कोभिड भारत: कोरोनाभाइरसको महामारी अब ओरालो लाग्न लागेको हो?

तस्बिर स्रोत, Getty Images
- Author, श्रुति मेनन
- Role, बीबीसी रिआलिटि चेक
भारत कोरोनाभाइरस महामारीको दोस्रो ठूलो लहरको चपेटामा छ तर त्यहाँको सरकार अब केही क्षेत्रमा भाइरसको सङ्क्रमण दर केही सुस्त हुन थालेको सङ्केत देखिएको भन्दै छ।
सङ्क्रमण दरमा के हुँदैछ?
मार्च महिनाको मध्यबाट सुरु भएको भारतमा सङ्क्रमणको उच्च दर तीव्र गतिमा बढेर गयो।
एप्रिल ३० तारिख शुक्रवार यो दैनिक चार लाख सङ्क्रमणको उच्च विन्दुमा पुग्यो।
त्यसपछिका दिनहरूमा यो दर केही कम भएको देखिँदा मे ३ तारिख सोमबार तीन लाख साठी हजार रह्यो।
यसैलाई विचार गरेर सङ्क्रमण दरले उच्च विन्दु हासिल गरेको हुन सक्ने आकलन गरिएको छ।
तर विगत केही दिन यता दैनिक सङ्क्रमण दर फेरि बढ्न थालेको देखिएको छ।
जुन सामान्यतया सोमबारको दिन सङ्क्रमण दरको तथ्याङ्क घट्ने प्रवृत्ति देखिएको साप्ताहिक उतारचढावको चरित्रसँग मिल्छ।
५ मे बुधवार दैनिक सङ्क्रमणको सङ्ख्या नयाँ सर्वाधिक उच्च विन्दुमा पुग्यो, चार लाख १२ हजार।
दैनिक उतारचढाव बाहेक साप्ताहिक औसत वृद्धिदर पनि उकालो लागेको देखिन्छ।
परीक्षणको स्तरलाई कायमै राखिएको छ की छैन?
व्यापक मात्रामा परीक्षण गरिएको खण्डमा मात्रै भाइरसको विस्तारको सही अनुमान गर्न सकिन्छ।
भारतमा दैनिक झन्डै बीस लाख परीक्षण हुँदै आएको छ।
यो महिनाको आरम्भतिर यो सङ्ख्या घटेर १५ लाख भएको थियो।
तर ५ मे बुधवार को दिन फेरि दैनिक परीक्षणको सङ्ख्या २० लाखको हाराहारीमा पुर्याइएको थियो।
परीक्षणमा देखिएको यो अस्थायी कमीले मे महिनाको प्रारम्भिक दिनमा दैनिक सङ्क्रमणको सङ्ख्या घट्न पुगेको अवस्थालाई व्याख्या गर्न सघाउ पुर्याउँछ।
परीक्षणको तरिका देशका विभिन्न भाग अनुसार फरक फरक छ, केही स्थानमा यो उल्लेख्य रूपमा नै घटेको छ।
विश्व स्वास्थ्य सङ्गठनका परामर्शदाता र अर्थशास्त्री रिजो जन भन्छन् "यस्तो पहिलेको उच्च सङ्क्रमणको लहरका बेला सेप्टेम्बर महिनामा पनि देखिएको थियो। त्यस बेला दैनिक एक लाख सङ्क्रमित फेला पर्न लागेका बेला परीक्षण दर घटेको थियो।"
अधिकारीहरूले केही राज्यहरू- महाराष्ट्र,गुजरात र तेलंगाना र राजधानी दिल्लीमा- सङ्क्रमणको स्तर घटेको बताइरहँदा ती स्थानहरूमा परीक्षणको दर पनि घटेको देखिएको थियो।
एप्रिलको मध्यमा दिल्लीमा दैनिक एक लाख परीक्षण भइरहँदा दैनिक फेला परेका अभिलेखकृत सङ्क्रमित सङ्ख्या करिब १६ हजार थियो।
तर एप्रिल महिनाको अन्त्यमा सङ्क्रमितको सङ्ख्यामा ५५% भन्दा बढीले वृद्धि देखिँदा परीक्षण दरमा २०% कमी देखिएको थियो।
गुजरात र तेलंगानामा पनि यस्तै प्रवृत्ति देखिएको थियो।

तस्बिर स्रोत, Getty Images
भारतमा देशभर भइरहेको परीक्षण दर प्रति एक हजार मानिसमा १.३ रहेको छ। जुन दर अमेरिकामा तीन र यूकेमा १५ छ।
कोरोनाभाइरस सङ्क्रमण परीक्षण गर्ने क्षमतामाथि पनि चर्को दबाब परेको छ। परीक्षण केन्द्रहरूमा चाप एकदमै बढ्दा मानिसहरूले सहजै परीक्षण गराउन पाएका छैनन्, डा जन भन्छन्।
परीक्षणका कति अनुपात पोजिटभ छन्?
जन्स हप्किन्स विश्वविद्यालयका अनुसार पोजेटिभ टेस्टको उच्च प्रतिशतले समाजमा पहिचान हुन बाँकी मानिसहरूको सङ्ख्या अझै धेरै रहेको हुन सक्ने तर्फ सङ्केत गर्दछन्।
र गत वर्ष डब्ल्यू एच ओ ले दिएको सुझाव अनुसार कोरोनाभाइरस सम्बन्धी कडा प्रतिबन्धहरू खुकुलो पार्नु अघि देशहरूले पोजेटिभ परीक्षणको दर पाँच प्रतिशत भन्दा मुनिमा झरेपछि कम्तीमा दुई हप्ता पर्खनु पर्दछ।
दिल्ली नजिकैको अशोका विश्वविद्यालयका प्राध्यापक तथा गणितीय मोडेल विज्ञ गौतम मेनन भन्छन्, " पोजेटिभ टेस्ट हुने दर अझै उच्च छ, देशव्यापी रूपमा झन्डै २० प्रतिशत। त्यसैले भारतमा दोस्रो लहर अब सकिन लाग्यो भनी सोच्न सकिन्छ भनेर म विश्वास गर्दिनँ।"






















