कोभिड भारत: भारतीय तीर्थस्थल कसरी कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु बन्यो

हरिद्वारस्थित कुम्भमेलामा नागा साधुहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, गंगामा नुहाउँदा त्यसले आफ्ना पापहरू पखालिने विश्वास हिन्दुहरू गर्छन्
    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज, दिल्ली

गत महिना कोरोनाभाइरसको दोस्रो लहरसँग भारत जुधिरहेको थियो।

त्यही बेला हरिद्वारमा लाखौँ हिन्दुहरू कुम्भमेलाका लागि भेला हुँदा धेरैले यो मेला कोरोनाभाइरस सङ्क्रमणको केन्द्र हुनेमा आशङ्का व्यक्त गरेका थिए।

जसले आशङ्का गरेका थिए अहिले हेर्दा ती सही देखिएका छन्।

किनभने कुम्भमेलामा फर्किनेहरूमा कोरोनाभाइरस देखिएको भन्ने खबरहरू देशका विभिन्न भागबाट आएका छन्।

मार्च १५ तारिखमा महन्त शङ्कर दास मेलामा भाग लिन हरिद्वार पुग्दा नै भारतका विभिन्न भागमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालिसकेको थियो।

मेला आधिकारिक रूपमा सुरु भएको चार दिनपछि एप्रिल ४ तारिखमा ८० वर्षीय दासमा कोरोनाभाइरस देखियो र उनलाई एउटा शिविरमा क्वारन्टीनमा बस्न सुझाइयो।

तर अलग्गै बस्नुको सट्टा उनले झोला बाँधे र १,००० किलोमिटर टाढा पर्ने वाराणसीको यात्राका लागि रेलमा चढे।

त्यहाँ उनको छोरा नगेन्द्र पाठकसँग उनको भेट भयो र उनीहरू २० किलोमिटर टाढा पर्ने मिर्जापुर जिल्लामा रहेको आफ्नो गाउँमा एउटै ट्याक्सीमा गए।

हरिद्वारमा गएको एप्रिलमा कुम्भमेलाका लागि ९० लाख भन्दा बढी मानिसहरूले भाग लिएका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हरिद्वारमा गएको एप्रिलमा कुम्भमेलाका लागि ९० लाख भन्दा बढी मानिसहरूले भाग लिएका थिए

आफ्नो घरबाट मसँग फोनमा कुरा गर्दै महन्त दासले हालसालै आफू "अहिले स्वस्थ एकदमै राम्रो" रहेको बताए र फर्किएपछि घरमै क्वारन्टीमा बसेको बताए।

उनले आफूले भाइरस कसैलाई नसारेकोमा आश्वस्त पार्न खोजे तर केही दिनमै उनका छोरा र अन्य केही गाउँलेमा कोभिडको लक्षणहरू देखिन थाल्यो।

अहिले पूर्ण रूपमा ठिक भइसकेका पाठकले उनको गाउँमा 'विगत १५ दिनमा ज्वरो र खोकीका कारण १३ जनाको मृत्यु भएको' बताए।

गाउँमा देखिएको सङ्क्रमण महन्त दासका कारण भएको वा नभएको दुवै हुनसक्छ।

तर स्वास्थ्य विज्ञहरूले उनको व्यवहार गैरजिम्मेवारपूर्ण भएको बताएका छन्।

भिडभाडयुक्त रेलमा यात्रा गर्दा र एउटै ट्याक्सीमा चढ्दा उनले गाउँ फर्किँदासम्म कोरोनाभाइरस धेरै फैलाएको हुनसक्ने विज्ञहरू बताउँछन्।

सरुवा रोग विशेषज्ञ डा. ललित कान्तका अनुसार 'बिनामास्क भक्तजनहरूको ठूलो समूहहरू नदीको किनारमा गङ्गाको महिमा गाउँदै बस्दा' त्यसले भाइरस फैलाउने एउटा वातावरण बनाइदियो।

"गिर्जाघर र मन्दिरमा सामूहिक रूपमा गाउँदा त्यसले छिटो भाइरस फैलिन्छ भन्ने हामीलाई थाहा भइसक्यो," उनले भने।

गुजरात

तस्बिर स्रोत, Reuters

अधिकारीहरूका अनुसार हरिद्वारमा धार्मिक नेतासहित २,६४२ भक्तहरूमा कोरोनाभाइरस देखिएको थियो।

छिमेकी उत्तर प्रदेश राज्यका पूर्वमुख्यमन्त्री अखिलेश यादव र नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहमा पनि घर फर्किएपछि कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

बलिवुडका सङ्गीतकार श्रवणको कुम्भमेलाबाट फर्किएलगत्तै मुम्बई अस्पतालमा निधन भयो।

अर्को एउटा समूहका नौ जना हिन्दु सन्तहरूको पनि निधन भयो।

कुम्भमेलाबाट फर्किनेहरूले अन्यलाई सार्न सक्ने बढ्दो आशङ्का रहँदा थुप्रै चिन्तित राज्यहरूले १४ दिन अनिवार्य क्वारन्टीनमा बस्न निर्देशन दिए।

केही राज्यले पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने बताए।

तर केही राज्यमा मात्रै यात्रुको तथ्याङ्क राख्ने डेटाबेस छ भने सीमा प्रवेश गर्नेको पहिचान र परीक्षणको प्रणाली भने कसैमा छैन।

कुम्भमेलामा उपस्थित भक्त

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कुम्भमेलाका बेला कम्तीमा नौ जना सन्तहरूमा कोरोनाभाइरस देखिएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्

विगत १५ दिनमा कुम्भमेलाबाट फर्किएकामा कोरोनाभाइरस देखिएको खबर भारतभरिबाट आएका छन्:

  • राजस्थानका अधिकारीहरूले ग्रामीण क्षेत्रमा कोरोनाभाइरस तीव्र रूपमा फैलिनुमा तीर्थालुहरू जिम्मेवार रहेको बताएका छन्।
  • पूर्वी राज्य ओडिसामा कुम्भमेलाबाट फर्किएकामा कम्तीमा २४ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।
  • गुजरातमा कुम्भमेलाबाट एउटै रेलमा फर्किएका ३१३ यात्रुमध्ये कम्तीमा ३४ जनामा कोरोनाभाइरस देखियो।
  • मध्यप्रदेशमा फर्किएका ६१ मध्ये ६० जना अर्थात् ९९ प्रतिशतमा भाइरस देखिएपछि हराइरहेका अन्य २२ जनाको अधिकारीहरू खोजी गरिरहेका छन्।

"यो विनाशकारी हो," डा. कान्तले भने।

"र यो सङ्ख्या असाध्यै सानो हो। भिडभाडयुक्त रेल र बसमा यात्रा गर्ने धार्मिक यात्रुको समूहले सङ्क्रमितको सङ्ख्या उल्लेख्य बढाउन धेरै प्रभाव पारेको छ। म कुनै दुबिधाबिना नै भन्न सक्छु कि भारतमा बढ्दो सङ्क्रमितको सङ्ख्याको एउटा मुख्य कारण कुम्भमेला नै हो।"

भारतमा सङ्क्रमितको दैनिक सङ्ख्या बढिरहेका बेला र अस्पतालहरूले शय्या, मेडिकल अक्सिजन र जीवनरक्षक औषधिहरूको अभावमा सेवा दिन नसकेका बेला कुम्भमेला रद्द गरेको भए राम्रो हुन्थ्यो कि भनेर सोध्दा महन्त दास जङ्गिए।

"त्यसो भए पश्चिम बङ्गालमा सरकारले चुनावी र्‍याली र चुनाव गर्नु कसरी ठिक हो? हामी भक्तहरूलाई मात्रै भेला गर्नु गलत हो भन्न कसरी मिल्छ?" उनले भने।

कुम्भमेलामा उपस्थित भक्त

तस्बिर स्रोत, Reuters

भेला रद्द गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले अनिच्छा देखाउनुमा महन्त दासजस्ता हिन्दु धर्मका नेताहरूबाट हुने सम्भावित प्रतिक्रिया रहेको आलोचकहरूले बताएका छन्।

पुजारी, सन्त र तपस्वीहरू पार्टीका ठूला समर्थक हुन् र चुनावका बेला हिन्दु मत ल्याउनमा उनीहरूले ठूलो भूमिका खेल्छन्।

कुम्भमेलाको पहिलो दिन एप्रिल १२ तारिखमा भारतमा सङ्क्रमितको दैनिक सङ्ख्या एक लाख ६८ हजारभन्दा बढी थियो र त्यही दिन ३० लाखभन्दा बढी भक्तजनहरूले आफ्नो पाप पखालिने विश्वासमा गङ्गा नदीमा डुबुल्की मारेका थिए।

गत साता कार्यक्रम आयोजकले हरिद्वारको भ्रमण ९१ लाख भक्तजनले भ्रमण गरेको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के नयाँ भेरिअन्टका कारण भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको हो

कुम्भमेला गर्दा त्यसले खतरा बढाउने भनेर सुरुदेखि नै चिन्ताहरू व्यक्त भएका थिए।

स्वास्थ्य विज्ञहरूले मार्च महिनाको सुरुमा नै 'एउटा नयाँ बढी सङ्क्रामक प्रकारको भाइरस देशमा देखा पर्न लागेको' र त्यसले बिनामास्कका लाखौँ मानिसहरूको भेला विवेकसङ्गत नहुने भन्दै सरकारलाई चेतावनी दिएका थिए।

उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले विज्ञहरूले 'महामारी छिट्टै नसकिने भनेकाले' आफूले कुम्भमेलालाई सुरुदेखि नै 'सीमित र साङ्केतिक कार्यक्रम' बनाउने योजना गरेको बताए।

"यो मेलामा भारतका मात्रै नभई थुप्रै क्षेत्रका मानिसहरूलाई आउँछन्। मलाई स्वस्थ मानिस आएर सङ्क्रमण जताततै लैजालान् भन्ने चिन्ता लागेको थियो।"

भारत

तस्बिर स्रोत, Reuters

तर मेलाको केही दिनअघि मात्रै रावतलाई नयाँ मुख्यमन्त्री तिरथसिंह रावतले विस्थापित गरे जसले 'गङ्गाको आशीर्वाद रहिरहँदासम्म कोरोना हुने छैन' भनेका थिए।

नयाँ मुख्यमन्त्रीले मेलामा भाग लिन कोभिड नभएको रिपोर्ट देखाउन नपर्ने र 'कसैलाई पनि नरोकिने' केवल सुरक्षा मापदण्ड अपनाए पर्याप्त हुने बताएका थिए।

तर हरिद्वारमा लाखौँ मानिस आउँदा सुरक्षाका नियम लागु गराउन अधिकारीहरूलाई सम्भव थिएन।

उत्तराखण्डमा रहेको थिङ्कट्याङ्कका संस्थापक अनुप नौतियालले बीबीसीसँग भने, "त्यो सङ्ख्याको भीडलाई नियम पालना गराउन असम्भव भयो। कागजमा धेरै राम्रो देखिन्छ तर कार्यान्वयन गराउन असम्भव हुन्छ।"

नौतियालले सन् २०२०को मार्च महिनादेखि नै राज्यको आँकडा राख्दै आएका छन्। सन् २०२१ को मार्च १४ देखि २० सम्मको सातामा ५५७ सङ्क्रमित सङ्ख्या देखिएको थियो र त्यति बेला भक्तजनहरू भर्खरै आउन सुरु गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘निको भएपछि कोभिड बिरामीको सेवामै फर्किन्छु’

त्यसपछि सङ्क्रमितको सङ्ख्या उल्लेख्य बढ्न थाल्यो र मेलाको अन्तिम साता २५ एप्रिलदेखि मे १ सम्म ३८,५८१ पुग्यो।

"यो सबै सङ्ख्या मेलाकै कारण बढ्यो भन्नु गलत हुन्छ तर सङ्क्रमितको सङ्ख्या बढ्नु र मेला हुनु सँगै भयो," उनले भने।

उक्त भेलाले पारेको क्षति नियन्त्रणका लागि भारतले अहिले केही गर्न सक्छ?

डा. कान्तले भने, "कसैले भनेका छन् कि भक्तजनले कोरोनाभाइरसलाई भगवानको प्रसादका रूपमा लिनेछन् र फैलाउने छन्। तीर्थयात्रीले सङ्क्रमण जताततै पुर्‍याएका छन् र त्यो दु:खलाग्दो छ।"

"अवस्थालाई सुधार्न के गर्न सकिन्छ भनेर म सोच्न सकिरहेको छैन। समुद्रमा हाम्रो जहाज धेरै टाढा पुगिसक्यो। यो एकदमै धेरै दुखलाग्दो छ। म केवल सङ्क्रमण मध्यमस्तरको होस् र मानिसले यसबाट मुक्ति पाउन् भन्ने प्रार्थना गर्न सक्छु।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?