इमरान खान कसरी पाकिस्तानी सेनाको 'रक्षक ' बाट 'शत्रु' बने

इमरान खान

तस्बिर स्रोत, Getty Images

सेना र सरकारबीच निरन्तर द्वन्द्व

धेरै वर्षदेखि पाकिस्तानको सैन्य संस्थापनले इमरान खानलाई देशको 'रक्षक' मानेको थियो। तर लेखक तथा पत्रकार मोहम्मद हनीफका अनुसार सरकारको नेतृत्वबाट बाहिरिएको एक वर्षमै उनले सेनाका लागि अपराजेय चुनौती बन्ने छाँट देखाएका छन् र पाकिस्तानी सेनाले इमरान खानको क्रोधबाट आफूलाई जोगाउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ।

इमरान खान र उनको पार्टीले देशव्यापी दमन खेपिरहँदा पाकिस्तान ठप्पजस्तै भएको छ।

चर्को महँगीबाट आक्रान्त पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा गर्मी याम चलिरहेको छ। देशको सम्पूर्ण ध्यान अब इमरान खानले के गर्लान् र उनलाई दबाउन सैन्य संस्थापनले के गर्न सक्छ भन्नेमा देखिन्छ।

एक वर्षभन्दा अघि उनलाई सत्ताबाट हटाइएपछि उनका समर्थकहरूले खानलाई पक्राउ गरियो भने देशमा "आगो बाल्ने" चेतावनी दिएका थिए। धेरै पटकको असफल प्रयासपछि अर्धसैनिक बलको एउटा समूहले मे ९ मा उनलाई पक्राउ गर्‍यो।

खान पक्राउ पर्दा देशमा डढेलो चाहिँ फैलिएन तर उनका समर्थकहरूले सैनिक शिविरहरूमा धावा बोले।

पाकिस्तानका सम्भवतः सबैभन्दा सुरक्षित ठानिएको जेनरल हेडक्वार्टर्स भनिने सैन्य मुख्यालय क्षेत्रमा मानिसहरू प्रवेश गरे र सैनिक लोगो भएका साइनबोर्डहरू कुल्चिए।

लाहोरमा एक सैनिक जेनरलको घरमा घुसपैठ भयो।

खानका समर्थकहरूले ती वरिष्ठ सैन्य अधिकारीको घरमा भएका काठका सामान र कारमा आगो लगाएको भिडिओ बनाए। एक प्रदर्शनकारी ती जेनरलको पोसाक लगाएर बाहिरिए भने अर्का एक जनाले उनको घरमा पालिएको मयूर लिएर हिँडे।

यसमा 'क्रान्ति' का सबै सङ्केत भए पनि यो वास्तवमा क्रान्ति नै चाहिँ थिएन। पहिला सेनाको सद्भाव पाएका इमरान खान पछि उसैबाट परित्यक्त भए। उनका समर्थकहरू त्यति बेला त्यसको प्रतिशोध लिन खोज्दै थिए।

तसर्थ त्यो क्रान्तिभन्दा पनि पहिला प्रेममा परेका दुई पक्षबीचको झगडा थियो।

दङ्गा

तस्बिर स्रोत, Reuters

पाकिस्तानमा प्रायः सबैजसो प्रधानमन्त्रीको सेनासँग विवाद हुनु परम्पराजस्तै बनिसकेको छ।

देशका पहिलो निर्वाचित प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसी दिइयो। उनकी छोरी बेनजिर भुट्टोलाई दुई पटक प्रधानमन्त्रीबाट हटाइयो। एक आत्मघाती बम आक्रमणमा उनको ज्यान गयो। तर त्यस घटनाबारे कहिल्यै पूर्ण अनुसन्धान भएन।

नवाज शरीफ पनि प्रधानमन्त्रीबाट अपदस्थ भए, जेल र अन्ततः निर्वासनमा गए। अहिले पनि उनी निर्वासनमा छन्। उनले आफ्ना भाइ शहबाज शरीफलाई अघि सारेर नेपथ्यबाट शासन चलाइरहेका छन्। यद्यपि उनी देश फर्किन सकिरहेका छैनन्।

इमरान खान पक्राउ परेपछि उनका समर्थकहरूले मूलधारका राजनीतिक शक्तिहरूले अहिलेसम्म गर्न नसकेको काम गरे। उनीहरू सडक प्रदर्शनमा ओर्लिएनन्। बरु सैनिक शिविरहरूमा प्रवेश गरे अनि पाकिस्तानी जनतालाई त्यहाँका सैनिक जेनरलहरू कसरी बसिरहेका छन् भनेर देखाए - ठूलो बङ्गला, पौडीपोखरी र मयूरहरू डुल्ने ठूला घाँसेमैदान भएको परिसर।

आफूलाई पक्राउ गर्नुअघि खानले पाकिस्तानका सेना प्रमुख जेनरल आसिम मुनीरप्रति लक्षित गर्दै आफ्नो राजनीतिक पार्टीलाई समाप्त गर्न खोजेको आरोप लगाएका थिए।

त्यसअघि खानलाई सत्तामा ल्याउन र टिकाउन महत्त्वपूर्ण भूमिका खेलेका सेनाका पूर्वप्रमुख जेनरल बाजवालाई "देशद्रोही" को सङ्ज्ञा दिएका थिए।

बाजवाले आफ्नो हत्या गर्ने असफल प्रयास गरेको भन्दै खानले पाकिस्तानको गुप्तचर निकायका एक जेनरलको पनि नाम लिए।

खानका समर्थकहरूले प्रदर्शनहरूका क्रममा ती जेनरलको नाम लिँदै उनलाई "डर्टी ह्यारी"को सङ्ज्ञा दिए।

फेरि खानले जित्ने प्रक्षेपण

पाकिस्तानका धेरै राजनीतिज्ञहरूले विगतमा पनि त्यहाँको सेनाको आलोचना गरेका थिए, तर एक संस्थाको रूपमा। पाकिस्तानीहरूले सेनाका उच्च अधिकारीहरूको घरमा आगो लगाइएको देखेका थिएनन्।

उनीहरूले महिला प्रदर्शनकारीहरूले सैन्य मुख्यालयको द्वार हल्लाउँदै र सजाएर राखिएका सैनिकका प्रतिमाहरू ढाल्दै गरेको पनि देखेका थिएनन्।

खानको विपक्षमा रहेका झन्डै सबै राजनीतिक दलहरू मिलेर बनेको गठबन्धन सरकारले यसको प्रतिरोध गर्नु थियो।

धेरै जनमत सर्वेक्षणहरूले निर्वाचनमा पुनः खानले जित्ने प्रक्षेपण गरेका छन्। त्यसैले सरकार निर्वाचन नगराउने प्रयासमा छ।

अहिले सरकारसमर्थित धेरै राजनीतिज्ञहरूले खानको पाकिस्तान तहरीक ए इन्साफ नामको पार्टीमाथि सीधै प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन्। उक्त नामको अर्थ हुन्छ 'न्यायका लागि आन्दोलन'।

सेनाको विरोध गर्नेहरू समस्यामा

पाकिस्तानको विगत हेर्दा सेनाको विरोध गर्ने नेताहरूसँग तत्कालै प्रतिशोध लिइएको देखिन्छ।

तालिबानप्रति पाकिस्तानी सेनाको सहानुभूतिको विरोध गरेका निर्वाचित सांसद् अली वाजीरलाई दुई वर्ष जेल हालियो। त्यसपछि पनि उनलाई राष्ट्रिय सभामा भाग लिनबाट रोकियो।

बलोचिस्तान प्रान्तका हजारौँ राजनीतिक कार्यकर्ताहरू जबरजस्ती बेपत्ता बनाइएका छन् र पाकिस्तानको अदालत तथा मूलधारका राजनीतिक दलहरूले उनीहरूको पीडाबारे चासो दिएका छैनन्।

त्यसो भए दर्जन अभियोग खेपिरहेका इमरान खान कसरी खुल्ला हिँडडुल गरिरहेका छन् त?

पाकिस्तान

तस्बिर स्रोत, EPA

उनले त्यहाँको सैनिक संस्थापनलाई नै ध्रुवीकृत गरिदिएको छन् भन्ने बुझाइ पनि कसैकसैमा छ।

कतिपय अधिकारी र उनीहरूका परिवार नै इमरान खानप्रति मोहित देखिएका छन्। न्यायालयले उनलाई धरौटीमा छोड्ने अवधि लम्ब्याइरहेको छ। एक दिन हिरासतमा बिताएपछि खानलाई पाकिस्तानका प्रधान न्यायाधीशले अदालतमा बोलाए र भनेः “तपाईँलाईलाई देख्दा खुसी लाग्यो"।

उनले खानलाई राज्यको अतिथिगृहमा राख्न आदेश दिए र त्यसको भोलिपल्ट अर्का न्यायाधीशले उनलाई रिहा गर्न आदेश दिए।

पाकिस्तानमा राजनीतिक नेता र पार्टीहरूलाई घृणा गरिने निर्वाचन क्षेत्रमा इमरान खानले ठूलो जित हासिल गरे। स्वच्छ शासन र न्यायको उनको नारा लोकप्रिय बन्यो तर उनी सरकारमा हुँदा भ्रष्ट्राचार घट्नुको सट्टा अझै बढ्यो।

उनले पनि आफ्ना धेरै राजनीतिक विरोधीहरूलाई जेल हाले।

के खान सेनाविरोधी हुन्

इमरान खान

तस्बिर स्रोत, Getty Images

उनलाई सरकारबाट हटाइएपछि उनका समर्थकहरू उद्वेलित बनेका छन्। खानका अधिकांश समर्थकहरू महिला र युवा छन् जसले यसअघि कहिल्यै पनि मतदान गरेका छैनन् र कुनै पनि राजनीतिक र्‍यालीमा संलग्न भएका छैनन्।

खानका समर्थकहरूलाई राजनीतिबारे परिपक्व बुझाइको अभाव रहेको र वर्तमान समस्याको ऐतिहासिक पृष्ठभूमिबारे ज्ञान नभएको र त्यसै कारण हालको देशको अवस्था आजसम्म कहिल्यै नरहेको दाबी गर्ने गरेको आरोप लगाइन्छ।

तर उनीहरू आफूलाई सुधारवादी अभियानकर्मीको रूपमा चिनाउँछन् र देशलाई भ्रष्ट राजनीतिकर्मीबाट मुक्ति दिलाउन चाहेको बताउँछन्।

खानले जस्तै उनीहरू पनि एक समय सेनालाई मन पराउँथे।

अहिले उनीहरू सबै कुराको लागि सेना जिम्मेवार रहेको ठान्छन्।

रेड लाइन
रेड लाइन

खानले बारम्बार सेनाको नेतृत्वविरुद्ध आक्रामक अभिव्यक्ति दिए पनि धेरैले उनी पनि सेनाको अधिकार कटौती गर्ने पक्षमा नरहेको ठानेका छन्। उनीहरूका अनुसार बरु उनी सैनिक नेतृत्वले विगतमा जस्तै आफू र आफ्नो पार्टीलाई साथ देओस् भन्ने चाहन्छन्।

तर मे ९ को दङ्गापछि सेनाको उच्च नेतृत्वले खान पक्षले सीमा नाघेको ठानिरहेको देखिन्छ। अहिलेका प्रधान सेनापतिले त्यसलाई “पाकिस्तानको इतिहासमा कालो दिन” भएको बताएका छन्।

इमरान खान पाकिस्तानमा नयाँ शैलीको लोकप्रियतावादी राजनीतिमा प्रवेश गरेका हुन सक्छन्। सेनाले पनि उनका पूर्ववर्तीहरूकै शैलीमा उनलाई दबाउने प्रयास गरिरहेको छ।

दर्जनौँ भ्रष्टाचारका मुद्दाहरू, गिरफ्तारी र सेनाविरुद्ध आक्रमणमार्फत् सेनाले खानलाई उनले हद नाघेको स्पष्ट सन्देश दिइरहेको छ। सेनाले आफ्ना शहीदहरूबारे एउटा गीत सार्वजनिक गरेर मानिसहरूको मन जित्न खोजिरहेको छ।

उसले मे ९ मा सैन्य संरचनामा भएका आक्रमणको प्रत्युत्तरमा शहीदहरूको सम्मान दिवस मनाएको छ। तर आलोचकहरूले त्यस दिन कुनै पनि सैनिक नमारिएको र सैनिक जेनरलहरूका भव्य बङ्गलामा मात्रै क्षति पुगेको बताएका छन्।

प्रमुख सहरका मुख्य सडकहरूमा सेनाको सदाबहार प्रतिबद्धताको प्रशंसा गरिएका पोस्टरहरू टाँगिएका छन्। सेनाले विगतमा आफूलाई आक्रमण गर्ने धार्मिक समूहहरूलाई पनि सडकमा ल्याएको छ। गत साता उनीहरूले सेनाप्रति आफ्नो सद्भाव व्यक्त गरे।

सैनिकहरूको परिवारभित्र पनि इमरान खानका समर्थक

इमरान खान

तस्बिर स्रोत, Reuters

पाकिस्तानको सेनाले आफ्नो फौजमा पनि खानका समर्थकहरू छन् कि भनेर खोजी गरिरहेको छ।

फ्याशन डिजाइनबाट राजनीतिमा प्रवेश गरेकी खादिजा शाह मे ९ को दङ्गामा सहभागी भएको भनेर कानुन कार्यान्वयनकारी निकायको निगरानीमा परेकी महिला हुन्।

उनी आफैँ सेनाका पूर्वप्रमुखकी नातिनी हुन् र सैनिक परिवारमै हुर्किएकी हुन्।

उनले आफूले कुनै पनि अपराध नगरेको बताउँदै आएकी छन्।

तर यसबाट खानले कतिपय सैनिक परिवारका सन्तानलाई नै आफ्नै घरमा आगो लगाउने हदसम्म मोहित बनाएको स्पष्ट देखाउँछ। यसले सेनाका परिवारहरूलाई खानको राजनितिबाट टाढै रहन स्पष्ट सन्देश दिएको छ ।

रेड लाइन
रेड लाइन

सेनाले खानको पीटीआई पार्टीका धेरै नेता तथा कार्यकर्तालाई पक्राउ गरेर र सैनिक शिविरहरूमा भएका आक्रमणमा सहभागीहरूलाई सैनिक अदालतमा मुद्दा चलाएर उनको पार्टीलाई छिन्नभिन्न गर्ने प्रयास गरिरहेको छ।

उच्च तहका धेरै नेताहरू खानको पार्टी छोड्ने दबावमा छन्। कतिपयले छोडिसकेका पनि छन्। उनीहरूले पाकिस्तानको सेनासँग जुध्ने खानको शैलीको आलोचना गरेका छन् ।

ऐतिहासिक रूपमा हेर्दा पाकिस्तानको सेना सर्वसाधारण नागरिकहरूसँगको विवादमा सधैँ आफ्नो तरिकाबाट माथि पर्दै आएको छ।

इमरान खानले आफ्ना कार्यकर्ताहरूलाई "दासताको जीवनभन्दा मृत्यु रोज" भनिरहेका छन्।

यो राजनीतिक गतिरोधका कारण पीडा भोग्ने र भोगिरहने भनेका पाकिस्तानका सर्वसाधारण जनताहरू नै हुन्।

ब्रिटिश पाकिस्तानी लेखक तथा पत्रकार मोहम्मद हानीफ बीबीसी उर्दू सेवाका पूर्वप्रमुख हुन्।