रेअर अर्थबाट बनेका चुम्बक उत्पादन गर्ने भारतको चाहना कति यथार्थपरक

रेअर अर्थ चुम्बक

तस्बिर स्रोत, Bloomberg via Getty Images

तस्बिरको क्याप्शन, भारतले रेअर अर्थ चुम्बक आफैँ उत्पादन गर्ने लक्ष्य राखेको छ
    • Author, अनहिता सचदेव

सन् २०२५ को नोभेम्बरमा भारतले ७३ अर्ब रुपैयाँ बराबरको योजना अघि सार्‍यो, जसले विश्व आपूर्ति शृङ्खलाकै सबैभन्दा रणनीतिकमध्येको ठानिएको दुर्लभ खनिज वा 'रेअर अर्थ' तत्त्वबाट उत्पादित चुम्बकको उत्पादनमा चीनसँगको निर्भरता कटौती गराउन मद्दत गर्न सक्ने भनियो।

यी साना तथा शक्तिशाली तत्त्वहरू आधुनिक जीवनको केन्द्रमा छन् – यिनीहरू विद्युतीय गाडीदेखि विन्ड टर्बाइन, स्मार्टफोनदेखि मेडिकल स्क्यानर अनि रक्षा सामग्रीमा समेत प्रयोग हुन्छन्।

रेअर अर्थ तत्त्वबाट उत्पादन गर्ने पूर्ण प्रणाली विकसित गर्नु एकदमै महँगो, जटिल र समय लाग्ने कार्य हो। तर केवल चुम्बकमा मात्र ध्यान केन्द्रित गरेर भारतले रेअर अर्थ तत्त्वबाट उत्पादित हुने र सबैभन्दा धेरै प्रयोगमा आउने वस्तुमा चाँडै आत्मनिर्भर हुने लक्ष्य राखेको छ।

अधिक निर्भरताले सिकाएको पाठ

तर भारतले कति चाँडै यस प्रविधिमा विज्ञता हासिल गर्न सक्छ अनि कति चाँडै आवश्यक वस्तु जुटाउन र ठूलो स्तरमा उत्पादन बढाउन सक्छ भन्नेमा यसको सफलता भर पर्ने विज्ञहरूले बताएका छन्।

यस योजनाअन्तर्गत छानिएका उत्पादकहरूलाई सात वर्षभत्र छ हजार टन चुम्बक उत्पादन गर्न पुँजी तथा बिक्रीसँग जोडिएका अन्य सुविधा दिइने छ। आगामी पाँच वर्षमा दोबर हुने ठानिएको बढ्दो घरेलु माग धान्ने यसको मुख्य लक्ष्य हो।

यस क्षेत्रका जानकारहरू चाहिँ केवल पैसा जुटाउनु मात्र पर्याप्त नहुने बताउँछन्।

हाल भारतले उसलाई आवश्यक चुम्बक तथा सम्बन्धित सामग्रीमध्ये ८०-९०% जति चीनबाट आयात गर्छ। विश्वभरिको रेअर अर्थ प्रशोधनमा ९०% चीनको नियन्त्रणमा छ। सन् २०२५ मा भारतले २२ करोड डलरभन्दा धेरैको चुम्बक तथा सम्बन्धित सामग्री आयात गरेका सरकारी विवरणमा देखिन्छ।

गत वर्ष चीनले ती सामग्रीको निर्यातमा कडाइ गरेपछि यो अधिक निर्भरताको अवस्था छताछुल्ल भयो जब त्यहाँका गाडी निर्माता तथा इलेक्ट्रोनिक कम्पनीहरू अप्ठेरोमा परे। त्यतिखेर विद्युतीय गाडी उद्योग रेअर अर्थको वैकल्पिक स्रोत खोज्न बाध्य हुन पर्‍यो।

रेअर अर्थ

तस्बिर स्रोत, Bloomberg via Getty Images

तस्बिरको क्याप्शन, निओडाइमिअम रेअर अर्थ चुम्बक बनाउन आवश्यक पर्ने एक तत्त्व हो

त्यतिखेर ती सामानको आयातमा अस्थायी अवरोध भएको थियो तर त्यसले पाठ भने सिकायो – रेअर अर्थबारे सार्वभौम रणनीति नबनाउने हो भने ती उद्योग जोखिममा रहिरहने छन्।

त्यस्ता विकल्पको खोजीमा लागिपरेकाहरूमा भारत एक्लो छैन। युरोपिअन यूनियन, अस्ट्रेलिया तथा अन्यले पनि चीनको कडा नियन्त्रणबाट फुत्कने प्रयास थालेका छन्। कैयन् देशका निम्ति "नियन्त्रणको यो समय अलि चकित पार्ने किसिमले आयो," इवाई इन्डियाका कर तथा आर्थिक नीति विशेषज्ञ रजनीश गुप्ताले भने।

सहज छैन उत्पादन बढाउन

तथापि भारतको चुनौती अलि जटिल किसिमको छ।

पहिलो कुरो त यसबारे ऊसँग औद्योगिक विज्ञता छैन। जापान, दक्षिण कोरिया र जर्मनीले चुम्बक बनाउने प्रविधि परिष्कृत गर्न वर्षौँ खर्चेका छन्। तुलनात्मक रूपमा भारतसँग व्यावसायिक स्तरमा उत्पादनको कुनै अनुभव नरहेको विज्ञहरू बताउँछन्।

"सही दिशामा यो पहिलो राम्रो कदम त हो तर यो सुरुवात मात्र हो," ब्याट्री तथा रेअर अर्थ तत्त्वसँग सम्बन्धित कन्सल्टिङ फर्म बेन्चमार्क मिनरल इन्टलिजन्सकी नेहा मुखर्जीले भनिन्। "प्रविधि भित्र्याउन, मानवस्रोत विकसित गर्न तथा आफ्नो क्षमता बढाउन भारतलाई रणनीतिक साझेदारीहरूको आवश्यकता देखिन्छ।"

न्याश्नल जिओफिजिकल रिसर्च इन्स्टिट्यूट (एनजीआरआई)का प्रमुख वैज्ञानिक डा पीभी सुन्दर राजु त्यसमा सहमत छन्।

तटीय क्षेत्र

तस्बिर स्रोत, Corbis via Getty Images

तस्बिरको क्याप्शन, भारतमा उपलब्ध रेअर अर्थ स्रोत धेरैजसो तटीय क्षेत्रका बालुवाहरूमा रहेका छन्

"अनुसन्धान तथा विकासमा बलियो पृष्ठभूमिको अभावमा केवल ७३ अर्ब रुपैयाँ दिएर कुनै वस्तुको उत्पादनको आशा गर्नु सम्भव हुँदैन," उनले भने।

यस कार्यमा लगाउन सकिने कैयौँ अनुसन्धान केन्द्रहरू रहेको उनले औँल्याए। भाभा एटमिक रिसर्च सेन्टरमा एउटा त्यस्तै केन्द्रको उद्घाटन सन् २०२३ मा भएको अनि सन् २०३० सम्म पाँच हजार टन चुम्बक उत्पादन गर्ने लक्ष्यका साथ सार्वजनिक-निजी साझेदारीमा अर्को केन्द्र सुरु भएको छ।

तर ती दुवैले हालसम्म कुनै उत्पादन गरेका विवरण आएका छैनन्।

अर्को प्रश्न कच्चा पदार्थको पनि छ। भारतमा विश्वकै तेस्रो विशाल रेअर अर्थ तत्त्वहरूको भण्डार रहेको छ – विश्वको कुल भण्डारको ८ प्रतिशत। ती भण्डार खास गरी तटीय राज्यहरू केरल, तमिलनाडु, ओडिशा, आन्ध्र प्रदेश, महाराष्ट्र र गुजरातका बालुवाहरूमा रहेको बताइन्छ। तर विश्वको कुल प्रशोधनमा भारतको हिस्सा १ प्रतिशत पनि छैन।

केवल एउटा खानी क्रियाशील छ, जुन दक्षिणी आन्ध्र प्रदेश राज्यमा रहेको छ। केही अगाडिसम्म त्यहाँका सबै उत्पादन द्विपक्षीय सहमतिअनुरूप जापान निकासी गरिन्थ्यो (जब कि जुन २०२५ मा भारत सरकारले उक्त सरकारी खानीलाई घरेलु माग पूर्ति गर्न निकासी स्थगित गर्न भनेको थियो।)

भारतको प्रयास

भारतले रेअर अर्थ तत्त्वको उत्खनन तथा प्रशोधनका निम्ति आफ्ना प्रयासहरू भने अघि बढाइरहेको देखिन्छ। उदाहरणका लागि उसले न्याश्नल क्रिटिकल मिनरल मिशन (एनसीएमएम)को स्थापना गरेको छ, जसअन्तर्गत उसले भण्डारण व्यवस्थापन तथा सबल आपूर्ति शृङ्खला कायम गरिने भनेको छ।

यदि उसले आफ्नो देशमा उपलब्ध रेअर अर्थ भण्डारको उपयोग गर्न सक्यो भने पनि चुम्बक बनाउन चाहिने तत्त्वहरूमध्ये केही मात्र ऊसँग उपलब्ध हुने छन्।

ऊसँग निओडाइमिअमजस्ता हलुका रेअर अर्थ तत्त्व धेरै मात्रामा छ तर उत्खनन गर्न सक्ने परिमाणमा डाइस्प्रोजिअम र टर्बिअमजस्ता गह्रुङ्गा तत्त्वको अभाव हुने छ। उच्च क्षमताका चुम्बकका निम्ति ती तत्त्व अत्यावश्यक हुन्छन्।

यसले प्रश्न उब्जाएको छ : चुम्बक भारतमै उत्पादन हुने हो भने पनि के तिनको कच्चा पदार्थ चीनबाटै ल्याइन्छ?

साथै यस्ता कार्यसञ्चालनको स्तरबारे पनि चासो रहेका छन्। मुखर्जीका अनुसार अहिले नै भारतले प्रतिवर्ष सात हजार टन चुम्बक खपत गर्छ। सन् २०३० सम्ममा छ हजार टन उत्पादन नै भयो भने पनि बढ्दो मागका माझ त्यो अपुग हुने छ।

"यदि हामीले हाम्रो क्षमता विस्तार गर्न सकेनौँ भने समस्या समाधान हुने छैन। फेरि पनि हामी चीनमै निर्भर हुने छौँ," मुखर्जीले भनिन्।

विज्ञहरूले औँल्याएको अर्को चुनौती चाहिँ त्यसरी देशभित्र उत्पादित चुम्बकको मूल्यसँग सम्बन्धित छ। चिनियाँ चुम्बक सस्ता छन्। भारतमा निर्मित चुम्बकको मूल्य प्रतिस्पर्धी हुन सकेन भने आयातको वर्चस्व जारी रहने छ।

कतिपयको भनाइमा यसको समाधान भनेको उत्पादक मात्र नभई क्रेताहरूलाई पनि कुनै किसिमको सुविधा दिनु हुने छ।

"आशा के हो भने भारतले आफ्नो उद्यमशील ऊर्जाको प्रयोग गरेर यो सम्पूर्ण प्रणाली चलायमान बनाउने छ," गुप्ताले भने।

चुनौतीहरू हुँदाहुँदै पनि यस्तो प्रणाली बनाउने यत्न गर्नुले भारतको स्वदेशी रेअर अर्थ उत्पादन प्रणाली विकास गर्ने महत्त्वाकाङ्क्षा दर्शाउँछ र त्यो सराहनीय रहेको उनले बताए।

"कुनै कदम नचालीकन बस्नुभन्दा यो वास्तवमै राम्रो हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।