चीनसँगको सहमतिले दुर्लभ खनिज र चुम्बक आपूर्तिका चिन्ता समाधान हुने अमेरिकाको आशा

तस्बिर स्रोत, Reuters
- Author, पिटर हस्किन्स
- Role, व्यापार संवाददाता, बीबीसी न्यूज
अमेरिका र चीनले भनेका छन् उनीहरूले संसारका सबभन्दा ठूला दुई अर्थतन्त्रबीच जारी व्यापार तनाव मत्थर पार्ने गरी एक सैद्धान्तिक सहमति गरेका छन्।
दुवै पक्षले अब ती सहमतिका मस्यौदालाई आ-आफ्ना राष्ट्रपति – डोनल्ड ट्रम्प र सी जिन्पिङ – समक्ष अनुमोदनका निम्ति पेश गरिने बताएका छन्।
बेइजिङ् र वाशिङ्टनका वरिष्ठ अधिकारीहरूबीच लन्डनमा भएका दुई दिन लामो वार्तापछि यो घोषणा गरिएका हुन्।
दुर्लभ खनिज र चुम्बकबारे अमेरिकी आशा
अहिले भएका सहमति अनुमोदन भए त्यसले रेर अर्थ मिनरल्स भनिने अति महत्त्वपूर्ण दुर्लभ खनिज तथा चुम्बकहरूको आपूर्तिबारेका चिन्ता समाधान हुने अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनीकले बताएका छन्।
आधुनिक प्रविधिका निम्ति अत्यावश्यक ती खनिजको चिनियाँ निर्यात उक्त वार्ताको प्रमुख अजेन्डा रहेको थियो।
गत महिना वाशिङ्टन र बेइजिङ्ले व्यापार ट्यारिफलाई लिएर अस्थायी सहमति गरेका थिए तर त्यसपछि सहमति उल्लङ्घन भएको भन्दै दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका थिए।
चीनले रेर अर्थ धातु तथा चुम्बकहरूको निर्यात सहज बनाउन ढिलाइ गरेको अमेरिकाले आरोप लगाएको थियो।
स्मार्टफोनदेखि विद्युतीय गाडीसम्म आधुनिक प्रविधियुक्त उपकरण निर्माणमा ती वस्तु अत्यावश्यक मानिन्छन् भने तिनको उत्खनन र प्रशोधनमा चीन विश्वकै अग्रणी रहँदै आएको छ।

तस्बिर स्रोत, Getty Images
त्यस्तै अमेरिकाले चाहिँ सेमिकन्डक्टर तथा आर्टिफिशल इन्टलिजन्स (एआई)सँग सम्बन्धित प्रविधिहरूमा चीनको पहुँच सीमित तुल्याइदिएको थियो।
"हामीले जिनिभामा भएका सहमति (जिनिभा कन्सेन्सस)को कार्यान्वयनका लागि सहमति निर्माण गरेका छौँ," लुटनीकले पत्रकारहरूसँग भने। "राष्ट्रपतिहरूद्वारा अनुमोदन भएपश्चात् हामी यसलाई लागु गर्नेछौँ।"
गत साता दुई राष्ट्रपतिबीच फोन वार्ता भएपछि पछिल्लो चरणको वार्ता भएको हो।
"दुई राष्ट्रप्रमुखहरूबीच जुन ५ मा भएको फोन वार्तामा भएका सहमति अनि जिनिभा बैठकमा भएका सहमतिलाई कार्यान्वयन गर्ने गरी दुई पक्षबीच सैद्धान्तिक सहमति निर्माण भएको छ," चीनका उपवाणिज्यमन्त्री ली चेङ्गाङ्ले भने।
के होला अब?

तस्बिर स्रोत, Getty Images
यो वर्षको सुरुमा राष्ट्रपति ट्रम्पद्वारा कैयन् देशहरूविरुद्ध आयातमा शुल्क वा ट्यारिफ घोषणा गर्दा सबभन्दा मर्का चीनलाई परेको थियो। चीनले पनि अमेरिकी आयातहरूमा जबाफी ट्यारिफ घोषणा गर्यो। अधिकतम १४५% सम्म ट्यारिफ लगाइए।
मे महिनामा स्वीट्जर्ल्यान्डको जिनिभामा भएको वार्ताले अस्थायी सहमति जन्मायो जसलाई ट्रम्पले 'पूर्ण फेरबदल'को संज्ञा दिए।
त्यसपछि चिनियाँ आयातमा अमेरिकी ट्यारिफ ३०% मा ओर्लियो भने बेइजिङ्ले अमेरिकी आयातमा लगाउने शुल्क १०% मा झर्यो। चीनले महत्त्वपूर्ण खनिजको निर्यातमा लगाएका बन्देज खुकुलो पार्ने वाचा पनि गर्यो। दुवै देशले एक व्यापार सम्झौता गर्न ९० दिनको समयसीमा तोके।
तर त्यसयता दुवै देशले ट्यारिफबाहेकका अन्य समझदारी उल्लङ्घन भएको आरोप एकअर्कालाई लगाएका छन्।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिअरले चीनले रेर अर्थ चुम्बकको निर्यातमा लगाइएका बन्देज नहटाएको बताएका छन्।
बेइजिङ्ले चाहिँ चिनियाँ कम्पनीहरूलाई कम्प्युटर चीप डिजाइन सफ्टवेयर बेच्न रोकेको, चिनियाँ विशाल प्रविधि कम्पनी ह्वावेईले बनाएका चीप प्रयोग नगर्न चेतावनी दिइरहेको अनि चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गरेको जस्ता विषयलाई अमेरिकाले सहमति उल्लङ्घन गरेको भनी प्रस्तुत गरेको छ।
यो साताको वार्ता अगाडि चिनियाँ वाणिज्य मन्त्रालयले रेर अर्थ निर्यातका केही निवेदनहरूलाई आफूले स्वीकृति दिएको जनाएको छ। तर उसले कुन देशका निम्ति भन्ने जस्ता विवरण खुलाएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








