पाकिस्तानः इमरान खानले अविश्वासको प्रस्तावको सामना गर्नै पर्ने अदालतको फैसला

इमरान खान

तस्बिर स्रोत, Getty Images

पाकिस्तानमा देशको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खान विरुद्ध प्रस्तुत अविश्वासको प्रस्तावमा मतदान रोक्ने कदम गैरसंवैधानिक ठहर गरेपछि यो सप्ताहान्तमा उनी पदच्युत हुन सक्ने सम्भावना देखिएको छ।

गत आइतबार प्रधानमन्त्री खानको सत्ताधारी पार्टीले संसदमा उनी विरुद्ध पारित हुने ठानिएको अविश्वास प्रस्तावमाथिको मतदान रोकिदिएको थियो।

त्यसपछि उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेको थियो।

‍आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्‌मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए।

अदालतले बिहीबार अबेर गरेको फैसलामा उनी विरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथिको मतदान अघि बढाउनुपर्ने बताएको थियो।

त्यस्तो फैसलाप्रति प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री खानले "राष्ट्र समक्ष मैले सधैँ पाकिस्तानको लागि लडेको छु र अन्तिम अवस्थासम्म लड्नेछु भन्न चाहन्छु," भन्दै सामाजिक सञ्जालको एक वेबसाइट ट्विटरमा लेखेका छन्।

अदालतको निर्णयमाथि कस्तो प्रतिक्रिया?

निर्णयको खबरसँगै बिहीबार राति अदालतबाहिर जम्मा भएका दर्जनौँ विपक्षी नेताहरूले हर्षोल्लास व्यक्त गरेका थिए।

विपक्षी दलका नेता शहबाज शरिफले स्थानीय समाचार संस्थाहरूलाई अदालतले "निश्चित रूपमा जनअपेक्षा पूरा गरेको" बताए।

तर खानका आक्रोशित समर्थकहरूले अमेरिका विरोधी नाराबाजी गरेका थिए। ति दुवै पक्षलाई दङ्गा प्रहरीले एक अर्काबाट अलग राखेका थिए।

अब सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा मतदान अघि बढाउन शनिबार संसद्‌को बैठक बस्न आदेश जारी गरेको छ, जुन मतदान खानविरुद्ध जानसक्ने अनुमान गरिएको छ।

खानले त्यस्तो परिणाम आउन नदिने के कस्ता विकल्पको प्रयोग गर्लान् भन्ने स्पष्ट छैन। यद्यपि, उनी र उनका सांसदहरूले सामुहिक राजीनामा दिएर लज्जाजनक हारको अवस्था टार्न सक्ने बीबीसी उर्दूका संवाददाता अविद् हुसेनले बताएका छन्।

उनका अनुसार खान विरुद्ध आएको अदालतको सर्वसम्मत फैसलाबाट हौसिएको सङ्गठित प्रतिपक्षले यसलाई पाकिस्तानको प्रजातन्त्रको जीत भएको घोषणा गरेका छन्। तर, चर्चा अनुसार उनीहरूलाई देशको शक्तिशाली सेनाको मौन समर्थन प्राप्त छ।

प्रतिपक्षी नेताहरूको खुशी।

तस्बिर स्रोत, Getty Images