विराट कोहलीः टी२० विश्वकपपछि भारतीय राष्ट्रिय क्रिकेट टोलीको कप्तानी छोड्ने घोषणा, कारण के हो?

कोहली

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: २ मिनेट

पुरुष टी२० विश्वकपपछि विराट कोहलीले आगामी नोभेम्बरमा भारतको ट्वेन्टी-ट्वेन्टी क्रिकेट टोलीको कप्तानी छोड्ने घोषणा गरेका छन्।

तर उनले एकदिवसीय र टेस्ट खेलका लागि भारतीय राष्ट्रिय टोलीको नेतृत्व गरिरहनेछन्।

सामाजिक सञ्जालमा लेख्दै कोहलीले आफूले एकदिवसीय, वनडे, र टेस्ट खेलमा ध्यान केन्द्रित गर्न चाहेको जनाएका छन्।

आफूलाई भारतीय टोलीको प्रतिनिधित्व गर्ने सौभाग्य मात्र प्राप्त भएको हैन अधिकतम योग्यतासहित आफूले टोलीको नेतृत्व गरेको भन्दै कोहलीले भारतीय टोलीको कप्तानीको यात्रामा आफूलाई समर्थन गर्ने सबै जनालाई धन्यवाद दिएका छन्।

"म उनीहरूबिना यो पूरा गर्न सक्दिनथेँ - मेरा खेलाडी साथी, सहायता कर्मचारी, चयन समिति, मेरा प्रशिक्षक तथा सबै भारतीय जसले हाम्रो जितका लागि प्रार्थना गरे," उनले भनेका छन्।

आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा टी२० वर्ल्ड कप आयोजना हुँदैछ।

नेतृत्वमा कोहली

विराट कोहली अहिले ३२ वर्षका भए।

उनले भारतका लागि ९० वटा टी२० खेलेर ३,१५९ रन बनाएका छन्। उनी अझै टी२० मा खेलाडीका रूपमा सहभागी हुनेछन्।

टेस्ट टोलीको नेतृत्व गर्न थालेको तीन वर्षपछि कोहलीले सन् २०१७ मा सीमित ओभरको खेलको कप्तानी गर्न पाए।

महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले सन् २०१६ को टी२० विश्वकप खेलेको थियो।

त्यसमा कोहली शृङ्खलाका उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए।

कोहली

तस्बिर स्रोत, Getty Images

कप्तानी छोड्नुको कारण

कोहलीले लामो समयसम्म आफूले टोलीको प्रतिनिधित्व र नेतृत्व गरेको अनि आफ्ना लागि कामको चाप धेरै भएको उल्लेख गरेका छन्।

कामको चाप बुझ्नु एकदमै महत्त्वपूर्ण हुन्छ भन्दै उनले आफूले विगत आठ-नौ वर्ष निरन्तर तीनवटै फर्म्याटमा खेलेको अनि पाँच-छ वर्षदेखि निरन्तर कप्तानी गरेको जनाएका छन्।

अब भारतीय टोलीको टेस्ट र वनडे फर्म्याटको नेतृत्व गर्न पूरा ध्यान दिने इच्छा उनले व्यक्त गरेका छन्।

"टी२० को कप्तानका रूपमा मैले टोलीलाई सबै कुरा दिएँ जे म दिन सक्थेँ अनि ब्याट्सम्यानका रूपमा अब पनि दिइरहन्छु।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

ईएसपीएनका अनुसार कप्तानका रूपमा टी२० खेलमा कोहलीको तथ्याङ्क यस्तो छः

  • कुल खेलः ४५
  • जितः २७
  • हारः १४
  • बराबरः २
  • बिनापरिणामः २

टेस्ट खेल अन्योलमा

भर्खरै आयोजित टेस्ट शृङ्खलाको फाइनल खेल स्थगित हुनुअघि भारतले इङ्ग्ल्याडसँग २-१ को अग्रता लिएको थियो।

केही कर्मचारीमा कोभिड पुष्टि भएपछि पाँचौँ खेल स्थगित गरिएको थियो।

भारतका प्रमुख प्रशिक्षक रवि शास्त्रीमा कोरोनाभाइरस देखिएकाले अन्य तीन कर्मचारीले एकान्तवासमा बस्नुपरेको थियो।

कोभिड अझ फैलिन सक्ने चिन्ता व्यक्त गर्दै भारतले खेलका लागि टोली पठाउन नसक्ने बताएको थियो।

बाँकी टेस्ट खेल अब के गर्ने भन्ने अझै निर्क्योल भइसकेको छैन।

दुई टोलीबीच स्थगित खेल आगामी वर्ष ग्रीष्मयाममा हुन सक्ने इङ्ग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डका प्रमुख टम ह्यारिसनले बताएका छन्।

तर उनले फेरि सञ्चालन हुन लागेको इन्डियन प्रीमीअर लीग (आईपीएल) का कारण खेल स्थगित नगरिएको दाबी गरेका छन्।

आईपीएल अब यूएईमा

आइतवार आईपीएलका खेलहरू फेरि सुरु हुँदा कोहलीले रोयल च्यालेन्जर्स बेङ्ग्लोरको नेतृत्व गर्नेछन्।

भारतमा कोभिड महामारी व्यापक रूपमा फैलिएकाले गत मे महिनामा आईपीएलका खेलहरू स्थगित भएका थिए।

अहिले मनसुनका कारण आईपीएल भारतबाट यूएईमा सारिएको हो।

उक्त प्रतियोगितामा अझ ३१ वटा खेल हुन बाँकी छन्।

आईपीएलको फाइनल खेल अक्टोबरमा १५ मा हुनेछ।