कोभिड नेपाल: ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण, ५३ जनाको मृत्यु

कोभिड

तस्बिर स्रोत, Reuters

नेपालमा गत २४ घण्टामा थप थप ८,४१८ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।

हालैका दिनहरूमा सङ्क्रमण सङ्ख्या घटेको यो पहिलो पटक हो। शुक्रवार ९,१९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार सो अवधिमा थप ५३ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ। हालसम्म कुल ३,६३२ जनाको मृत्यु भइसकेको छ।

यो अवधिमा ३,३७० जना सङ्क्रमणमुक्त भएका छन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ। रूपन्देहीमा पनि ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।

सरकारको तथ्याङ्कअनुसार शनिवार अपराह्णसम्म देशभरि ८३,४९३ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्। तीमध्ये ५,४७५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।

अस्पतालमा रहेकामध्ये ७५८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन्।

कुल १८,३०४ जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

मन्त्रालयका अनुसार शनिवार काठमाण्डू जिल्लामा २,२७० जना, ललितपुर जिल्लामा ४६२ र भक्तपुरमा ३८१ जनामा कोभिड पुष्टि भएको हो।

त्यसैगरी झापामा २७६, मोरङमा २५४, कास्कीमा २८५, दाङमा ३६६, बाँकेमा ५५५, रूपन्देहीमा ८६१ र सुर्खेतमा ५९७ जनामा पनि सङ्क्रमण पुष्टि भयो।

२७ सांसद सङ्क्रमित

गत बुधवार र बिहीवार सांसदहरूसहित १,२३५ जनाको संसद् भवन नयाँ बानेश्वरमा गरिएको परीक्षणमा १६० जनामा सङ्क्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार २०५ जना सांसदको परीक्षण गरिएकोमा प्रतिनिधिसभाका १८ र राष्ट्रिय सभाका एक जना गरी १९ जना सांसदमा सङ्क्रमण पुष्टि भएको हो। 

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

दुई मन्त्रीसहित आठ सांसद यसअघि नै सङ्क्रमण पुष्टि भई आइसोलेशनमा रहेका छन्।

बाँकी १,०३० जना सङ्घीय संसद् सचिवालयका कर्मचारी, मर्यादा पालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र संसद् भवनका कर्मचारीको परीक्षण गरिएको थियो।

२२ जिल्लामा ५०० भन्दा बढी

हाल २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। वाग्मती प्रदेशका आठ, लुम्बिनी प्रदेशमा छ, प्रदेश नं १ का तीन र अन्य चार प्रदेशका एक-एक जिल्लामा अहिले उच्च सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेका हुन्।

थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

शुक्रवार पुष्टि भएको सङ्क्रमितहरूमध्ये १९५ जना १० वर्षभन्दा मुनिका, ५६१ जना १० देखि १९ वर्षका र ३,९४५ जना २० देखि ३९ वर्षका छन्।

त्यस्तै ४० देखि ४९ वर्षका १,५४०, ५० देखि ५९ वर्षका १,११८ र ७० वर्षभन्दा माथिका ३१२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

कोभिड

तस्बिर स्रोत, EPA

काठमाण्डूमा धेरै सक्रिय सङ्क्रमित

मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा तीन जिल्लामा कुल ३५,६७८ जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

  • काठमाण्डूः २६,४२६
  • भक्तपुरः ३,५४०
  • ललितपुरः ५,७१२

उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सङ्ख्याको ४२.७ प्रतिशत हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'छोटो समयमा धेरै शव व्यवस्थापन निकै चुनौतीपूर्ण': नेपाली सेना

राजधानी उपत्यकामा अहिलेसम्म १,२२३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ।

  • काठमाण्डूः ८२०
  • भक्तपुरः १७२
  • ललितपुरः २३१

यो देशभरि कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्याको एकतिहाइ हो।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७
  • एम्बुलेन्स सेवाको लागि १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।