चीनको चेतावनीपछि अमेरिकासँगको व्यापार युद्धमा अरू देश पनि तानिने खतरा

तस्बिर स्रोत, Getty Images
- Author, हाओ डा सिल्भा
- Role, व्यापार संवाददाता, बीबीसी न्यूज
बेइजिङको स्वार्थमा धक्का पुग्ने गरी अमेरिकासँग सम्झौता गर्ने मुलुकहरूविरुद्ध बदला लिने चीनले चेतावनी दिएको छ।
चीनसँगको व्यापार सीमित पारेमा आफूले ती मुलुकलाई ट्यारिफमा केही छूट दिने योजना अमेरिकाले बनाइरहेका विवरणका माझ चीनको उक्त टिप्पणी आएको हो।
यसले विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्रबीच चर्किएको व्यापार युद्धमा अन्य मुलुकहरू पनि तानिने खतरा बढाएको छ।
अमेरिका वार्तामा रहँदा चीनको चेतावनी

तस्बिर स्रोत, Reuters
ट्यारिफको विषयमा ट्रम्प प्रशासनले उसका व्यापारिक साझेदारहरूसँग वार्ता थालेको छ। वाशिङ्टन भ्रमणमा आएको जापानी प्रतिनिधिमण्डलसँग गत साता वार्ता भएको थियो भने दक्षिण कोरियासँगको वार्ता यसै साता सुरु हुँदै छ।
ज्यानुअरीमा ह्वाइट हाउसमा फर्किएयता ट्रम्पले चीनविरुद्ध चर्को ट्यारिफ लगाइसकेका छन् भने अन्य देशविरुद्ध पनि आयात शुल्कहरू बढाइएका छन्।
"तुष्टीकरणले शान्ति निम्याउँदैन, अनि सम्झौताले सम्मान दिलाउँदैन," चिनियाँ वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भने।
"चीनको स्वार्थको मूल्यमा कुनै पक्षले सम्झौता गर्ने कामको चीन सशक्त विरोध गर्छ। यदि त्यसो भएमा चीनले कदापि स्वीकार्ने छैन र सशक्त कदम चाल्ने छ।"
गत साता सरकारनियन्त्रित चिनियाँ अखबार 'चाइना डेली'मा प्रकाशित सम्पादकीयमा त्यस्तै भावना व्यक्त गरिएको थियो। त्यसमा अमेरिकाको 'तुष्टीकरण' नगर्न युरोपेली युनियनलाई चेताइएको थियो।
अमेरिकाले ट्यारिफ वार्ताको उपयोग गरेर दर्जनौँ देशहरूलाई तिनको चीनसँगका व्यापारमा नयाँ अवरोधहरू खडा गर्न दबाव दिन लागेका विवरणहरू आएपछि चीनमा पछिल्ला टिप्पणीहरू गरिएका हुन्।
बीबीसीले अमेरिकाको अर्थ मन्त्रालय एवं व्यापार प्रतिनिधिको कार्यालयसमक्ष यी विवरणहरूबारे जबाफ सोधेको छ।
अरू देश अप्ठेरोमा

तस्बिर स्रोत, Reuters
ट्यारिफ घोषणापश्चात् ७० भन्दा धेरै देशहरूले अमेरिकासँग व्यापार वार्ता थाल्न खोजिरहेको ट्रम्पले भनेका छन्।
यस अवस्थामा अरू देशहरू अप्ठेरोमा परेको देखिएको छ।
"सङ्ख्या केलाउनु हुन्छ भने जापानको नाफाको करिब २०% अमेरिकासँगबाट हुन्छ भने करिब १५% चीनसँगबाट हुन्छ," जापानी अनलाइन ट्रेडिङ् प्ल्याट्फर्म मोनेक्स ग्रुपका जेस्पर कोलले भने।
"निश्चय पनि जापानले अमेरिका र चीनमध्ये एउटा छान्न चाहने छैन।"
जापानका वरिष्ठ वार्ताकार र्योसेइ आकाजावाले गत साता वाशिङ्टन डीसीमा अमेरिकी राष्ट्रपतिसँग भेटेर वाणिज्य वार्ता थालेका थिए।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सुले यसै साता उनको देशले अमेरिकासँग व्यापार वार्ता थाल्ने जानकारी दिएका छन्।
यसबीच दिल्ली भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने अपेक्षा गरिएको छ।
ट्रम्प प्रशासनसँग व्यापार सम्झौता नभएमा भारतले २६% ट्यारिफ बेहोर्नुपर्ने छ।
गत साता भान्सले यूकेसँग व्यापार सम्झौता हुने 'गतिलो सम्भावना' रहेको बताएका थिए।
"किअर स्टार्मरको सरकारसँग हामीले निश्चय पनि मेहनतका साथ काम गरिरहेका छौँ," अनहर्ड नामक वेबसाइटसँगको अन्तर्वार्तामा भान्सले भनेका थिए।
ट्रम्पले कार्यभार सम्हालेसँगै ट्यारिफबारे कैयन् घोषणाहरू भएका छन्।
ट्रम्पद्वारा ट्यारिफको प्रशंसा

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपतिले आयात गरिएका वस्तुहरूमा लगाइने शुल्कका कारण अमेरिकी उपभोक्ताहरू अमेरिकामै बनेका वस्तु किन्न प्रेरित हुने, सरकारले कर धेरै उठाउन पाउने तथा देशभित्रै ठूल्ठूला लगानी हुने बताएका छन्।
तर आलोचकहरूले चाहिँ अमेरिकामा उत्पादनमूलक उद्योगहरू भित्र्याउने काम जटिल भएको बताएका छन्। त्यसका लागि दशकौँ लाग्न सक्ने र त्यतिन्जेल अर्थतन्त्रले चुनौती बेहोर्ने उनीहरू बताउँछन्।
आफ्नै केही घोषणाहरू ट्रम्पले फिर्ता पनि लिएका छन्।
यो महिनाको आरम्भमा अमेरिकाका दर्जनौँ व्यापारिक साझेदार देशहरूमाथि थोपरिएको चर्को ट्यारिफ लागु भएको केही घण्टापछि नै उनले फिर्ता लिए।
बजारले देखाएको प्रतिक्रिया अनि राजनीतिज्ञहरूबाट भएका विरोधका माझ उनले चीनबाहेक बाँकी देशको हकमा चर्को ट्यारिफ लागु गर्ने कामलाई ९० दिन स्थगन गरेका छन्।
चीनबाट हुने आयातमा उनले १४५% सम्म ट्यारिफ लगाइदिएका छन्। अरू देशलाई भने जुलाईसम्मका लागि उनले १०% ट्यारिफ लगाएका छन्।
विद्यमान ट्यारिफहरूका अतिरिक्त नयाँ ट्यारिफ लाग्ने हुँदा कतिपय चिनियाँ सामानमा २४५% सम्म ट्यारिफ लाग्ने उनको प्रशासनले गत साता जानकारी दिएको थियो।
जबाफमा चीनले अमेरिकी वस्तुहरूमाथि १२५% ट्यारिफ लगाइदिएको छ र उसले 'आखिरीसम्म लड्ने' भनेको छ।
विश्वका दुई आर्थिक महाशक्तिबीचको व्यापार युद्धले यो महिनाको सुरुमा विश्वव्यापी वित्तीय बजारहरूमा कम्पन ल्याएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








