पाकिस्तान: इमरान खानको सरकार ढल्यो, नयाँ प्रधानमन्त्रीको चयन सोमवार

पाकिस्तान

तस्बिर स्रोत, Getty Images

पाकिस्तानका प्रधानमन्त्री इमरान खान संसद्‌मा विश्वासको मत प्राप्त गर्न विफल भएपछि सत्ताबाट बाहिरिएका छन्।

सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतवार मध्यरातपछि मतदान गरिएको थियो।

खानले आफूले विपक्षीहरूको सरकारलाई मान्यता नदिने बताउँदै प्रमाण नदेखाई आफूलाई पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षडयन्त्र भएको दाबी गरेका छन्।

पाकिस्तानको संसद्ले सोमवार नयाँ प्रधानमन्त्री चयन गर्नेछ।

राजनीतिक घटनाक्रम

नयाँ प्रधानमन्त्रीले अर्को चुनावको मिति अर्थात् सन् २०२३ को अक्टोबरसम्म सत्ता सम्हाल्नेछन्।

सत्तारुढ दलका सदस्य वा सभामुख नरहेको अवस्थामा न्याश्नल एसेम्ब्लीको बैठक सञ्चालन गर्ने जिम्मा पाएका आयाज सादिकले आइतवार ११ बजेभित्र उम्मेदवारी दर्ता गरिनुपर्ने बताएका छन्।

खान अविश्वासको प्रस्तावबाट सत्ताबाट हटाइएका पहिलो पाकिस्तानी प्रधानमन्त्री हुन्।

बिहीवार सर्वोच्च अदालतले ६९ वर्षका खानले अविश्वासको प्रस्तावलाई अवरुद्ध तुल्याउँदै असंवैधानिक ढङ्गले संसद् विघटन गरेको ठहर गरेको थियो।

खानको सो कदमले कैयौँ विपक्षी दलका सदस्यहरूलाई आक्रोशित तुल्याएको थियो र कतिपयले प्रधानमन्त्रीले राजद्रोह गरेको आरोप लगाएका थिए।

विपक्षी सांसद

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, परिणाम घोषणा भएपछि विपक्षी सांसदहरूले खुसी मनाएका थिए

मतदान सुरु हुनुभन्दा केही मिनेटअघि प्रधानमन्त्री खानका समर्थक रहेका संसद्को तल्लो सदनका सभामुखले पदबाट राजीनामा दिएका थिए।

खानको दल पीटीआईका सदस्यहरूले प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय षडयन्त्रको सिकार बनाइएको भन्दै संसद् भवन छाडेका थिए।

३४२ सदस्यीय संसद्‌मा विपक्षी दलहरूले अविश्वासको प्रस्तावको पक्षमा १७४ मत जुटाएका थिए।

कसले के भने?

एउटा ट्वीटमा विपक्षी नेता सहवाज सरिफले पाकिस्तान र उसको संसद्ले 'अन्ततः गम्भीर सङ्कटबाट उन्मुक्ति' पाएको बताए।

उनले थपे, "पाकिस्तानी राष्ट्रलाई एउटा नयाँ बिहानीको लागि बधाई।"

पाकिस्तान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुसद्वारा युक्रेनमाथि गरिएको आक्रमणलाई लिएर पाकिस्तानको सेना र प्रधानमन्त्री खानबीच मत बाझिएको बताइन्छ

यसैबीच पीटीईका सांसद फैजल जाभेद खानले प्रधानमन्त्री "कसैसँग नझुकी सम्मानित रूपमा" सरकारी निवासबाट बाहिरिएको बताए।

उनले खानले "पुरै देशको कद उँचो पारेको" प्रतिक्रिया दिए।

पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रका समस्या सम्बोधन गर्ने सहितका प्रतिबद्धता जनाउँदै सन् २०१८ मा प्रधानमन्त्री चुनिएका थिए।

तर पाकिस्तान आर्थिक सङ्कटमा घेरिएको छ र ती प्रतिबद्धताहरू कार्यान्वयन गरिएका छैन।

कसरी गुम्यो सत्ता

मार्चको अन्त्यमा पार्टी परित्यागका शृङ्खला सुरु भएपछि उनले बहुमत गुमाएका थिए र आफ्नो राजनीतिक भविष्य जोगाउन सङ्घर्षरत थिए।

बीबीसीका सेकुन्दर केरमानी भन्छन् खान पाकिस्तानी सेनाको मद्दतले सत्तामा आएको ठानिएको थियो। तर अहिले विश्लेषकहरूले त्यो सहकार्य टुटेको बताइरहेका छन्।

प्रधानमन्त्री खानले बारम्बार विपक्षी दलहरूले विदेशी शक्तिसँग मिलेर काम गरिरहेको बताएका छन्।

उनले रुस र चीनविरुद्ध वासिङ्टनसँग नउभिएका कारण आफू अमेरिकी नेतृत्वको षडयन्त्रको सिकार बनाइएको दाबी गर्दै आएका छन्।

अमेरिकाले यी आरोपहरूमा 'सत्यता नरहेको' बताउँदै आएको छ र खानले कुनै ठोस प्रमाण प्रस्तुत गरेका छन्।

पाकिस्तान

तस्बिर स्रोत, Getty Images

रुसले युक्रेनमाथि आक्रमण थालेको समयमा खान राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मस्को गएका थिए।

उनले विगतमा बुस प्रशासनको 'आतङ्कवाद विरुद्धको लडाइँ'को पनि आलोचना गरेका थिए।

सर्वोच्च अदालतको हस्तक्षेप

गएको आइतवार नै खानलाई सत्ताबाट हटाउनका लागि अविश्वासको प्रस्ताव विपक्षी सांसदहरूले दर्ता गराएका थिए।

तर खानकै राजनीतिक दलका सदस्य रहेका संसद्का उपसभामुख कासीम सुरीले त्यसमा 'वैदेशिक हस्तक्षेप' देखिएको भन्दै मतदान प्रक्रियालाई वञ्चित गरेका थिए।

सुरीले उक्त प्रस्ताव राज्यप्रति वफादार रहनुपर्ने भनी पाकिस्तानको संविधानमा उल्लेख गरिएको प्रावधानको विपरीत रहेको पनि बताएका थिए।

त्यसपछि खानको सरकारले संसद् विघटन गर्ने निर्णय गर्दै मध्यावधि चुनावको घोषणा गरेको थियो। त्यसले कैयौँ विपक्षी सांसदहरूलाई आक्रोशित तुल्याएको थियो।

उनीहरूले उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले मतदान प्रक्रिया रोक्ने खानको निर्णय असंवैधानिक रहेको ठहर गर्दै अविश्वासको प्रस्तावमाथिको मतदान अघि बढाइनुपर्ने फैसला गरेको थियो।

तर मतदानलाई लिएर शनिवार पनि गतिरोध जारी रह्यो। जसका कारण खानका साझेदार रहेका सभामुख असद कैसरले राजीनामा दिनुपरेको थियो।