प्रदर्शनमा हजारौँ मारिएका इरानी सर्वोच्च नेताद्वारा स्वीकार, ट्रम्पमाथि साँधे निशाना

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई भाषण गर्दै। उनको छेउमा इरानको झन्डा देख्न सकिन्छ

तस्बिर स्रोत, Iranian leader press office via Getty Images

    • Author, ज्याक वर्जस र गोन्चे हबीबीआजाद

इरानका सर्वोच्च नेताले पहिलो पटक हालैका प्रदर्शनहरूमा हजारौँ मारिएका स्वीकार गरेका छन्।

शनिवार गरेको एउटा सम्बोधनमा आयातोल्लाह अली खामेनेईले हजारौँले मारिएका र 'कतिपयले अमानवीय र बर्बर' किसिमले ज्यान गुमाएका बताए। उनले ती मृत्युहरूका लागि संयुक्त राज्य अमेरिकालाई आरोपित गरेका छन्।

अमेरिका मुख्यालय रहेको इरानीअन ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी(एचआरएनए) का अनुसार पछिल्लो प्रदर्शनमा हिंसात्मक दमन गरिँदा ३ हजार ९० जनाको ज्यान गएको छ।

कतिपय अधिकारवादी संस्थाहरूले मृतकको सङ्ख्या त्यो भन्दा धेरै बढी भएको बताइरहेका छन्।इन्टरनेटमाथि लगाइएको प्रतिबन्धका कारण वास्तविक सूचना प्राप्त गर्न कठिन भइरहेको छ।

इरानी नेताले अरू के के भने?

हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी प्रदर्शनकारीहरूलाई 'आन्दोलन जारी राख्न' आह्वान गरेका थिए र सुरक्षा फौजहरूले उनीहरूको हत्या गरेको खण्डमा सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए।

"इजरेल र अमेरिकासँग सम्बन्ध भएकाहरूले भीषण क्षति निम्त्याए र हजारौँको हत्या गरेका छन्,"इरानी सरकारी समाचार संस्थाले खामेनेईलाई उद्धृतगर्दै जनाएको छ।

"हामी अमेरिकी राष्ट्रपतिलाई हताहति, क्षति र इरानी राष्ट्रमाथि उनले गरेको अपमानका लागि अपराधी ठान्छौँ," खामेनेईले भनेका छन्।

डिसेम्बर २८ यता अर्थतन्त्रलाई लिएर सुरु भएको प्रदर्शन इरानी सर्वोच्च नेताको शासन अन्त्य हनुपर्ने मागसहितको आन्दोलनमा परिणत भएको थियो।

इरानी सरकारले प्रदर्शनहरूलाई देशका शत्रुहरूले समर्थन गरेको 'दङ्गा' भन्दै आएको छ।

प्रदर्शकारीहरूमाथि अत्यधिक बल प्रयोग भएका छन् र सुरक्षाकर्मीहरूले आन्दोलनमा गोली चलाएको भिडिओहरू बीबीसी पर्सिअन र बीबीसी भेरीफाईले पुष्टि गरेका छन्।

इरानमा इन्टरनेट र सञ्चार सेवा लगभग पूर्ण अवरुद्ध रहेको छ। हालैका दिनमा हिंसाका विवरणहरू कम आइरहेका छन् तर इन्टरनेटमाथि अझै पनि प्रतिबन्ध रहेकाले त्यहाँ के भइरहेको छ प्रस्ट छैन।

दक्षिण पश्चिम इरानको सिराजस्थित एक महिलाले बीबीसी पर्सिअनलाई 'स्थितिलाई नियन्त्रणमा लिन सुरक्षा फौजहरूले अझै पनि मोटरसाइकलमा गस्ती गरिरहेको तर समग्रमा अवस्था सामान्य बन्दै गइरहेको' बताएकी छन्।

शनिवारको आफ्नो भाषणमा खामेनेईले इरानले राष्ट्रपति ट्रम्पलाई 'अपराधी' ठहर गरेको र हालैको तनावमा अमेरिकालाई 'जवाफदेही' बनाइनुपर्ने बताए।

सामाजिक सञ्जालमा उनले 'अमेरिकाको लक्ष्य इरानलाई निल्नु हो' भनेर दाबी गरेका छन्।

तनावको असर कस्तो छ?

इरानमा हालै भएको विरोध प्रदर्शनमा सहभागी युवाहरू

तस्बिर स्रोत, MAHSA / Middle East Images / AFP via Getty Image

तस्बिरको क्याप्शन, यो स्तरको प्रदर्शन ४७ वर्षको इतिहासमा कहिल्यै नदेखिएको विज्ञहरूले बताउँदै आएका थिए

ट्रम्पले इरानी सर्वोच्च नेताको टिप्पणीबारे प्रतिक्रिया दिइसकेका छैनन् र बीबीसीले ह्वाइट हाउससँग उक्त विषयबारे प्रतिक्रिया मागेको छ।

शनिवार अमेरिकी विदेश मन्त्रालयले आफूले 'उक्त इस्लामिक गणतन्त्रले अमेरिकी अखडाहरूमा आक्रमण गर्ने विकल्पमा तयारी गरिरहेको विवरणहरू सुनेको' जनाएको थियो।

उसले त्यसका विरुद्ध 'अत्यधिक बल प्रयोग गरिने' भन्दै 'राष्ट्रपति ट्रम्पसँग खेल नखेल्न' तेहरानलाई चेतावनी दिएको थियो।

बुधवार राष्ट्रपति ट्रम्पले आफूलाई 'इरानमा हत्या रोकिएको' बताइएको भन्दै आफूले उक्त देश विरुद्ध सैन्य कारबाहीको सम्भावनालाई खारेज नगरिसकेको बताएका थिए।

अमेरिका र संयुक्त अधिराज्य दुवैले कतारस्थित अल-अदेद सैन्य शिविरबाट सैनिकहरूको सङ्ख्या कटौती गरेका थिए।

अधिकारीहरूले अमेरिकास्थित बीबीसीको साझेदार सीबीएसलाई उक्त आंशिक फौज फिर्ती 'सावधानीका लागि चालिएको कदम' भएको बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।