इमरान खानले पाकिस्तानको अटक जेलमा पाउन सक्छन् यस्ता सुविधा

तस्बिर स्रोत, Getty Images
- Author, इमाद खालिक
- Role, बीबीसी उर्दू
पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानलाई एउटा भ्रष्टाचारको मुद्दामा लाहौरस्थित उनको निवासबाट गिरफ्तार गरिएपछि पञ्जाब प्रान्तको सीमावर्ती जिल्ला अटकको जेलमा पठाइएको छ।
उनलाई तीन वर्षको जेल र जरिवानाको सजाय सुनाइएपछि पक्राउ गरेर जेल पठाइएको हो।
इमरान खानलाई पक्राउ गरेपछि सुरुमा हेलिकोप्टरबाट इस्लामावाद ल्याएको खबर आए पनि पछि प्रहरीले उनलाई सडक मार्गबाटै पाकिस्तानको राजधानी सहर पुर्याएको थियो। त्यहाँ उनको स्वास्थ्य परीक्षण गरिएपछि अटक जेल लगिएको हो।
पञ्जाबको जेल विभागका एक अधिकारीले पीटीआई अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलमा सरुवा गरेपछि सामान्य नियमअनुसार उनको पक्राउ पुर्जीको जाँच गरिने बीबीसी उर्दूलाई बताए।
त्यसपछि उनको कुनै पुरानो चिकित्सकीय जाँचको विवरण छ भने त्यसको परीक्षण गरिनेछ अनि जेलमै उनको ताजा स्वास्थ्य परीक्षण पनि हुनेछ।
जेलका अधिकारीहरूका अनुसार कुनै पनि कैदीलाई कारागारमा पुर्याउँदा स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ।
यसपछि इमरान खानसँग भएका उनका व्यक्तिगत सामान उनीबाट लिएर अधिकारीलाई सुम्पिइनेछ र जेलको भण्डारण कक्षमा राखिनेछ। त्यस्ता वस्तुहरू कैदी जेलबाट छुट्दा फिर्ता गरिन्छ।
अधिकारीहरूका अनुसार पूर्व प्रधानमन्त्री खानको स्वास्थ्य परीक्षण र उनीबाट बहुमूल्य सामान लिएपछि उनलाई ब्यारेकमा पठाइनेछ।
कैदीहरूको वर्गीकरण कसरी हुन्छ?

तस्बिर स्रोत, PUNJAB PRISON DEPT
पञ्जाबको जेलमा कैदीहरूलाई तीन वटा श्रेणीमा वर्गीकरण गरेर राखिन्छ।
‘सी’ वा सामान्य श्रेणीमा हत्या, डकैती, चोरी, झगडा र अन्य सानातिना अपराधमा सजाय पाएका कैदी पर्छन्।
‘बी’ वा ‘बेटर’ श्रेणीमा हत्या र झगडाका मुद्दामा संलग्न तर असल परिवारका सदस्य भनिएका कैदीहरूलाई राखिन्छ। स्नातक उत्तीर्ण कैदीले पनि ‘बी’ वर्ग लिन पाउनेछन्।
कारागारका अधिकारीहरूका अनुसार ‘ए’ वर्गमा उच्चपदस्थ सरकारी अधिकारी, पूर्व केन्द्रीय मन्त्री र धेरै कर तिर्ने कैदीलाई राखिन्छ।
जेल कानुनअनुसार इमरान खानलाई पूर्व प्रधानमन्त्री भएकाले ‘ए’ श्रेणीको कैदीले पाउने सुविधा दिन सकिने भए पनि अटक जेलका प्रमुखले उक्त जेलमा ‘ए’ वा ‘बी’ वर्गका सुविधा उपलब्ध नरहेको बीबीसी उर्दूलाई बताए।
पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाबका ४२ वटा जिल्लाका कारागारमध्ये दुई वटामा मात्र कैदीलाई ‘ए’ वर्गको सुविधा दिइएको छ। ती जेलहरूमा बहावलपुर जेल र रावलपिण्डीको अदयाला जेल रहेका छन्।


कैदीले पाउने सुविधा
कारागार नियमावली अनुसार ‘ए’ वर्गका कैदीहरूलाई बस्नका लागि दुई कोठाको छुट्टै ब्यारेक दिइन्छ। त्यो कोठाको लम्बाइ ९ फिट र चौडाइ १२ फिट हुन्छ।
ओछ्यान, एयर कन्डिसन, फ्रिज र टिभीबाहेक कैदीका लागि छुट्टै भान्साको व्यवस्था पनि गरिएको छ।
‘ए’ वर्गका कैदीलाई जेलको खाना नखाने र मन पर्ने खाना पकाउन पाउने सुविधा पनि दिइएको छ।
यसबाहेक ‘ए’ वर्गका कैदीलाई दुई जना कैदीहरू नै कर्मचारीका रूपमा उपलब्ध गराइन्छ।
‘ए’ वर्गमा राखिएका कैदीले घरबाटै खाना मगाउन चाहेमा त्यसअघि सरकारको स्वीकृति लिनुपर्ने जेल अधिकारीहरू बताउँछन्।
यस्ता कैदीलाई उनीहरूका आफन्त वा नजिकका साथीभाइ वा वकिलले साताको एक दिन भेट्न पाउँछन्। तर त्यसका लागि पनि सरकारको पूर्वस्वीकृति आवश्यक पर्छ।

तस्बिर स्रोत, Getty Images
कारागार अधिकारीहरूका अनुसार कैदीले चाहेमा उनका दुवै कामदार उनीसँगै बस्न पनि सक्छन्।
कारागारको नियमअनुसार ‘बी’ वर्गका कैदीलाई छुट्टै कोठा र एक जना कामदार दिने व्यवस्था भए पनि कारागार प्रमुखले चाहेमा एकबाट दुई जना कामदार बढाउन सक्नेछन्।
‘बी’ वर्गका कैदीका लागि केही सर्त तोकिएको छ र ती सर्तका आधारमा गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने हुन्छ।
‘सी’ श्रेणी भनेको कारागारमा रहेका सर्वसाधारण कैदीका लागि हो। त्यो वर्गका कैदीका लागि न त घरबाट खाना ल्याउने अनुमति छ न त आफ्नो शिक्षा वा पदसँग सम्बन्धित कुनै सुविधा नै उनीहरूले पाउँछन्।
पञ्जाब कारागारका एक जना उच्चपदस्थ अधिकारीले बीबीसीलाई बताए अनुसार उक्त राज्यका पूर्व मुख्यमन्त्री उस्मान बुजदारको सरकारले ‘सी’ श्रेणीका कैदीहरूलाई गद्दा, कुलर र १० वटा च्यानल चाल्ने केबल टेलिभिजन लिन अनुमति दिने व्यवस्था सुरु गरेको थियो।
यद्यपि त्यस्तो सुविधा लिनका लागि पनि जेलका प्रमुखको अनुमति आवश्यक हुन्छ।
उनले सुरक्षाका कारण राजनीतिक बन्दीलाई ‘सी’ वर्गमा पनि सामान्य कैदीहरूसँग नभई छुट्टै कक्षमा राखिने बताए।
कारागार प्रशासनका अनुसार ‘ए’ र ‘बी’ वर्गका कैदीहरूलाई उपलब्ध गराइने कामदारहरू पनि सानातिना अपराधमा सामेल ‘सी’ वर्गका कैदीहरू नै हुन्छन्।
अटक जेलको इतिहास

तस्बिर स्रोत, Getty Images
अटक पाकिस्तानको सबैभन्दा ठूलो राज्य पञ्जाबको अन्तिम उत्तरी सहर हो। त्यो ब्रिटिश शासनकालमा सन् १९०४ मा क्याम्पबलपुरको नाममा बसोबास गराइएको स्थान थियो।
सिन्धु नदीको बायाँ किनारमा १ सय २० वर्ष पुरानो अटक सहर अवस्थित छ भने त्यसको केही पर पहिले नै बसोबास भइरहेको अटक खुर्द अर्थात् सानो अटक भनिने एउटा गाउँ पनि छ।
सोह्रौँ शताब्दीमा मुगल सम्राट् अकबरले सिन्धु नदीको किनारमा किल्ला बनाएका थिए र त्यसको नाम पनि अटक किल्ला राखिएको थियो।
त्यो ऐतिहासिक किल्लाको एउटा भाग अझै पनि पाकिस्तानी सेनाको ‘स्पेसल सर्भिसेज ग्रुप’को अधीनमा छ।
उक्त किल्लामा पूर्व सैन्य राष्ट्रपति जनरल जिया-उल-हकविरुद्ध ‘विद्रोह’को मुद्दासहित बेनजिर भुट्टोविरुद्ध ‘षड्यन्त्र गरेको’ आरोपविरुद्ध मुद्दाहरू चलाइएको थियो।

तस्बिर स्रोत, Getty Images
सन् १९९९ मा पाकिस्तानमा भएको सैन्यै विद्रोहपछि पूर्वप्रधानमन्त्री नवाज शरिफलाई पनि सोही किल्लामा कैद गरिएको थियो।
त्यस्तै पिपुल्स पार्टीका नेता आशिफ अली जरदारीविरुद्धको मुद्दाको सुनुवाइ पनि उक्त ऐतिहासिक किल्लामा नै भएको थियो र उनी लामो समयसम्म सोही स्थानमा कैदमा थिए।
अटक जिल्ला कारागार उक्त सहर स्थापना भएको एक वर्षपछि सन् १९०५ मा निर्माण गरिएको थियो।
पञ्जाब जेल विभागको वेबसाइट अनुसार उक्त कारागारमा ५३९ जना कैदी राख्ने क्षमता छ तर अहिले त्यहाँ ८०४ भन्दा बढी कैदी बन्दीहरू छन्।
उक्त कारागारमा विगतमा पनि राजनीतिक कैदीहरू राखिएका छन्।
गत फेब्रुअरीमा तहरीक-ए-इन्साफले ‘जेल भरो’ आन्दोलन सुरु गर्दा पार्टीका उपाध्यक्ष शाह महमूद कुरेशीलाई एक महिनाका लागि अटक जेल पठाइएको थियो।
त्यस्तै मुस्लिम लिग नवाजका नेता र एउटा मुद्दामा आजीवन कारावासको सजाय पाएका हनिफ अब्बासी पनि केही समयदेखि यही जेलमा कैद छन्।
उनलाई सुरुमा अदयाला जेलमा राखिएको थियो तर जेल प्रमुखको कार्यालयमा नवाज लिगका अध्यक्ष नवाज शरिफ, मरियम नवाज र क्याप्टेन सफदरसँग उनको भेट भएको खबर बाहिर आएपछि उनलाई अटक जेलमा सारिएको थियो।

इमरान खानलाई लागेको मुद्दा
इस्लामावादस्थित एउटा अदालतले राज्यका उपहारहरू विक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी पाएको हो।
न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए। खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्वप्रधानमन्त्रीलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन्।
शनिवार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो। त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए।
अदालतले उनका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो। त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको थियो।
सन् २०२२ को अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले तोशाखाना मुद्दामा पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को पाँच वर्षको लागि चुनाव लड्न अयोग्य ठहरायो।
निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा तोशाखाना (सरकारी स्वामित्वको एक विभाग) बाट पाएका उपहारबारे अधिकारीहरूलाई सही जानकारी नदिएको बताएको थियो।


इमरान खानले उक्त आरोपको खण्डन गरेका छन्। उनीमाथि प्रधानमन्त्री पदमा रहँदा उनले व्यक्तिगत फाइदाका लागि महँगो उपहार बेचेको आरोप लागेको छ।
खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे उल्लेख गरिएको थिएन।
त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उनलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो।
पाकिस्तानमा सन् १९७४ मा तोशाखाना स्थापना भएको थियो। यो मन्त्रिपरिषद्को प्रशासनिक मातहतको एक विभाग हो जहाँ प्रधानमन्त्री, राष्ट्रपति, राज्य प्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छन्।
कुनै पनि विदेश यात्राको क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ।
तोशाखानामा राखिएका सामानलाई स्मृति चिन्हका रूपमा हेरिन्छ। त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र बिक्री गर्न मिल्छ।
अदालतको फैसला अनुसार सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्री रहँदा खानले विदेश भ्रमणका क्रममा प्राप्त भएका १४ करोड पाकिस्तानी रुपियाँ भन्दा बढीका उपहारहरू विक्री गरेका थिए।
को हुन् इमरान खान?

तस्बिर स्रोत, Reuters
इमरान खान भूतपूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन्।
राजनीतिमा प्रवेश गरेको दुई दशकपछि उनी पाकिस्तानका प्रधानमन्त्री बन्न सफल भए।
देशको इतिहासमा विश्वासको मत प्राप्त गर्न विफल भएर सत्ताबाट बाहिरिने उनी प्रथम प्रधानमन्त्री समेत हुन्।
सन् १९९६ मा उनले आफ्नो दल पाकिस्तान तहरिक-ए-इन्साफ (पीटिआई) स्थापना गरे तापनि सन् २०१३ को आमनिर्वाचनबाट मात्र उक्त दल राष्ट्रिय रूपमा गम्भीर शक्तिका रूपमा देखिन थालेको हो।
‘नयाँ पाकिस्तान’को नारा दिएर भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रलाई लयमा ल्याउने बाचासाथ सन् २०१८ को जुलाईमा उनी देशको प्रधानमन्त्री निर्वाचित भएका थिए।
तर सन् २०२२ को एप्रिलमा विश्वासको मत प्राप्त गर्न विफल भएपछि उनको सरकार ढलेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








