शोएब अख्तर: पाकिस्तानी टिभीमा भएको चर्चित विवाद के हो?

सोएब र नोमान

तस्बिर स्रोत, Getty Images/Twitter

    • Author, अब्दुर रसिद सकुर
    • Role, बीबीसी उर्दू

पाकिस्तान टिभीले क्रिकेट खेलाडी शोएब अख्तर र खेल कार्यक्रम सञ्चालक नोमान नियाजसँग जोडिएको घटनाको अनुसन्धान पूरा नहुँदासम्म उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेको छ।

एक टिभी कार्यक्रममा उत्पन्न विवादलाई लिएर टेलिभिजन व्यवस्थापनले घटना स्पष्ट नहुँदासम्म उनीहरू दुवै पीटिभीको कार्यक्रममा सहभागी नहुने जनाएको छ।

पीटिभीको प्रेस विज्ञप्तिलाई रिट्विट गर्दै अख्तरले भने, "मैले २२ करोड पाकिस्तानी र संसारका अर्बौँको अगाडि राजीनामा दिएँ। के टिभी (का मानिसहरू) को दिमाग ठेगानमा छैन? उनीहरू को हुन् मलाई निलम्बन गर्ने?"

त्यसपछि पीटिभीले पुन: सामाजिक सञ्जालमै विज्ञप्ति निकालेर डा. नियाज र अक्तरले रोजगारीको कानुनी सम्झौता गरेको जनायो।

घटना के हो?

मङ्गलवार पीटिभी स्पोर्ट्समा प्रत्यक्ष प्रसारण भएको कार्यक्रममा नियाज र अख्तरबीच विवाद देखिएको थियो।

सामाजिक सञ्जालमा निकै चर्चित बनेको उक्त कार्यक्रमको भिडिओमा नियाजले अख्तरलाई यस्तो भनेको देखिन्छ, "तपाईँ निकै रूखो देखिनुभयो, निकै जान्ने हुन खोज्नुभयो, त्यसैले तपाईँ जान सक्नुहुन्छ। म यो कुरा कार्यक्रममै भनिरहेको छु।"

उक्त घटनाको दोस्रो भाइरल भिडिओमा अख्तरले ब्रेकबाट फर्किएपछि भनेको सुनिन्छ, "म पीटिभीबाट राजीनामा दिँदै छु।"

अख्तर त्यसपछि कार्यक्रम बीचमै छोडेर हिँडेको देखिन्छ।

त्यसपछि पीटिभीका प्रबन्ध निर्देशकको नेतृत्वमा एउटा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ।

अक्तर

तस्बिर स्रोत, Getty Images

त्यसपछि के भयो?

बिहीवार साँझ नोमानको क्रिकेट खेलअघिको कार्यक्रम प्रसारण भएन।

यद्यपि पीटिभीले खेलपछिको कार्यक्रम भने सञ्चालन गर्‍यो।

अस्ट्रेलिया र श्रीलङ्काबीचको खेलपछिको उक्त कार्यक्रममा इङ्गल्यान्डका डेभिड गावर र महिला क्रिकेटर साना मीरले सञ्चालन गरेका थिए।

अर्कोतर्फ बिहीवार राती नियाजले सङ्घीय सूचनामन्त्री फवाद चौधरी र पीटिभीका प्रबन्ध निर्देशकसँग चौधरीको घरमा भेटेको खबर आयो।

त्यसअघि बिहीवार नै अख्तरले आफूहरू मुछिएको अनुसन्धान गर्ने समितिसामु उपस्थित हुन अस्वीकार गरेका थिए।

उक्त समिति मन्त्री फवाद चौधरीको निर्देशनमा गठन गरिएको थियो।

सोएब अख्तर के भन्छन्?

सोएब

तस्बिर स्रोत, Twitter/@Shoaib100mph

अख्तरले बीबीसी उर्दूसँग कुरा गर्दै आफूलाई समितिमा बोलाइए पनि उक्त घटनाको पूरै विवरण भिडिओमा रहेकाले आफू नगएको बताए।

उनले उक्त भिडिओले सजिलै सत्य बताउने भएकाले उक्त घटनाको छिनोफानो गर्न सम्भव हुने बताए।

विशेष टिभी कार्यक्रम

पीटिभी स्पोर्ट्सले यतिखेर नियाजले सञ्चालन गरिरहेको टी२० विश्वकपको विशेष प्रसारण गरिरहेको छ।

उक्त कार्यक्रममा वेस्ट इन्डिजका सर विवियन रिचर्ड्स र इङ्गल्यान्डका डेभिड गावरबाहेक पाकिस्तानका अख्तर, रसिद लतिफ, अजहर महमुद, उमर गुल र साना मीर अतिथिका रूपमा छन्।

पाकिस्तान र न्यूजील्यान्ड बीचको खेलपछि उक्त कार्यक्रम नियाज र अख्तरबीच तीव्र गतिका बलर हरिस रफबारे चर्चा हुँदै गर्दा सो घटना भएको थियो।

पीटिभी छाड्ने बताएको अर्को भिडिओमा अख्तरले भनेका छन्, "राष्ट्रिय टिभीमा मप्रति जसरी व्यवहार गरिएको छ त्यसले म यहाँ बसिरहनुपर्छ जस्तो लाग्दैन। त्यसैले मैले राजीनामा दिँदै छु। धन्यवाद।"

विवाद र चर्चा

अख्तर ट्विटरमा निकै सक्रिय छन्। उनले उक्त घटनापछि एउटा भिडिओ सार्वजनिक गरेका छन्।

जसमा सामाजिक सञ्जालमा धेरै भिडिओ चर्चाहरू भएकाले आफूले त्यसको व्याख्या गर्नु आवश्यक ठानेको उनले बताएका छन्।

उनले नियाजको व्यवहार अभद्र रहेको बताएका छन्।

उनले सो विषयलाई एउटा ठट्टा भनेर सुल्झाउन सकिन्थ्यो भनेका आफूले सोचेको बताएका छन्।

"मैले नियाजलाई मसँग माफी माग्न समेत भनेँ तर जब उनले मानेनन् मैले कार्यक्रम छाड्नुपर्छ भन्ने सोचेँ।"

"मैले कार्यक्रमकै बीचमा उक्त विषयसँग कसरी जुझ्ने भन्नेबारे सोचिरहेँ तर उनले मलाई अपमान गरे।"

"कार्यक्रममा उपस्थित विदेशी क्रिकेट खेलाडीहरूले तपाईँको राष्ट्रिय खेलाडीमा जे भइरह्यो त्यसबारे के सोचे होलान्?"

'एकतर्फी कुरा': नियाज

नियाजलाई बीबीसी उर्दूले सम्पर्क गर्दा उनले आफूले भन्नुपर्ने सबै कुरा ट्वीटमा भनिसकेको बताए।

उनले लेखेका छन्, "अख्तर र म सँगसँगै हुर्किएका हौँ र अहिले सामाजिक सञ्जालमा जे आइरहेको छ त्यो एकतर्फी कुरा हो जसले स्वाभाविक रूपमा सबैलाई आकर्षित गर्छ।"

अन्त्यहीन प्रतिक्रियाको क्रम सामाजिक सञ्जालमा जारी छ।

तर त्यसलाई केलाउने हो भने धेरैजसो अख्तरको पक्षमा उभिँदा नियाजविरुद्ध उत्रिएका देखिन्छन्।

सर्वसाधारणहरू मात्र नभएर केही मन्त्री र सरकारी अधिकारीहरू समेत अख्तरलाई राष्ट्रनायक भन्दै उक्त विषय आफ्नो ध्यानमा रहेको बताएका छन्।