इमरान खान दम्पतीलाई किन १४ वर्ष जेल सजाय

तस्बिर स्रोत, Getty Images
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई भ्रष्टाचारको मुद्दामा बुधवार एउटा अदालतले १४ वर्षको कारावास सजाय सुनाएको छ।
यसअघि खानलाई राज्यको गोपनीयता भङ्ग गरेको अर्को अभियोगमा मङ्गलवार १० वर्षको जेल सजाय सुनाइएको थियो।
दुवै सजाय सँगसँगै जाने ठानिएको छ। तर त्यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ।
पाकिस्तानमा हुन लागेको निर्वाचनको एक साताअघि खानलाई दुइटा मुद्दामा सजाय तोकिएको हो। आगामी निर्वाचनमा इमरान खानलाई प्रतिस्पर्धा गर्न यसअघि नै रोक लगाइएको छ।
सन् २०२२ मा विपक्षीहरूले प्रधानमन्त्रीबाट हटाएका खानले यसअघि नै भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर भएपछि तीन वर्षको कैद भोगिरहेका छन्।
उनले आफूविरुद्ध लगाइएका मुद्दाहरू राजनीतिक उद्देश्यले प्रेरित भएको बताएका छन्।
भ्रष्टाचारसँग सम्बन्धित मुद्दा हेर्ने इस्लामाबादस्थित एउटा अदालतले सजाय सुनाएपछि खानकी पत्नी बुशरा बिबी जेल पुगेकी थिइन्। उनलाई त्यहीँ पक्राउ गरिएको हो।
खानले बुधवार सुनाइएको फैसलाबारे टिप्पणी गरिसकेका छैनन्। यद्यपि उनले मङ्गलवारको फैसलाको चर्को आलोचना गरेका थिए।
सामाजिक सञ्जाल एक्समा मङ्गलवार सार्वजनिक एउटा विज्ञप्तिमा उनले आफ्ना समर्थकहरूलाई "शान्त रहँदै फेब्रुअरी ८ मा आफ्नो मतद्वारा प्रत्येक अन्यायको प्रतिशोध लिन" आह्वान गरेका थिए।

तस्बिर स्रोत, Getty Images
डेढ अर्ब रुपैयाँ जरिबाना, दुईवटा मुद्दा
अदालतले खान दम्पतीलाई डेढ अर्ब पाकिस्तानी रुपैयाँ जरिबाना समेत तिर्न आदेश दिएको छ।
यसअघि खानले नेतृत्व गरेको तहरिक-ए-इन्साफ पार्टी (पीटीआई)का अध्यक्षले अदालतले खानलाई प्रतिरक्षाको मौका नदिएको दाबी गरेका छन्। उच्च अदालतले उनलाई तोकिएको जेल सजायको फैसला उल्ट्याउने विश्वास उनको दलका नेताहरूले गरेका छन्।
उनका वकिलले पाकिस्तान उच्च अदालतमा खानविरुद्ध तोकिएका सजायको पुनरावेदन गरिने बताएका छन्।
पीटीआईका अनुसार अदालतको सजायले खानलाई १० वर्षसम्म सार्वजनिक पदमा रहनबाट समेत वञ्चित गर्ने छ।
खान कुनै बेला अन्तर्राष्ट्रिय क्रिकेटमा ख्यातिप्राप्त पाकिस्तानी खेलाडी थिए।
उनी पछि राजनीतिमा प्रवेश गरे अनि देशको प्रधानमन्त्री समेत बने।
गत अगस्टमा पक्राउ परेका खान अहिले रावलपिन्डीस्थित जेलमा छन्।
इमरान खान र बुशरा बिबीको बिहे
यसअघि धरौटीमा रिहा भएकी उनकी पत्नी बुधवार कारागारमा उपस्थित भएकी हुन्।
सन् २०१८ मा खान प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै उनको बुशरा बिबीसँग बिहे भएको थियो।
खान प्रधानमन्त्रीको पदमा हुँदासम्म उनी खासै चर्चामा आएकी थिइनन्।
खान प्रधानमन्त्री हुँदा प्राप्त भएका राजकीय उपहारहरू निजी प्रयोजनका लागि राखेको वा बिक्री गरेको आरोप खान दम्पतीलाई लागेको थियो।
बुधवार अदालतले त्यही मुद्दामा फैसला सुनाएको हो। खान दम्पतीले त्यस्तो आरोप अस्वीकार गर्दै आएका छन्।
तोशाखाना के हो

तस्बिर स्रोत, SHUTTERSTOCK
सन् २०२२ को अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले तोशाखाना मुद्दामा खानलाई अर्को पाँच वर्षको लागि चुनाव लड्न अयोग्य ठहर गरेको थियो।
निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा तोशाखाना (सरकारी स्वामित्वको एक विभाग) बाट पाएका उपहारबारे अधिकारीहरूलाई सही जानकारी नदिएको बताएको थियो।
खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे उल्लेख गरिएको थिएन। त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उनलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो।
उक्त मुद्दामा उनलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो।
पाकिस्तानमा सन् १९७४ मा तोशाखाना स्थापना भएको थियो। यो मन्त्रिपरिषद्मातहत रहेको एउटा विभाग हो।
तोशाखानामा प्रधानमन्त्री, राष्ट्रपति, राज्यप्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीहरूले विदेश भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहार राखिन्छ।
कुनै पनि विदेशयात्राको क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ।
तोशाखानामा राखिएका सामानलाई कोसेली मानिन्छ। त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र बिक्री गर्न मिल्छ।
त्यस्ता उपहारको मूल्य ३०,००० रुपैयाँभन्दा कम भएमा त्यसलाई पाउने व्यक्तिले आफूसँग सित्तैमा राख्न सक्छ।
उपहारको मूल्य बढी भएमा त्यसको लागतको ५० प्रतिशत रकम तिरेर खरिद गर्न सकिन्छ। सन् २०२० अघिसम्म सामानको वास्तविक मूल्यको २० प्रतिशत मात्रै जम्मा गर्नुपर्ने नियम थियो।
त्यस्ता उपहारमा सामान्यतया महँगा घडी, सुन र हीराका गहना, अरू महँगा गहना, कोसेली, हीराजडित कलम र गलैँचा पर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








