ट्रम्प र सी दुवै व्यापार युद्ध मत्थर 'पार्न चाहन्छन्', तर वार्ता प्रस्ताव गर्न हिचकिच

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प (बायाँ) र चिनियाँ राष्ट्रपति सी जिन्पिङ (दायाँ)

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिका र चीनले एकअर्कामाथि चर्को आयात शुल्क लगाएर चर्काएको व्यापार युद्धमा ट्रम्प र सी दुवै आफ्नो प्रतिष्ठा गुमाउन चाहँदैनन्
    • Author, ग्याभिन बट्लर
    • Role, बीबीसी न्यूज, सिङ्गापुर

चीनको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले शुक्रवार बिहान संयुक्त राज्य अमेरिकासँग ट्यारिफ अर्थात् आयात शुल्कका विषयमा वार्ता गर्न सकिन्छ कि भनेर बेइजिङमा विचार भइरहेको बताए।

चीनबाट अमेरिका जाने सामानमाथि लगाइएको चर्को शुल्कका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार तथा वाणिज्य 'निसासिन' थालेको बेला बाँकी विश्वले यस खालको समाचारको व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको थियो। अमेरिकाले केही चिनियाँ वस्तुमाथि २४५ प्रतिशतसम्म आयात शुल्क लगाएको छ।

दुई देशबीच 'व्यापार युद्ध' चर्किँदा विश्वभरि आर्थिक मन्दी फैलिने डर उत्पन्न भएको छ।

"अमेरिकाका अधिकारीहरूले बारम्बार चीनसँग आयात शुल्कबारे वार्ता गर्ने इच्छा व्यक्त गरेका छन्," ती प्रवक्ताले संवाददाताहरूलाई भने।

"चीनको मान्यता उही छ। लडाइँ गर्ने हो भने हामी अन्तिमसम्म लड्छौँ। वार्ता गर्ने हो भने ढोका खुल्ला छ...। अमेरिका यदि वार्ता गर्न चाहन्छ भने उसले इमानदारी देखाउनुपर्छ र ऊ गलत अभ्यासहरू सच्च्याउन तयार हुनुपर्छ, एकतर्फी ट्यारिफहरू हटाउनुपर्छ।"

अहिलेको प्रश्न दुई पक्षबीच वार्ता हुन्छ कि हुँदैन भन्ने हैन। बरु कहिले, कस्तो परिस्थितिमा र कसको आग्रहमा हुन्छ भन्ने हो।

खतरनाक खेल

विज्ञहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिबीच जारी द्वन्द्व निकै खतरनाक भएको र उनीहरू भित्रभित्रै दुवै पक्षलाई फाइदा हुने स्थितिमा पुग्न खोजेको ठान्छन्। त्यो स्थिति भनेको व्यापार युद्ध मत्थर हुनु हो।

"म अझ केही यस्तै हुने देख्छु किनभने वाशिङ्टन र बेइजिङ दुवै आफू पहिला नगलेको देखिन चाहन्छन्," न्याश्नल यूनिभर्सिटी अफ सिङ्गापुरमा राजनीतिशास्त्र प्राध्यापन गर्ने जा इअन चोङ भन्छन्।

"तर तनाव घट्नु भनेको दुवै पक्षलाई फाइदा पुग्नु हो।"

अस्ट्रेलियन सेन्टर अन चाइना इन द वर्ल्डका प्राज्ञ वेन-ति सङ अहिलेको परिस्थितिलाई दुइटा कार जुधेको अवस्थासँग तुलना गर्छन्।

"जुन पहिला मोडिन्छ त्यसलाई कमजोर ठानिन्छ। अहिलेको बिन्दुमा कुनै पनि पक्ष आफू कमजोर देखिन चाहँदैन।"

उनका अनुसार ट्यारिफ घटाउने वार्ताको प्रस्ताव गर्द आफू तल परिने डर दुवै नेतामा छ।

क्यालिफोर्नियाको रोजमीडस्थित एउटा वाल्मार्टमा किनमेल गर्दै एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकामा चीनबाट आयात गरिने सामानको अभाव हुँदा मूल्य बढ्ने र अभाव पनि हुन सक्ने चेतावनी वाल्मार्टजस्ता खुद्रा विक्रेताहरूले दिएका छन्

दुवै पक्ष एउटै परिणाम चाहन्छन् तर कोही पनि पहिला मुख खोल्ने पक्षमा छैनन्।

"अहिले बेइजिङ शब्दको खेल खेलेर दुवै पक्षलाई पछि सजिलो हुने बाटो बनाउन सकिन्छ कि भनेर हेर्दै छ," सङ भन्छन्।

अहिलेको खतरनाक खेलबाट मुक्ति पाउने एउटा उपाय तेस्रो पक्षको मध्यस्थता हो। त्यसमा दुवै पक्षले एकतर्फी निकास पाउँछन्। सङका अनुसार अर्को उपाय चाहिँ 'अर्को पक्षले सम्पर्क गरेको छ' भन्ने कुरालाई उदार भएर बुझ्नु हो।

त्यसो गर्दा पहिला वार्ताको टेबलमा आउने पक्षले त्यसलाई पहिलो कदमका रूपमा भन्दा पनि आफ्नो प्रतिक्रियाका रूपमा चित्रण गर्न सक्छ।

ट्रम्प र सीको सन्दर्भमा भन्नुपर्दा दुवै नेताले व्यापार युद्धमा आफू विजयी भएको दाबी गर्दै 'ट्यारिफ वार्ता' थाल्न सक्छन्।

चीनको जेजिआङ प्रान्तस्थित एउटा कारखानामा काम गर्दै एक चिनियाँ महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीन र अमेरिकाबीच व्यापार घट्दा चिनियाँ निर्यातकर्ता र अमेरिकी क्रेता तथा उपभोक्ताहरू मारमा परेका छन्

विजेता देखिनुपर्ने दबाव

यहाँ सर्वसाधारण मानिसको धारणा महत्त्वपूर्ण हुन्छ। चोङका अनुसार तनाव घटाउनु एउटा कुरा हो तर ट्रम्प र सी दुवै जनालाई आफ्ना जनतासमक्ष आफू विजयी भएको देखाउनुपर्ने बाध्यता छ।

"ट्रम्प पक्कै पनि आफूले बेइजिङलाई घुँडा टेक्न बाध्य पारेको देखाउन चाहन्छन्। अनि चीनतर्फ सी सम्भवतः आफ्ना जनता र विश्वलाई आफूले ट्रम्पलाई अझ युक्तिसङ्गत र मध्यमार्गी बन्न अनि सम्झौता गर्न तयार पारेको देखाउन चाहन्छन्।"

दुवै नेताले आआफ्ना देशमा ट्यारिफका कारण उत्पन्न प्रतिकूल परिस्थिति खेप्नुपरेको छ। ताजा तथ्याङ्कले अमेरिकाको अर्थतन्त्र आर्थिक वर्षको प्रथम तीन महिनामा खुम्चिएको देखाएपछि आर्थिक मन्दी फैलिन सक्ने डर हटाउन यो साता ट्रम्पले निकै सङ्घर्ष गर्नुपर्‍यो।

अमेरिकाले ट्यारिफ बढाउनुअघि नै चीनमा उपभोगको दर निरन्तर घट्दो क्रममा थियो, घरजग्गाजस्ता अचल सम्पत्तिको क्षेत्र सङ्कटग्रस्त थियो र बेरोजगारीको समस्या ज्यूँका त्यूँ थियो। सीले चिनियाँ जनतालाई आफू व्यापार युद्ध अन्त्य गर्न र देशको अर्थतन्त्र जोगाउन सक्षम रहेको भनेर आश्वस्त पार्नुपर्ने छ।

"व्यापार युद्धको यो बिन्दुमा दुवै जनालाई यसपालि विजेता एक्लैले सबै कुरा हात पार्दैन भन्ने कुरा थाहा छ," सङ भन्छन्।

"ट्रम्पलाई आफूले चाहेको शत प्रतिशत कुरा आफ्नो हात पर्दैन भन्ने थाहा छ। त्यसैले उनी आन्तरिक कारणले आफू विजेता रहेको देखिन चीनले देओस् भनेर एउटा सहज बिन्दुको खोजीमा छन्।"

त्यसका लागि चीन अनिच्छुक नभएको ठान्ने सङ भन्छन्, "उनीहरू अधिकतम फाइदा हुने बिन्दुमा अल्झिएका छन्।"

यो सामग्री प्रकाशित हुँदासम्म अमेरिकाले चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताको भनाइको खण्डन गरेको छैन। चोङका अनुसार दुवै पक्षले सम्भावित वार्ताबारे बोल्नुको अर्थ उनीहरूबीच "कुनै न कुनै प्रकारको सम्पर्क भएको छ"।

"दुई पक्षबीच कुराकानी हुँदै छ," उनी भन्छन्। "अनि त्यो कुनै निकास फेला पर्न सक्छ भन्ने कुराको सङ्केत हो।"

तर वार्ता सुरु हुनासाथ अमेरिका र चीनबीचको सम्बन्ध स्थिर हुन थाल्छ भन्ने छैन।

"प्रत्येक पक्षले अर्को पक्षबाट छुट पाउने आशा राख्न सक्छन्। त्यसैले एउटा पक्षले आँखा नझिम्काउँदासम्म यो तनाव कायम रहन्छ," चोङ भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।