पाकिस्तान: शहबाज शरिफ बने देशका २३औँ प्रधानमन्त्री

तस्बिर स्रोत, Reuters
पाकिस्तानमा शहबाज शरिफ देशका २३औँ प्रधानमन्त्री निर्वाचित भएका छन्।
उनले तल्लो सदन न्याश्नल असेम्ब्लीमा १७४ मत पाएका थिए भने पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का उम्मेदवार शाह महमुद कुरेशीले एक मत समेत पाएनन्।
त्यसअघि इमरान खान सहित पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन न्याश्नल असेम्ब्लीमा राजीनामा घोषणा गरेका थिए।
शहबाज शरिफबारे हामीलाई के थाहा छ?
सकुन्दर करमानी, पाकिस्तान संवाददाता
सन् २०१८ मा इमरान खान सत्तामा आउनुअघि ७० वर्षीय शरिफले पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त पञ्जाबको मुख्यमन्त्रीका रूपमा काम गरिसकेका छन्।
पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएलएन)को नेतृत्व गर्ने उनले प्रभावकारी र मिहिनेतसाथ काम गर्ने व्यक्तिको रूपमा ख्याति कमाएका छन्।
उनलाई पूर्वाधारमा उल्लेख्य सुधार गरेको श्रेय समेत दिइन्छ।
धेरैले शरिफपछि मुख्यमन्त्री बनेका उस्मान बुज्दारप्रति निराशा पोख्दै उनको तुलना गर्छन् जसको व्यापक रूपमा कम योग्य र अक्षम भनेर आलोचना हुने गरेको पाइन्छ।

तस्बिर स्रोत, EPA
बुज्दारलाई विस्थापित गर्न अस्वीकार गर्नुलाई कयौँ विश्लेषकहरूले इमरान खान र उनलाई यसअघि सघाएको पाकिस्तानी सेनाबिच दरार उत्पन्न हुनुको एउटा कारण बताइन्छ।
शहबाज शरिफ सँधै आफ्ना दाजु नवाज शरिफको छायामा रहे जो तीन पटक पाकिस्तानको प्रधानमन्त्री भएका थिए।
जबकी नवाज शरिफले सत्ताबाट आफूलाई हटाइएपछि खुला रूपमै सेनाको आलोचना गरेका थिए। शहबाज शरिफले चाहीँ 'संस्थापन'सँग मेलमिलापको पक्ष लिएका थिए।
आफ्ना दाजुझैँ शहबाजले समेत भ्रष्टाचारको आरोप खेपेका छन् र खानको कार्यकालमा केही समय जेलमा बिताएका थिए।
उनीमाथिको आरोप प्रमाणित भएको छैन र उनले त्यसलाई राजनीतिक मनसायबाट प्रेरित बताउँदै आएका छन्।
शहबाजका छोरा हम्जाले आफ्ना बुवाको पदचाप पछ्याउँदै पञ्जाबको नयाँ मुख्यमन्त्री बन्ने आशा राखेका छन्।
इमरान खानका समर्थकहरूले शरिफको परिवारलाई वंश परम्पराको अंश, "पुरानो पाकिस्तान" बताउँदै त्यसलाई आफूहरूले इतिहास बनाउन चाहेको भनेका थिए।








