पकिस्तानी सेना चुनावसँग 'भयभीत' भएको इमरान खानको आरोप

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले 'बीबीसी हार्ड टक'लाई दिएको अन्तर्वार्तामा आफ्नो देशको सेना यसै वर्षको अन्त्यमा हुने निर्वाचनसँग "भयभीत भएको" बताएका छन्।
उनले "फासीवादीहरूले देशलाई अँध्यारो युगतर्फ" धकेलिरहेको बताए।
सन् २०१८ मा प्रधानमन्त्री बनेका खानले चार वर्षभन्दा कम समय शासन गरेका थिए।
गत वर्ष संसद् प्रस्तुत अविश्वासको प्रस्तावमा बहुमत सिद्ध गर्न नसकेपछि उनको बहिर्गमन भएको थियो।
पर्यवेक्षकहरूले देशको शक्तिशाली सेनाको समर्थन गुमाउनु उनको सत्ता ढल्नुको प्रमुख कारण रहेको बताउने गरेका छन्।
इमरान खानले किन यस्तो भने?
पाकिस्तानको सत्तामा दशकौँदेखो देशको सेनाको दह्रो पकड रहेको छ।
खानले उनको पाकिस्तान तारिक-इ-इन्साफ (पीटीआई) दल "सैन्य तानाशाहहरूले गठन नगरेको एकमात्र दल" भएको बताउने गरेका छन्। त्यही भएर आफ्नो दललाई विघटन गराउने अभियान चलिरहेको आरोप उनले लगाएका छन्।
तर धेरै आलोचकहरूले सत्तामा आउने क्रममा उनले सेनाको समर्थन प्राप्त गरेको टिप्पणी गर्ने गरेका छन्।
पछिल्ला महिनाहरूमा उक्त दल छाड्नेहरूको सङ्ख्या उल्लेख्य देखिएको छ भने कैयौँ प्रभावशाली सदस्यहरू पक्राउ परेका छन्।
तर खानले आफ्नो दल एकताबद्ध रहेको दाबी गरेका छन्।

तस्बिर स्रोत, EPA
बीबीसीका स्टीभन साकरसँगको अन्तर्वार्तामा उनले भने, “संस्थापन खुल्लमखुल्ला हामीविरुद्ध गइरहँदा, हामीलाई विघटन गर्ने प्रयास गरिरहँदा र हामी सरकारबाट बाहिर भएको अवस्थामा कसरी हामीले उपनिर्वाचनमा ३७ मध्ये ३० निर्वाचन क्षेत्रमा जित्यौँ?”
उनले सत्ताबाट हटाइएपछि आफ्नो दल कमजोर हुने अपेक्षा संस्थापन पक्षले गरेको बताए।
“सामान्यतया केही समय तपाईँ सत्ताबाट बाहिर हुनुभयो भने यस्तो हुन्छ। तर के भयो भने हाम्रो दलको लोकप्रियता बढिरह्यो।”
“उनीहरूले सबै प्रयास गरेका छन्। उनीहरूले १०,००० मानिसलाई जेल हालेका छन् जसमा महिला र शान्तिपूर्वक प्रदर्शन गर्नेहरू पनि छन्। अनि सबैभन्दा खराब कुरा के भने उनीहरूले यातना दिएका छन्,” खानले भने।
उनका अनुसार विपक्षीहरूले दाबी गरेको जस्तै यदि उनको "समाप्त भएको भए" सरकारले चुनावको मिति घोषणा गरिसक्थ्यो।
खानका समर्थकहरूले उनलाई "भ्रष्टाचारबाट मुक्त एक राजनीतिक बाहिरिया" का रूपमा लिने गर्छन्। उनीहरूले सेनाले खानबाट पदबाट हटाउने षड्यन्त्र गरेको आरोप लगाउने गरेका छन्।
तर सेनाले उक्त आरोप अस्वीकार गर्दै आएको छ।


पाकिस्तान कुन दिशामा जाँदै छ?
उनको लोकप्रियता गत मे महिनामा अदालतबाहिरबाट उनलाई पक्राउ गरिएपछि देखिएको थियो। त्यसले देशव्यापी प्रदर्शनहरू निम्त्याएको थियो।
उनका हजारौँ समर्थकहरूले सडकमा प्रदर्शन गर्ने क्रममा देशभरि सेनाको स्वामित्वमा रहेका भवनहरूमा आक्रमण र कतिपयमा आगजनी गरेका थिए। उनको पार्टीका कतिपय सदस्यसहित धेरैले खानले सीमा नाघेको र हिंसालाई प्रोत्साहन गरेको आरोप लगाएका छन्।
तर अन्तर्राष्ट्रिय क्रिकेट स्टारको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका खानले ती आगजनीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्। उनले ती घटनाहरूबारे अलग्गै छानबिन गर्नुपर्ने माग गरेका छन्।
“तपाईँलाई के लाग्छ सेना - कमान्डरले मलाई नियन्त्रणमा लिइरहेको देखेपछि समर्थकहरूले के गर्लान्? के त्यसको कारण प्रदर्शन हुन्नथ्यो त?” उनले भने।
खानले प्रहरी अधिकारीको सट्टामा आफूलाई गिरफ्तार गर्न फौज पठाएर सेनाले हिंसालाई प्रोत्साहन दिएको बताए।
लाहोरस्थित आफ्नो दुईतले आवासबाट बीबीसीसँग कुरा गर्दै उनले आफूलाई सुधारवादी नेताका रूपमा प्रस्तुत गरेका थिए। “देश एउटा ठूलो सङ्कटको डिलमा छ। म कस्तो महसुस गर्छु भने हामी अँध्यारो युगतर्फ अघि बढिरहेका छौँ।”
“पाकिस्तानको एउटै समाधान भनेको स्वतन्त्र र निष्पक्ष निर्वाचन हो। यो भद्रगोलबाट बाहिर निस्किने त्यो एउटै उपाय हो।”
हालैका महिनाहरूमा पाकिस्तानको संसद्मा कैयौँ कानुनहरूबारे छलफल भइरहेको छ। तिनको उद्देश्य खान र उनको दललाई चुनाव लड्न पूर्णतः रोक्नु या अप्ठ्यारो पार्नु रहेको आलोचकहरू बताउँछन्।
एउटा विधेयकले सैनिक गुप्तचर अधिकारीको पहिचान सार्वजनिक गरिदिएकोमा अभियोगमा दोषी ठहर हुने कुनै पनि व्यक्तिलाई तीन वर्ष जेल सजाय सिफारिस गरिएको छ।
खानले सेना र गुप्तचर अधिकारीहरूको चर्को आलोचना गरिरहँदा त्यस्तो कानुन प्रस्ताव अघि बढाइएको थियो। आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै वरिष्ठ गुप्तचर अधिकारीहरूको नाम सार्वजनिक रूपमा किटान गर्ने उनी पहिलो राजनीतिज्ञ हुन्।
“दुर्भाग्य, देशलाई फासीवादीहरूले नियन्त्रणमा लिएका छन् र उनीहरू चुनावबाट तर्सिरहेका छन्। मैले दुःख पाउनुको कारण के हो भने उनीहरूलाई थाहा छ कि हामी सहजै जित्छौँ। अनि त्यही भएर उनीहरूले प्रजातन्त्रलाई प्रहार गरिरहेका छन्।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




