‘अमेरिकाले नेपालबाट केही लिन वा विवादमा पार्न चाहेको छैन’

अमेरिकी विदेश मन्त्रीको निम्तोमा साउद औपचारिक भ्रमणमा गएका थिए

तस्बिर स्रोत, US State Department

संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका नेपालका परराष्ट्र मन्त्री एनपी साउदले अमेरिकाले स्वतन्त्रतापूर्वक आफ्नो नेपाल नीति सञ्चालन गरिरहेको र उसले नेपाललाई विवादमा पार्न नचाहेको आफूले बुझेको बीबीसीलाई बताएका छन्।

अघिल्लो साता भएको औपचारिक अमेरिका भ्रमणका क्रममा उनले आफ्ना समकक्षी एन्टोनी ब्लिङ्कनसहित कैयौँ उच्च अमेरिकी अधिकारीहरूसँग वाशिङ्टन डीसीमा भेटवार्ता गरेका थिए।

मन्त्री साउदको यो भ्रमणले नेपाल अमेरिका सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनसक्ने अमेरिकाका लागि एक जना पूर्व नेपाली राजदूतले विश्वास व्यक्त गरेका छन्।

नेपाली परराष्ट्र मन्त्रीसँगको भेटमा उच्च अमेरिकी अधिकारीहरूले नेपालसँगको सम्बन्धलाई आफूहरूले प्राथमिकता दिएको र आर्थिक तथा जनस्तरको सम्बन्धलाई अझ अभिवृद्धि गर्न चाहेको बताएका थिए।

अमेरिकाले नेपाललाई कसरी हेर्छ?

परराष्ट्र मन्त्री साउदलाई अमेरिकी विदेशमन्त्रालयमा स्वागत गर्दै अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध कायम भएको ७६ वर्ष पुगेको र आफ्नो देशले नेपाललाई अहिले इन्डो प्यासिफिकको अत्यन्त महत्त्वपूर्ण साझेदारका रूपमा लिएको बताएका थिए।

उनले उक्त क्षेत्र खुला, स्वतन्त्र, सुरक्षित र समृद्ध रहने सुनिश्चित गर्न नेपालसँग काम गरिरहेको पनि उल्लेख गरेका थिए।

औपचारिक भेटवार्तापछि जारी गरिएको विज्ञप्तिमा अमेरिकी विदेशमन्त्रालयले ५ वर्षभित्र प्रसारणलाइनसहितका पूर्वाधारको निर्माण सम्पन्न गर्ने भनि कार्यान्वयन अघि बढाइएको ५० करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदानलाई दुवै जनाले महत्त्व दिएको जनाइएको छ।

त्यसबाहेक अमेरिकी सरकारले साना तथा मझौला स्तरका उद्यमीहरूलाई ऋण दिनका लागि एउटा नेपाली ब्याङ्कलाई दिने नयाँ १६ अर्ब ६६ करोड रुपियाँ भन्दा बढी ऋणबारे पनि कुराकानी भएको उल्लेख गरिएको छ।

अमेरिकाले इन्डो प्यासिफिकको अत्यन्त महत्त्वपूर्ण साझेदारका रूपमा नेपाललाई लिएको बताउँछ

तस्बिर स्रोत, US State Department

तस्बिरको क्याप्शन, अमेरिकाले नेपाललाई इन्डो प्यासिफिकको अत्यन्त महत्त्वपूर्ण साझेदारका रूपमा लिएको बताउँछ

अमेरिकाबाट बीबीसीलाई दिएको अन्तरवार्तामा मन्त्री साउदले नेपालको विकासका लागि अमेरिकी सहयोग बढाउन आफूले अनुरोध गरेको बताए।

उनी भन्छन्, “अमेरिका लामो समयदेखि नेपाललाई निस्वार्थ सहयोग गरिरहेको महत्त्वपूर्ण मुलुक हो। कुनै बेला यसले नेपाललाई सबैभन्दा ज्यादा अनुदान दिने मुलुकका रूपमा आफूलाई उभ्याएको थियो। मैले पनि सबैभन्दा धेरै अनुदान दिने देशका रूपमा स्थापित हुन अनुरोध गरेको छु। साथै नेपालमा ऊर्जा, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी गर्न पनि भनेको छु।”

उनले अमेरिकी सहयोग नियोग यूएसएडकी प्रशासक सामान्था पावरसँगको कुराकानीका क्रममा कृषि केन्द्रित परियोजनाहरूमा लगानी बढाउन अनुरोध गरेको बताए।

आफूले मल कारखानाको स्थापना र सूचना प्रविधि जस्ता क्षेत्रमा अमेरिकी लगानी नेपालमा आउने आशा व्यक्त गरेको जानकारी साउदले दिए।

उनी थप्छन्, “अमेरिकाले नेपाललाई उच्च महत्त्व दिएको र नेपालीहरूको उन्नतिमा अमेरिकाले भूमिका खेल्न खोजेको मैले महसुस गरेको छु।”

अमेरिकाका लागि पूर्व नेपाली राजदूत अर्जुन कार्कीले मन्त्री साउदले वाशिङ्टनमा गरेका उच्चस्तरीय भेटवार्ताहरूले नेपाल अमेरिका सम्बन्धलाई उचाइमा पुर्‍याउन योगदान दिनसक्ने बताए।

उनले भने, “हाम्रा विकासका साझेदारहरू यूएसएडदेखि एमसीसीसम्म अमेरिकी सरकारसँग जोडिएका छन्। उच्चस्तरीय भेटवार्ताहरूले दुईदेशको सम्बन्धलाई राजनीतिक स्तरमा समीक्षा गरेर नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्छ भन्ने मलाई लाग्छ।”

उनले आर्थिक कूटनीतिको उच्च महत्त्व रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री साउदको भ्रमणका क्रममा संयुक्त राज्य अमेरिकाले साना तथा मझौला उद्योगहरूलाई सहयोग गर्ने भन्ने कुरालाई आफूले अझ बढी सकारात्मक रूपमा लिएको जनाए।

विशेष महत्त्वको अर्थ

यूएसएडकी प्रशासक पावरसँग परराष्ट्र मन्त्री साउद

तस्बिर स्रोत, Embassy of Nepal, Washington DC

तस्बिरको क्याप्शन, यूएसएडकी प्रशासक पावरसँग परराष्ट्र मन्त्री साउद

एशियाका दुई शक्तिशाली देशहरू भारत र चीनबीचमा अवस्थित नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने दोस्रो देश संयुक्त राज्य अमेरिका हो।

संयुक्त राष्ट्रसङ्घमा नेपालले सदस्यता प्राप्त गर्दा समर्थन गरेको अमेरिकाले सन् १९८३ मा राजा वीरेन्द्रलाई अमेरिकामा स्वागत गरेको थियो। त्यसक्रममा तत्कालीन राष्ट्रपति रोनल्ड रेगनले नेपाल पृथ्वीको ‘अर्को कुनामा रहेको’ हाम्रो मित्र हो भनेका थिए।

सन् २०१८ को डिसेम्बरमा नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाको औपचारिक भ्रमणमा निम्त्याएका थिए।

त्यसबेला दुई नेताले खुला, स्वतन्त्र र समृद्ध इन्डो प्यासिफिकमा नेपालको केन्द्रीय भूमिका र उत्तर कोरियासहितका विश्वव्यापी विषयमा छलफल गरेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जनाएका थिए।

अमेरिकाको उक्त धारणापछि नेपालमा कतिपय दलका नेता र विश्लेषकले चीनको बढ्दो प्रभावसँग जुझ्न वाशिङटनले अघि सारेको अवधारणामा निकट उभिएको भन्दै तत्कालीन केपी ओली नेतृत्वको सरकारको आलोचना गरेका थिए।

त्यसपछि तत्कालीन सरकारले कुनै पनि सुरक्षा वा सामरिक रणनीतिमा नेपाल आबद्ध नहुने र अमेरिकासँग त्यस्तो कुनै छलफल नभएको प्रष्टीकरण दिएको थियो।

यसपटक अमेरिकी विदेशमन्त्रीले नेपाल अमेरिकाका लागि इन्डो प्यासिफिकको महत्त्व दिइएको साझेदार रहेको बताएको भएपनि त्यसलाई अन्यथा लिनुपर्ने कारण नरहेको साउद बताउँछन्।

उनले भने, “इन्डो प्यासिफिक क्षेत्रमा नेपाल एउटा महत्त्वपूर्ण मुलुक हो भनेर उहाँले भन्नुभएको छ। उहाँले कुनै रणनीतिको कुरा गर्नुभयो जस्तो मलाई लाग्दैन्। अमेरिकाले नेपाललाई विवादमा पार्ने वा नेपालबाट केही लिने भन्दा पनि विकासमा साझेदारी गर्न खोजेको मैले महसुस गरेको छु।”

एमसीसीकी प्रमुखसँग भेटेका परराष्ट्रमन्त्रीले पाँच वर्षमा पूर्वाधार निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए

तस्बिर स्रोत, Nepalembassyusa/Twitter

तस्बिरको क्याप्शन, एमसीसीकी प्रमुखसँग भेटेका परराष्ट्रमन्त्रीले पाँच वर्षमा पूर्वाधार निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए

इन्डो प्यासिफिक के हो?

अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसको एउटा वक्तव्यका अनुसार अमेरिकाले आफूलाई इन्डो प्यासिफिकको शक्तिका रूपमा लिन्छ। प्रशान्त महासगरको तटीय क्षेत्रदेखि हिन्द महासगरसम्म उक्त क्षेत्र पर्ने भन्दै त्यहाँ विश्वको आधा जनसङ्ख्या, दुई तिहाइ अर्थतन्त्रको हिस्सा र संसारको सबैभन्दा सात ठूला सेनाहरू रहेको उसको भनाई छ।

अमेरिकाका लागि पूर्व नेपाली राजदूत कार्की इन्डो प्यासिफिकका रूपमा अमेरिकाले भूगोलको व्याख्या गरिरहेको भन्दै त्यसलाई कुनै रणनीतिका रूपमा बुझ्न नहुने बताउँछन्।

उनले भने, “हामीले सबै कुरालाई आफ्नो सुविधा अनुसार व्याख्या गर्ने गर्छौँ। तर अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीति सबै घोषित छ। उनीहरूले साझेदारी भनेको आफूले घोषणा गरेको इन्डो प्यासिफिक रणनीतिका लागि नभनेर इन्डो प्यासिफिक भन्ने भूगोलका बारेमा कुरा गरेका हुन्।”

उनले भने, “भूगोलका हिसाबले नेपाल हाम्रो लागि महत्त्वपूर्ण देश हो भनेर अमेरिकाले भन्छ भने त्यसलाई हामीले सकारात्मक रूपमा नै लिनुपर्छ। तर सुरक्षा रणनीतिको हिसाबले चाहिँ हामी अमेरिकाको कुनै पनि रणनीतिमा सहभागी छैनौँ भनेर पहिला नै सरकारले स्पष्ट पारिसकेको छ।”

भारतले आफ्नो इन्डो प्यासिफिक नीतिमा भारतको उदय र क्षेत्रीय नेतृत्वलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको पाइन्छ।

परराष्ट्र मामिलाका कैयौँ विज्ञहरूले काठमाण्डूलाई हेर्ने अमेरिकाको दृष्टिकोणमा भारतको समेत भूमिका हुने कतिपय परराष्ट्र मामिलाका जानकारहरूले बताउने गरेको पाइन्छ।

तर परराष्ट्र मन्त्री साउद नेपाललाई हेर्ने अमेरिकी दृष्टिकोण स्वतन्त्र रहेको बताउँछन्।

उनले भने, “यो विश्वव्यापीकरणको परिप्रेक्ष्यमा सबै देशका बारेमा छलफल र कुरा हुन्छ। सबै देशसँगको सम्बन्ध महत्त्वपूर्ण छ। उनीहरू सबै देशसँग नेपालले आफ्नो हितमा राम्रो सम्बन्ध राख्नुपर्नेमा स्पष्ट छन्। कुनै अर्को देशसँगको सम्बन्धको आधारमा नभएर स्वतन्त्रतापूर्वक हामीले एक अर्कालाई हेरेका छौँ।”

अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रको साझेदार नेपाल पनि भएको बताउने गरेको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति बाइडनलाई नेपाल भ्रमणको निम्तो दिदैँ पत्र लेखेका छन्

प्रधानमन्त्री प्रचण्डको पत्र

वर्तमान मन्त्रिपरिषद्‌मा नेपाली कांग्रेस दलको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्री बनेका साउदले प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी राष्ट्रपति जो बाइडनलाई लेखेको पत्र पनि आफ्ना अमेरिकी समकक्षीलाई हस्तान्तरण गरेका थिए।

साउदका अनुसार उक्त पत्रमा अमेरिकी राष्ट्रपतिलाई नेपालको भ्रमणको निम्तो दिइएको छ।

उनले भने, “यो क्षेत्रमा भ्रमण हुँदा नेपाललाई पनि एउटा गन्तव्य बनाउनुपर्‍यो, छोटो भएपनि भ्रमण गर्नपर्‍यो भनेर प्रधानमन्त्रीले पत्रमा लेख्नुभएको छ। नेपाल अमेरिका सम्बन्ध सौहार्दपूर्ण रहेको र लामो समयदेखि उच्च तहको भ्रमण अमेरिकाबाट नभएकाले प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई भ्रमणको निम्तो दिनुभएको हो।”

मन्त्री साउदले आफ्ना समकक्षी ब्लिङ्कनलाई पनि नेपाल आउन आमन्त्रण गरेका छन्।

त्यसमा सकारात्मक जवाफ पाएको उनले बीबीसीलाई बताए।

प्रधानमन्त्री प्रचण्डले अमेरिकाबाट नेपालमा उच्चस्तरीय भ्रमण होस् भन्ने अपेक्षा राखेको बताइन्छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, भारत र चीनको भ्रमणबाट प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री अमेरिका गएका हुन्

तर पूर्व राजदूत कार्की जस्ता कूटनीतिक मामिलाका जानकारहरू अझै पनि अमेरिकाबाट तत्कालै नेपालमा उच्चस्तरको भ्रमण हुने सम्भावना न्यून रहेको ठान्छन्।

कार्कीले भने, “हाम्रो भूराजनीतिक चुनौतीहरू विभिन्न ठाउँमा केन्द्रित छन्। आफ्नो राजनीतिक र परराष्ट्र सम्बन्धका हिसाबले ज्यादै महत्त्वपूर्ण स्थान ओगट्ने देश भएको भए त्यो हुन्थ्यो। अहिले नै म त्यो तहको भ्रमण हुने सम्भावना देख्दिन।”

नेपालकै आन्तरिक राजनीतिक अवस्थाका कारण पनि त्यस्तो भ्रमणको सम्भावना न्यून रहेको उल्लेख गर्दै उनले दक्षिण एशियामा नेपालले आफ्नो प्रभाव बलियो बनाएको खण्डमा भने अमेरिकी अधिकारीहरूको भ्रमण हुनसक्ने उनले टिप्पणी गरे।

सन् १९७० को ज्यानुअरीमा एशियाली देशहरूको भ्रमणको सिलसिलामा तत्कालीन अमेरिकी उपरराष्ट्रपति स्पाइरो एग्न्यूले काठमाण्डूको भ्रमण गरेका थिए।

उनी नेपालको भ्रमण गर्ने हालसम्मकै वरिष्ठ अमेरिकी अधिकारी हुन्। अमेरिकी प्रथम महिला हिलरी क्लिन्टनले सन् १९९५ मा नेपालको भ्रमण गरेकी थिइन्।

नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा रहँदा तत्कालीन अमेरिकी विदेश मन्त्री कोलिन पावेलले काठमाण्डूको भ्रमण गरेका थिए।

त्यसबेला उनले राजा ज्ञानेन्द्र, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन शाही नेपाली सेनाका प्रधानसेनापति प्रज्जवल शमशेर राणासँग भेटवार्ता गरेका थिए।