

निषेधाज्ञा लागु गरिएपछि पनि नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार झन्डै साढे सात हजार जनामा सङ्क्रमण पुष्टि भएको देखिन्छ।

तीमध्ये आधाजति राजधानीमा फेला परेका हुन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘निको भएपछि कोभिड बिरामीको सेवामै फर्किन्छु’

कारबाहीमा पर्नेको सङ्ख्या लगभग ११ हजार

गृह मन्त्रालयका अनुसार सोमवार साँझ ६ बजेसम्म देशका ३७ वटा जिल्लामा जिल्लाभरि लागु हुनेगरी कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधका आदेशहरू जारी गरिएका छन्।

अरू आठ जिल्लामा निश्चित क्षेत्रमा मात्रै लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार निषेध उल्लङ्घन गर्ने १०,८०० जनाभन्दा बढीलाई कुल ११ लाख रुपैयाँभन्दा बढी रकम जरिवाना गराइएको छ।

उनले नियमित निगरानी र गस्तीबाहेक स्वास्थ्य मापदण्डसम्बन्धी जनचेतना फैलाउन देशैभरि प्रहरी परिचालित भएको जानकारी बीबीसीलाई दिए।