शहबाज शरिफ: पाकिस्तानका नयाँ प्रधानमन्त्री को हुन्

तस्बिर स्रोत, Getty Images
- Author, उमर दराज
- Role, बीबीसी न्यूज उर्दू
पाकिस्तानको राजनीतिक इतिहासले पुनः बाटो परिवर्तन गरेको छ। इमरान खान विरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि प्रतिपक्षी मुस्लिम लीगका प्रमुख शहबाज शरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।
शहबाज यसअघि तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका राजनीतिज्ञ नवाज शरिफका भाइ हुन्।
पानामा पेपर्समा भएको आर्थिक खुलासासँगै भ्रष्ट्राचारको अभियोग लागेपछि नवाजलाई सन् २०१८ मा तेस्रो पटक त्यहाँको सरकारबाट हटाइएको थियो।
पाकिस्तानको संसद्को तल्लो सदनमा तीन वर्षयता विपक्षी दलका नेता रहेका शहबाज निवर्तमान प्रधानमन्त्री इमरान खानका खरो आलोचकमध्ये एक हुन्।
गैरकानुनी सम्पत्तिको आरोप
सात करोड ६० लाख अमेरिकी डलर बराबर गैरकानुनी सम्पत्ति राखेको विषयमा पाकिस्तानको भ्रष्ट्राचार विरोधी निकाय न्याश्नल अकाउन्टिबिलिटी ब्यूरोले उनलाई सन् २०२० को सेप्टेम्बरमा पक्राउ गरेको थियो।
उक्त निकायको अनुसन्धानले शहबाजका २८ वटा नक्कली खाताहरू रहेको दाबी गरिएको थियो। जसबाट सन् २००८ र २०१८ को बीचमा उक्त रकम शुद्धीकरण गरिएको आरोप लगाइयो।
उक्त अनुसन्धानले ब्याङ्कबाट पैसा निकालिएका १७,००० वटा कारोबारको अध्ययन गर्दै उक्त रकम लुकाइएका खाताहरूमा राखिएको र शहबाजलाई व्यक्तिगत रूपमा दिइएको दाबी गरेको थियो।
उनी अहिले धरौटीमा रिहा भएका हुन् तर उनले सम्पत्ति शुद्धीकरणसहित आयस्रोत बारेको मुद्दा पनि खेपिरहेका छन्।
पहिलो पटक सङ्घीय सरकारको नेतृत्व गर्न लागेका ७० वर्षीय पाकिस्तानी प्रधानमन्त्रीसँग यसअघि प्रान्तीय मुख्यमन्त्रीको अनुभव छ।

उनी तीन कार्यकाल र १३ वर्ष मुख्यमन्त्री भएको पन्जाब देशको सबैभन्दा धेरै जनसङ्ख्या भएको र राजनीतिक रूपमा महत्त्वपूर्ण प्रान्त हो।
पन्जाबको मुख्यमन्त्री रहँदा उनले कहिले भावनात्मक उत्तेजना र कहिले कार्यशैलीका कारण राजनीतिक विपक्षी, सञ्चारमाध्यम र जनताको ध्यान तानिरहन्थे।
उनी र उनको टोली कहिले बाढीमा गमबुट लगाएर उभियो, कहिले सरकारी निकायहरूमा अकस्मात् छापा मार्न पुग्यो।
उनका आलोचक र विरोधीहरूले यो सबै देखाउनका लागि गरिरहेको भन्दै आलोचना गर्ने गरेका थिए। उनीसँग कहिल्यै नछुट्ने सञ्चारमाध्यमले यसको पुष्टि गर्थे।
तर शहबाजसँग काम गरेका सरकारी अधिकारीहरू र पत्रकारहरू उनी यस्ता क्षणहरूमा "कठिन मेहनत गर्ने प्रशासक"को रूपमा प्रस्तुत हुने गरेको बताउँछन्।
उनी कसरी चर्चित भए र उनले मुख्य मन्त्रीबाट प्रधानमन्त्रीको कुर्सीसम्मको लामो यात्रा कसरी तय गरे?
व्यापारबाट राजनीतिमा
लाहोरका वरिष्ठ पत्रकार सलमान गनीले शरिफ परिवार र उनीहरूको दलबारे लामो समयदेखि समाचार लेखिरहेका छन्।
बीबीसीसँग कुरा गर्दै उनले शहबाज सन् १९८५ मा लाहोरको वाणिज्य सङ्घ चेम्बर अफ कमर्सको अध्यक्ष भएको बताए।
"मलाई सम्झना छ कि उनीहरू त्यो समयमा सामान्य कारमा चढ्थे। उनीहरूले पार्टीका कार्यकर्ताहरूलाई सामान पुर्याउन पनि त्यही कार प्रयोग गर्थे," उनी भन्छन्।
सलमान गनीका अनुसार दाजु नवाज शरिफ र उनको दललाई राजनीतिमा प्रवर्द्धन गर्न शहबाजले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

तस्बिर स्रोत, Getty Images
दाजुलाई सघाउँदै आएका शहबाज आफू पनि राजनीतिमा समावेश हुने निर्णय गरे र सन् १९८८ को पन्जाबको प्रान्तीय संसद्मा सदस्य भए।
उनी सन् १९९० र सन् १९९३ मा पुन निर्वाचित भए। सन् १९९३ मा उनी प्रान्तीय सभामा प्रतिपक्षी दलको नेता चुनिए।
'शहबाज प्रधानमन्त्री भए अझै राम्रो'
जब पाकिस्तान मुस्लिम लीग सन् १९९७ को निर्वाचनमा विजयी भयो शहबाज शरिफ पन्जाबको मुख्यमन्त्रीमा पहिलो पटक निर्वाचित भए।
वरिष्ठ पत्रकार मुजीब उर रहमान शमीले यो समयको राजनीतिलाई नजिकबाट नियालेका छन्।
बीबीसीसँग कुरा गर्दै उनले शहबाज निकै मेहनती रहेको र आफ्नो लक्ष्य प्राप्तिमा दृढ रहेको बताए।
कुशल प्रशासक समेत रहेका उनले पन्जाबमा निकै प्रभावकारी टोली बनाएर काम गरेका थिए।
मुख्यमन्त्रीको पहिलो कार्यकालमै उनले प्रान्तमा धेरै परियोजनाको सुरुवात गरे।
तर सेना प्रमुख परवेज मुशर्रफले सत्ता हातमा लिएर सैनिक शासन लागु गरेपछि शहबाजले पूरा कार्यकाल पन्जाबको प्रान्तीय सरकार नेतृत्व गर्न पाएनन्।
सैन्य कू लगत्तै दुवै जना शरिफ दाजुभाइ पक्राउ परे। त्यसपछि दाइ नवाज शरिफ लामो समय साउदी अरबमा निर्वासनमा बसे।
शमीका अनुसार उक्त समयमा भएको घटनाक्रममा शहबाजले खेल्न सक्ने कुनै भूमिका थिएन।
"उनी सैन्य संस्थापनसहित सबै पक्ष मिलेर काम गर्नुपर्छ भनिरहन्थे," शमी भन्छन्।
शमीका अनुसार एक पटक जनरल मुशर्रफले समेत "उनी (शहबाज) प्रधानमन्त्री भए राम्रो हुने थियो" भनेका थिए।
यद्यपि त्यही समयमा शरिफ परिवारका दुवै दाजुभाइलाई विमान अपहरण र देशद्रोहको मुद्दा लागेको थियो।
सेनासँग सम्झौता र स्वैच्छिक निर्वासन
सन् २००० मा शरिफ परिवारले निरङ्कुश सैनिक शासक जनरल मुशर्रफसँग एउटा सम्झौता गरे र निर्वासनका लागि साउदी अरब प्रस्थान गरे।
शरिफ परिवारले उक्त सम्झौता नभएको दाबी गर्दै आएको छ।
शमीका अनुसार नवाज शरिफ र अन्य नेताहरू विरुद्धको मुद्दामा पनि शहबाजमाथि लगाइएका कुनै पनि आरोप पुष्टि भएका थिएनन्।

तस्बिर स्रोत, Getty Images
"उनीहरू निर्वासनमा जान चाहँदैन थिए। उनीहरू देश बाहिर नजान सक्दो प्रयास गरे," शमी भन्छन्।
"त्यसपछि नवाज र शहबाज पन्जाबका गभर्नरको प्रयासमा साउदी अरबबाट लन्डन पुगे।"
फर्केर शक्तिमै
सात वर्षपछि सन् २००७ मा जब शरिफ परिवार पाकिस्तान फर्किएको त्यसको अर्को वर्ष आमनिर्वाचन भयो।
यो निर्वाचनमा शहबाजले भाग लिन पाएनन्। उनलाई सन् १९९८ मा लाहोरमा भएको एक घटनामा गैरकानुनी हत्याको आरोप लागेको थियो।
उनलाई सुरक्षा निकायका व्यक्तिहरूले मुख्यमन्त्रीको हैसियतमा गैरकानुनी हत्याका लागि आदेश दिएको आरोप लगाएका थिए।
सन् २००३ मा आतङ्कवाद विरुद्धको अदालतले उनी देशबाहिर रहेको समयमा सूचना जारी गरेको थियो।
सन् २००४ मा शहबाज अदालतमा उपस्थित हुन पाकिस्तान फर्कन प्रयास समेत गरेका थिए।
तर उनलाई विमानस्थलबाटै फर्काइएको थियो। उक्त समय अदालतमा उपस्थित नभएपछि अदालतले उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो।
शहबाजले उक्त आदेश पुनरावलोकनका लागि निवेदन दिएको दुई महिनाभित्रै अदालतले सफाइ दिएपछि उनको मुख्यमन्त्रीमा पुनर्बहाली भएको थियो।
सन् २०१३ को निर्वाचनमा उनको पार्टी विजयी भएपछि शहबाज पन्जाबको मुख्यमन्त्रीमा दोस्रो पटक निर्वाचित भए। अर्को निर्वाचनसँगै तेस्रो पटक मुख्यमन्त्रीको पदमा पुगे।
आफ्नो कार्यकालको एक दशकमा उने आफूलाई कठोर प्रशासक भएको पुष्टि गरे।
पूर्वाधार र विकास
शहबाजले शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै परियोजनाहरू मुख्यमन्त्रीको उनको कार्यकालमा पुरा गरेका छन्।
तर उनको विरासतसँग जोडिएका दुई वटा परियोजनाहरूको सुरुमा ठूलो आलोचना भएको थियो।

तस्बिर स्रोत, Getty Images
उनले लाहोरमा ट्राफिक जामको समस्या समाधानका लागि नगर बस सञ्चालनमा ल्याउने योजना अघि सारे।
तर तत्कालीन प्रतिपक्षी नेता इमरान खानले यो योजनालाई "जङ्गल बस" भनेर आलोचना गरे।
शहबाजले मध्यम आकारको रेल चलाउने योजनामा पनि आलोचना खेप्नुपर्यो।
विपक्षी पार्टीले उक्त परियोजना धेरै महँगो हुने भएकाले सरकारले अनुदान दिएर सञ्चालन गर्न कठिन हुने तर्क गरे।
आलोचनाबीच सुरु भएको यो परियोजना अहिले पनि सञ्चालनमै छ।
सत्ताको बागडोरमा
शहबाजले राजनीतिमा नवाजको पछिपछि दोस्रो भूमिका मात्रै निभाए। जब नवाज प्रधानमन्त्री बने शहबाज मुख्यमन्त्री बने।
शहबाज लोकप्रिय नभए पनि उनी कुशल व्यवस्थापक रहेको शमी बताउँछन्।
उनी अनावश्यक द्वन्द्वबाट टाढै रहन र पाकिस्तानमा सधैँ शक्तिमा रहने सैन्य संस्थापनसँग पनि सुमधुर सम्बन्ध राख्न सिपालु रहेको शमीको दाबी छ।
पत्रकार सलमान गनी राष्ट्रिय राजनीतिको माहौल पञ्जाबको भन्दा फरक हुने भएकाले शहबाजले धेरै चुनौती खेप्न सक्ने ठान्छन्।
"सजिलो नहोला तर शहबाज शरिफ ती चुनौतीहरूलाई सामना गर्न सक्षम छन्," उनले भने।









