कोभिड नेपाल: किन कोरोना भाइरसका धेरै सङ्क्रमितलाई अक्सिजन चाहिएको छ

तस्बिर स्रोत, Reuters
कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि अक्सिजनको आवश्यकता व्यापक रूपमा बढेको चिकित्सकले बताएका छन्।
कोभिड-१९ का बिरामीहरूको सङ्ख्या बढेसँगै उनीहरूलाई आवश्यक पर्ने मेडिकल अक्सिजनको अभाव हुन नदिनका लागि उत्पादन बढाउन सरकारले उत्पादनकर्ताहरूलाई निर्देशन समेत दिएको छ।
त्यसबाहेक सरकारले लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
तर निरन्तर बिरामीहरूको चाप बढ्नु र अस्पताल तथा उत्पादकहरूसँग सीमित स्रोत हुनुका कारण अक्सिजनको अभाव देखिएको चिकित्सकहरू बताउँछन्।
कोरोनाभाइरस सङ्क्रमितमध्ये श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई अक्सिजन चाहिने चिकित्सकहरूले जनाएका छन्।
गत वर्ष कोरोनाभाइरस सङ्क्रमणको पहिलो लहरका बेलाको समयसँग तुलना गर्दा हाल अक्सिजनको आवश्यकता व्यापक रूपमा बढेको उनीहरूको भनाइ छ।
किन धेरै सङ्क्रमितलाई अक्सिजन आवश्यक ?
चिकित्सकहरूका अनुसार नेपालमा पनि भारतमा जस्तै अक्सिजन चाहिने कोभिडका बिरामीहरूको सङ्ख्या बढ्नुको मुख्य कारण सङ्क्रमितहरूको कुल सङ्ख्यामा देखिएको वृद्धि हो।
पछिल्ला केही दिनदेखि दिनहुँजसो कोभिड बिरामीहरूको सङ्ख्या सर्वाधिक देखिएको छ।
स्वास्थ्य मन्त्रालयले शनिवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा नेपालमा थप ८,४१४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
त्यस्तै देशभरि ८३,४९३ जना पुष्टि भएका सक्रिय सङ्क्रमिततीमध्ये ५,४७५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।
अस्पतालमा रहेकामध्ये ७५८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन्।

तस्बिर स्रोत, Reuters
मन्त्रालयका अनुसार सो अवधिमा थप ५० जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ।
धेरै माग हुनुका साथै युवाहरूलाई समेत अक्सिजनको आवश्यकता पर्दा अभाव देखिएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनको अनुमान छ।
''पहिलाभन्दा अलिक बढी मानिसहरूलाई भर्ना गराउने क्षमता (भाइरसले) विकास गरेको छ। त्यसले गर्दा धेरैलाई अक्सिजन चाहियो," डा. पुन बताउँछन्।
पुनका अनुसार नेपालमा सङ्क्रमण अझै उकालो लाग्ने क्रममै छ। छोटो समयमा धेरैलाई अस्पतालसम्म पुर्याएकाले थप उपायहरू नअपनाए झन् गम्भीर अवस्था सृजना हुन सक्ने उनले सङ्केत गरे।
लगभग सबै 'परिवारमा सङ्क्रमण पुगिसकेको' अनुमान गर्दै उनले करिब दुईदेखि चार हप्ता नेपालका लागि निकै महत्त्वपूर्ण हुने बताए।
'कमजोर तयारीको नतिजा'
कतिपयले कोभिडका विभिन्न नयाँ भेरिअन्ट नेपालमा फैलिएको र त्यो तुलनात्मक रूपमा शक्तिशाली भएकाले अक्सिजनको आवश्यकता पर्ने बिरामीको सङ्ख्या बढिरहेको हुन सक्ने अनुमान गर्ने गरेका छन्।
तर सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी नेपालमा कुन भेरिअन्ट कति मात्रामा फैलिएको छ भन्ने कुरा थाहा नभएको अवस्थामा यसलाई सामान्य रूपमा बुझ्न नमिल्ने बताउँछन्।
सरकारले दुई महिनाअघि हङ्कङस्थित विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको प्रयोगशालामा १५ वटा नमुना पठाएको थियो। त्यसमध्ये नौवटा नमुनामा यूके भेरिअन्ट पाइएको थियो भने एउटामा भारतीय भेरिअन्ट भेटिएको थियो।

तस्बिर स्रोत, EPA
"केही हप्ताअघि सम्मको सरकारले गरेको थोरै परीक्षणका आधारमा बेलायती भेरिअन्ट नै बढी फैलिएको अनुमान गरेका थियौँ। अनि बेलायती भेरिअन्टको हकमा सिकिस्त हुनेको प्रतिशत आईसीयू, भेन्टिलेटर, अक्सिजन चाहिनेको प्रतिशत पुरानो भेरिअन्टभन्दा खासै बढी थिएन," उनले भने।
''बेलायती भेरिअन्ट बढी सङ्क्रमणशील भएको भएर एकैपटक धेरै मानिस सङ्क्रमित हुने र धेरै मानिस सङ्क्रमित हुँदा अनुपात फरक नभए पनि समग्रमा बढी मान्छे सिकिस्त हुन्छन् र त्यस्तो हुँदा अक्सिजन चाहिने मान्छेको सङ्ख्या बढ्छ।''
भेरिअन्टले सिकिस्त?
नेपालमा भारतीय भेरिअन्ट पनि पुष्टि भएको भए पनि त्यो कति मात्रामा फैलिएको छ भन्ने कुराको यकिन गर्न सकिने अवस्था भने नरहेको चिकित्सकहरू बताउँछन्।
अस्पतालहरूमा आफूहरूले पछिल्लो समय देखेका केसहरूमा सिकिस्त हुनेहरूको प्रतिशत बढी वा उपचार गर्न थालेपछि अवस्था सुधार भएर फेरि खराब हुने र झन् धेरै अक्सिजन चाहिने अनुपात झन् धेरै बढेको देखेको सुवेदी बताउँछन्।
''तर हाम्रा व्यक्तिगत अनुभवलाई जेनरलाइज (सामान्यीकरण) गर्न त मिल्दैन। समग्रमा एकैपटक धेरै मानिसहरू सङ्क्रमित भएकैले अक्सिजनको माग बढेको हो।"
''हाम्रो क्षमता सीमित छ। पुरानै अवस्थाका लागि पनि हामी तयार थिएनौँ। अनि यी दुवै भेरिअन्ट बढी सङ्क्रमणशील भएकाले एकैपटक असाध्यै धेरै मानिसहरूमा सङ्क्रमण हुने भयो," उनले भने।
"ती बढी हुनेबित्तिकै अस्पताल चाहिने, अक्सिजन चाहिने, भेन्टिलेटर चाहिने, आईसीयू चाहिनेको सङ्ख्या एकदमै बढी हुने भयो। हाम्रो तयारी चाहिँ झन् अपुग देखियो।"
निमोनिया हुनेको सङ्ख्या बढेको हो?
सुवेदीका अनुसार यो निकै धेरै मानिसहरू झुक्किएको विषय निमोनिया हो। उनका अनुसार कोरोनाभाइरसको सङ्क्रमण र निमोनिया फरक कुरा होइन।
डा. सुवेदी भन्छन्, "निमोनिया भनेको फोक्सोको सङ्क्रमण हो। त्यो चाहिँ भाइरसबाट पनि हुन सक्छ।"
"पहिलेपहिले सामान्यता हामीले भाइरसबाट हुनेभन्दा पनि ब्याक्टेरियाबाट हुने फोक्सोको सङ्क्रमणलाई निमोनिया भन्थ्यौँ। तर एक्सरेमा जे देखिन्छ त्यसले भाइरस हो कि जीवाणु थाहा हुँदैन।"
"अहिले कोरोनाभाइरस महामारीका बेला सामान्यतया कोरोनाभाइरसको निमोनिया हुन्छ," सुवेदीले भने।

तस्बिर स्रोत, EPA
चिकित्सकका अनुसार अस्पताल जानु नपर्ने सङ्क्रमितमा पनि निमोनिया हुन सक्छ।
"कसैलाई पाँच-सात दिन ज्वरो वा खोकी छ भने निमोनिया देखिन्छ। तर त्यो नयाँ रोग होइन। त्यो कोरोनाभाइरस सङ्क्रमणको एउटा पाटो हो," सुवेदीले भने।
"यसका लागि छुट्टै औषधि दिनुपर्दैन। एन्टीबायोटिकले त्यो ठिक हुँदैन। त्यसको लागि मात्रै बिरामीलाई अस्पताल भर्ना गर्नुपर्दैन।"
निमोनिया पनि भएका र अक्सिजन पनि कम भएकाहरूलाई मात्रै अस्पताल भर्ना गरेर निश्चित उपचार गर्नुपर्ने उनी बताउँछन्।











