कोभिड: दक्षिण एशियामा बढिरहेको कोरोनाभानइरस सङ्क्रमणले चिन्ता

काठमाण्डू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नेपालको अवस्थाको बारेमा गम्भीर चिन्ता बढिरहेको छ
    • Author, रियालिटी चेक टोली
    • Role, बीबीसी न्यूज

कोरोनाभाइरसको लहरसँग भारत जुझिरहेका बेला बढ्दो सङ्क्रमणबारे भारतका छिमेकी राष्ट्रहरूमा समेत चिन्ता व्यक्त भइरहेको छ।

कमजोर स्वास्थ्य सेवाका कारण परिस्थितिसँग जुझ्न गाह्रो हुनेहुँदा यात्रा र अन्य प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ।

सङ्क्रमण सङ्ख्या के छ?

भारतमा गत मार्च महिनाबाट दैनिक रूपमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सुरु भएको थियो र त्यो पछि नाटकीय रूपमा झन् बढ्दै गयो।

भारतका छिमेकी राष्ट्रहरूमा पनि सङ्ख्या बढिरहेको छ।

विशेष रूपमा नेपालबारे चिन्ता बढी देखिन्छ जहाँ गत एप्रिल महिनादेखि सङ्क्रमित हुनेहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।

नेपालको सरकारी तथ्याङ्क उद्धृत गर्दै रेडक्रसले परीक्षण गरिएकामध्ये ४० प्रतिशतभन्दा बढीमा कोभिड पोजेटिभ पाइएको जनाएको छ।

भारत र नेपालबीच १,८८० किलोमिटर लामो खुला सीमा छ र कैयौँ मानिसहरू व्यापार, पर्यटन र पारिवारिक कारण आवतजावत गर्ने गर्छन्।

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भारतबाट फर्किए लगत्तै कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरणहरू सार्वजनिक भएका छन्।

तर उनी भाइरसबाट कहाँ सङ्क्रमित भएका थिए भन्ने विषय भने स्पष्ट छैन।

परीक्षण

तस्बिर स्रोत, Getty Images

गत मार्चमा नेपालका सरकारी निकायहरूले सीमामा स्वास्थ्य जाँच बढाएका थिए र मे १ तारिखबाट भारतसँगको २० वटाभन्दा बढी सीमाबाट आवतजावत गर्नमा रोक लगाइएको छ।

एप्रिल २९ तारिखबाट काठमाण्डू उपत्यकामा प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ।

बाङ्ग्लादेशमा मार्च महिनाको सुरुबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको थियो । त्यहाँ एप्रिल ५ बाट राष्ट्रव्यापी लकडाउन लागु गरियो।

लकडाउन मे १६ तारिखसम्मका लागि लागु गरिएको छ।

जमिनबाट जोडिएको भारतसँगको सीमा यात्रुहरूका लागि एप्रिल २६ देखि दुई हप्ताका लागि बन्द गरिएको छ। तर केही मानिसहरूलाई भने सीमा पार गर्न दिइएको छ।

त्यसयता बाङ्ग्लादेशमा दैनिक रूपमा थपिने सङ्क्रमितहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

पाकिस्तानमा पनि सङ्क्रमितहरूको सङ्ख्या र मृत्यु हुनेहरूको सङ्ख्या तीव्र गतिमा बढेको छ जसले त्यहाँको स्वास्थ्य सेवामा प्रभाव पार्ने सक्ने चिन्ता बढाएको छ।

त्यहाँ देशव्यापी लकडाउन गरिएको छैन तर प्रादेशिक निकायहरूले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'छोटो समयमा धेरै शव व्यवस्थापन निकै चुनौतीपूर्ण': नेपाली सेना

सर्वसाधारणहरूलाई मास्क लगाउन भनिएको छ र कतिपय स्थानमा सेनाले पनि सहयोग गरिरहेको छ।

भारत, अफगानिस्तान र इरान आवतजावत गर्ने कार्यमा रोक लगाइएको छ।

श्रीलङ्कामा पनि एप्रिल महिनाको बीचबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढिरहेको छ।

त्यहाँ केही स्थानमा विद्यालयहरू बन्द गरिएको छ। त्यस्तै धार्मिक कार्यका लागि भेला हुन र भारत यात्रा गर्नमा रोक लगाइएको छ।

बाङ्ग्लादेशमा प्रतिबन्ध लाग्नुअघिको भिड

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा प्रतिबन्ध लाग्नुअघिको भिड

सङ्क्रमित सङ्ख्या कति बढिरहेको छ?

छिमेकी राष्ट्रहरूमा कोभिड फैलिनुमा भारतीय भेरिअन्ट आंशिक रूपमा कारक हुनसक्ने चिन्ता व्यक्त गरिएको छ।

विज्ञहरूले यो भेरिअन्टमध्ये कुनै एक झन् सङ्क्रामक हुनसक्छ कि भनेर हेरिरहेका छन्।

तर नयाँ सङ्क्रमण यूके भेरिअन्टको कारण पनि हुनसक्छ।

दुई महिनाअघि नेपालले हङ्कङस्थित विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको प्रयोगशालामा १५ वटा नमुना पठाएको थियो।

त्यसमध्ये नौवटा नमुनामा यूके भेरिअन्ट पाइएको थियो भने एउटामा भारतीय भेरिअन्ट भेटिएको थियो।

र पाकिस्तानमा एप्रिल महिनामा गरिएको अध्ययनमा पनि अधिकांश नमुनामा यूके भेरिअन्ट पाइएको थियो।

सिन्ध प्रान्तका निकायहरूले त्यहाँ दक्षिण अफ्रिकी र ब्रजिलियन भेरिअन्ट समेत पाइएको बताएका छन्।

दक्षिण अफ्रिकी भेरिअन्ट बङ्गलादेशमा पनि फेला परेको छ।

तर दक्षिण एशियामा जीन सिक्वेन्सिङ निकै कम मात्रामा गरिएको छ जसकारण यी नयाँ भेरिअन्टले नै सङ्क्रमण बढाइरहेको हुन सक्ने वा नसक्नेबारे पर्याप्त तथ्याङ्क छैन।

कोभिड फैलिएको विषयबारे पनि तथ्याङ्क कम नै छ। सीमित परीक्षण र तुलनात्मक रूपमा पोजेटिभ हुनेहरूको अधिक सङ्ख्याको अर्थ सङ्क्रमणको वास्तविक अवस्था मापन हुन सकेको छैन।

प्रतिसङ्क्रमण परीक्षण दर. मे ३ सम्मको साप्ताहिक औसत. नेपालको मे २ सम्मको तथ्याङ्क.

राजनीतिक नेतृत्वबाट मिश्रित किसिमका सन्देश प्राप्त हुँदा सर्वसाधारणहरूले कोभिडविरुद्ध सुरक्षा मापदण्ड पालना गर्ने विषयमा कम चनाखो भएको चिकित्सक र स्वास्थ्य विज्ञहरूले बताइरहेका छन्।

पाकिस्तानमा सामाजिक दूरी लगायतका अन्य स्वास्थ्य मापदण्ड पालना गराउने विषयमा सेना नै परिचालन गरिएको र त्यो आफूहरूका लागि एक राहत रहेको सङ्क्रमितहरूको बढ्दो सङ्ख्यासँग जुझिरहेका चिकित्सकहरू बताउँछन्।

खोप कार्यक्रम के छ?

दक्षिण एशियामा खोप कार्यक्रमको सुस्त गति ठूलो चिन्ताको विषय बनेको छ।

गत ज्यानुअरीबाट कोभिडविरुद्ध खोप अभियान सुरु भए पनि तर खास प्रभाव पार्ने गरी खोपको वितरण हुन सकेको छैन।

नेपालले प्रत्येक १०० जनामा ७.२ मात्रा खोप दिएको छ भने बाङ्ग्लादेशले ५.४, श्रीलङ्काले ४.८, पाकिस्तानले एक र अफगानिस्तानले ०.६ मात्रा खोप दिएको पछिल्लो तथ्याङ्कले देखाउँछ।

यूकेमा प्रत्येक १०० जनामा ७६, अमेरिकामा ७५, युरोपेली सङ्घमा झन्डै ३७ र चीनमा २० भन्दा बढी खोपका मात्रा दिइएको छ।

खोप

तस्बिर स्रोत, AFP

भारतले सिरम इन्स्टिच्युटले उत्पादन गरेको र भारत बायोटेकले विकास गरेका खोपका केही मात्रा छिमेकी राष्ट्रहरूमा दिएको थियो।

तर आन्तरिक बजारमा माग बढेपछि उसले खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ।

र कोभ्याक्स कार्यक्रममा पनि खोपको उपलब्धताबारे समस्या देखिएको छ जसले गर्दा निर्यातमा ढिलाइ भइरहेको छ।

चीनको सिनोफार्मले विकास गरेको खोप प्राप्त नगरुन्जेल एक समयमा नेपाल र श्रीलङ्कामा खोप कार्यक्रम नै स्थगित गर्नुपरेको थियो।

पाकिस्तानले पनि आफ्नो खोप कार्यक्रम विस्तार गर्न चिनियाँ र रुसी खोप प्रयोगमा ल्याएको थियो।