इमरान खानको जेल सजाय उच्च अदालतबाट निलम्बित

पाकिस्तान

तस्बिर स्रोत, Reuters

पाकिस्तानको एउटा अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई यसअघि दिइएको तीन वर्षको जेल सजाय निलम्बन गरेको छ।

इस्लामाबाद उच्च अदालतले तोशाखाना मुद्दामा खानलाई यसअघि सुनाइएको तीन वर्षको जेल सजाय निलम्बन गर्न आदेश दिएको हो।

उनी प्रधानमन्त्री रहेका समयमा राज्यलाई प्राप्त भएका उपहारहरू तोसखानामा जम्मा गर्नुपर्नेमा उनले ६ लाख अमेरिकी डलरमा विक्री गरेको अभियोग छ।

उच्च अदालतको आदेश आए पनि खान मङ्गलवारै रिहा हुने सम्भावना कम रहेको बताइएको छ।

पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खान तीन वर्षको जेल सजाय तोकिएलगत्तै पक्राउ परेका थिए।

उनलाई जेल सजाय घोषणा भएको तीन दिनपछि पाकिस्तानको निर्वाचन आयोगले खानलाई पाँच वर्षका लागि सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाएको थियो।

खानका वकिलहरूले अहिले उनीमाथि चलिरहेका अन्य मुद्दामा उनी पक्राउ हुनबाट रोक्ने प्रयास गरिरहेका छन्।

सोमवार मात्रै एउटा अदालतले उनीमाथिको देशद्रोहको मुद्दा खारेज गरेको थियो। खानले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक दुराशयबाट प्रेरित भएको दाबी गर्दै आएका छन्।

कुन मुद्दामा निर्णय सुनाइएको हो?

यसअघि इस्लामाबादस्थित एउटा अदालतले राज्यका उपहारहरू विक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी ठहर गरेको थियो।

न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए। गत मे महिनामा अदालतमा अनुपस्थित भएको आरोपमा पनि उनलाई पक्राउ गरिएको थियो।

सो गिरफ्तारीलाई गैरकानुनी घोषणा गरिएपछि उनी रिहा भएका थिए।

त्यसयता उनको दलले अधिकारीहरूबाट चरम दबावको सामना गरिरहेको बताइन्छ।

कैयौँ वरिष्ठ नेताले दल छाडेका छन् र खान गिरफ्तार भएपछिको प्रदर्शनमा संलग्न भएको आरोपमा हजारौँ समर्थक पक्राउ गरिएका छन्। 

तोशाखाना मुद्दा के हो?

इमरान खान

उनीमाथि प्रधानमन्त्री पदमा रहँदा उनले व्यक्तिगत फाइदाका लागि महँगो उपहार बेचेको आरोप लागेको छ।

खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे उल्लेख गरिएको थिएन।

त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उनलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो।

पाकिस्तानमा सन् १९७४ मा तोशाखाना स्थापना भएको थियो।

यो मन्त्रिपरिषद्को प्रशासनिक मातहतको एक विभाग हो जहाँ प्रधानमन्त्री, राष्ट्रपति, राज्य प्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छ।

पकिस्तानको राजनीति

कुनै पनि विदेश यात्राको क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ।

तोशाखानामा राखिएका सामानलाई स्मृति चिह्नका रूपमा हेरिन्छ। त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र विक्री गर्न मिल्छ।

अदालतको फैसलाअनुसार सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्री रहँदा खानले विदेश भ्रमणका क्रममा प्राप्त भएका १४ करोड पाकिस्तानी रुपैयाँभन्दा बढीका उपहारहरू विक्री गरेका थिए।

को हुन् इमरान खान?

इमरान खान भूतपूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन्।

राजनीतिमा प्रवेश गरेको दुई दशकपछि उनी पाकिस्तानका प्रधानमन्त्री बन्न सफल भए।

देशको इतिहासमा विश्वासको मत प्राप्त गर्न विफल भएर सत्ताबाट बाहिरिने उनी प्रथम प्रधानमन्त्री समेत हुन्।

सन् १९९६ मा उनले आफ्नो दल पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) स्थापना गरे पनि सन् २०१३ को आमनिर्वाचनबाट मात्र उक्त दल राष्ट्रिय रूपमा गम्भीर शक्तिका रूपमा देखिन थालेको हो।

रेड लाइन
रेड लाइन

‘नयाँ पाकिस्तान’को नारा दिएर भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रलाई लयमा ल्याउने वाचासाथ सन् २०१८ को जुलाईमा उनी देशको प्रधानमन्त्री निर्वाचित भएका थिए।

तर सन् २०२२ को एप्रिलमा विश्वासको मत प्राप्त गर्न विफल भएपछि उनको सरकार ढलेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।