अमेरिकामा डिजाइन भएर चीनमा बन्ने एपललाई ट्रम्पको कर नीतिको सकस

चीन एप्पलको दोस्रो ठूलो बजार हो जहाँ एक अर्बभन्दा बढी उपभोक्ता छन्

तस्बिर स्रोत, Getty Images

    • Author, आनाबेल लियाङ
    • Role, व्यापार संवाददाता

प्रत्येक आईफोनमा एउटा लेबल हुन्छ जसले तपाईँलाई त्यो क्यालिफोर्नियामा डिजाइन गरिएको भन्ने बताउँछ।

हामी धेरैको जीवन चलाउने यो चिल्लो र पातलो वस्तु वास्तवमा अमेरिकामा डिजाइन गरिएको भए पनि, सम्भवतः हजारौँ माइल टाढा पर्ने चीनमा यसले जीवन पाएको हुनसक्छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको करबाट यो देश सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ अहिले केही चिनियाँ आयातमा २४५ प्रतिशत भन्सार शूल्क लागेको छ।

एपलले प्रत्येक वर्ष २२ करोडभन्दा बढी आईफोनहरू बिक्री गर्छ। धेरैले अनुमान गरे अनुसार १० मध्ये नौवटा ती फोन चीनमा बन्छन्।

चम्किलो स्क्रिनदेखि ब्याट्रीसम्म, एपल उत्पादनका धेरैजसो अवयवहरू चीनमा बनाइन्छ र आईफोन, आईप्याड वा म्याकबुकहरूमा एसेम्बल गरिन्छ।

ती धेरैजसो एपलको सबैभन्दा ठूलो बजार अमेरिकामा पठाइन्छ।

भाग्यवश: उक्त कम्पनीका लागि ट्रम्पले गत साता अचानक स्मार्टफोन, कम्प्युटर र केही अन्य इलेकट्रोनिक उपकरणहरूलाई करबाट छुट दिए।

तर यो सुविधा क्षणिक समयका लागि मात्रै हो।

राष्ट्रपति ट्रम्पले त्यसबेलादेखि नै थप करहरू लागु हुने बताउँदै आएका छन्: "कसैले पनि 'छुटकारा पाउन' सक्दैनन्", उनले ट्रुथ सोसलमा लेखे।

एपलले आफ्नो शक्तिको रूपमा प्रस्तुत गरेको विश्वव्यापी आपूर्ति प्रणाली अहिले जोखिममा परेको छ।

विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन एकअर्कामाथि निर्भर छन् र ट्रम्पले घोषणा गरेको आश्चर्यजनक करले त्यो सम्बन्धलाई रातारात उल्ट्याएको छ।

त्यसले गर्दा एउटा अपरिहार्य प्रश्न खडा भएको छ: यी दुईमध्ये को बढी निर्भर छन्?

कुनै बेला टेको दिएको चीन कसरी खतरा बन्यो

विश्वको सबैभन्दा मूल्यवान् कम्पनीहरूमध्ये एकको लागि एसेम्बली लाइनहरू आयोजना गरेर चीनले ठूलो फाइदा उठाएको छ।

गुणस्तरीय उत्पादनका निम्ति पश्चिमा देशहरूको लागि यो एउटा आह्वान थियो र यसले स्थानीय नवप्रवर्तनलाई प्रोत्साहन गर्न मद्दत गरेको छ।

एपल सन् १९९० को दशकमा तेस्रो-पक्ष आपूर्तिकर्ताहरूमार्फत कम्प्युटर बेच्न चीनमा प्रवेश गरेको थियो।

सन् १९९७ तिर जब एपल प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न सङ्घर्षरत थियो र टाट पल्टिने सङ्घारमा थियो, एपलले चीनमा एउटा टेको फेला पारेको थियो।

त्यसबेला उदाउँदै गरेको चिनियाँ अर्थतन्त्रले उत्पादन बढाउन र थप रोजगारी सिर्जना गर्न विदेशी कम्पनीहरूका लागि ढोका खोलिरहेको थियो।

चीनमा एप्पलको पहिलो स्टोर सन् २००८ को जुलाई १९ मा बेइजिङमा खुलेको थियो

तस्बिर स्रोत, Getty Images

सन् २००१ मा मात्र एपल आधिकारिक रूपमा साङ्घाईमा रहेको व्यापारिक कम्पनीमार्फत चीन आइपुगेको थियो र त्यहाँ उत्पादन गर्न थालेको थियो।

यसले चीनमा सञ्चालित ताइवानी इलेक्ट्रोनिक निर्माता फक्सकनसँग साझेदारी गरेर आईपड, त्यसपछि आईम्याक र त्यसपछि आईफोनहरू बनाएको थियो।

बेइजिङले विश्वसँग व्यापार गर्न थाल्दैगर्दा र अमेरिकाबाट पनि प्रोत्साहित भएपछि एपलले विश्वमा आफ्नो उपस्थिति बढाउँदै लग्यो।

त्यतिबेला चीन आईफोन बनाउन तयार थिएन। तर आपूर्ति प्रणाली सम्बन्धी विज्ञ लिन शुअपिङका अनुसार एपलले आफ्नै आपूर्तिकर्ताहरू छानेर उनीहरूलाई "निर्माण सुपरस्टार" बन्न मद्दत गर्‍यो।

एपलले चीनमा आफ्नो पहिलो स्टोर २००८ मा बेइजिङमा खोलेको थियो। त्यस वर्ष बेइजिङमा ओलिम्पिक आयोजना भएको थियो र पश्चिमसँग चीनको सम्बन्ध त्यसबेलासम्मकै उच्च थियो।

त्यसपछि चाँडै नै एपलका स्टोरहरू ५० वटा भए र ग्राहकहरू तिनका ढोकाअघि लाइन बस्न थाले।

एपलको नाफा फराकिलो रूपमा बढ्दै जाँदा चीनमा यसको एसेम्बली गर्ने काम समेत विस्तार हुँदै गयो।

फक्सकनले जेङजाउमा विश्वको सबैभन्दा ठूलो आईफोन कारखाना सञ्चालन गर्‍यो र त्यसयता उक्त सहरलाई "आईफोन सिटी" भनिन्छ।

द्रुत गतिमा अघि बढिरहेको चीनका लागि एपल सरल तर मौलिक र आकर्षक उन्नत पश्चिमा प्रविधिको प्रतीक बन्न पुग्यो।

अहिले एपलका धेरैजसो महङ्गा आईफोनहरू फक्सकनले नै बनाउँछ।

ती फोनमा राखिने उन्नत किसिमका चीपहरू ताइवानमा बन्छन्। विश्वको सबैभन्दा ठूलो चीप निर्माता टीएसएमसीले ती चीप बनाउँछ।

उत्पादनका लागि अडिओ एप्लिकेसन्स र क्यामेराहरूमा प्रयोग हुने रेअर अर्थ पदार्थहरू आवश्यक पर्छ।

निक्केई एसियाको विश्लेषण अनुसार सन् २०२४ मा एपलका प्रमुख १८७ आपूर्तिकर्ताहरूमध्ये लगभग १५० वटाका उद्योग चीनमा थिए।

"हाम्रो लागि संसारमा चीनभन्दा महत्त्वपूर्ण कुनै आपूर्ति प्रणाली छैन," एपलका सीईओ टिम कुकले गत वर्ष एक अन्तर्वार्तामा भनेका थिए।

करको जोखिम - कल्पना वा महत्त्वाकाङ्क्षा?

ट्रम्पको पहिलो कार्यकालमा चीनमा लगाएको करमा एपलले छुट सुरक्षित गरेको थियो।

तर यसपटक ट्रम्प प्रशासनले केही इलेक्ट्रोनिक्समा कर उल्टाउनुअघि एपलको उदाहरण प्रस्तुत गरेको छ।

कर बढ्दा त्यसले व्यवसायहरूलाई अमेरिकामा नै उत्पादन गर्न प्रोत्साहित गर्ने आफ्नो विश्वास रहेको ट्रम्प प्रशासनले बताएको छ।

ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलाईन लेभिटले गत साता दोहोर्‍याएर भनिन्: "अमेरिका सेमिकन्डक्टर, चिप्स, स्मार्टफोन र ल्यापटपजस्ता महत्त्वपूर्ण प्रविधिहरू निर्माण गर्न चीनमा भर पर्न नसक्ने राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका छन्।"

उनले थपिन्: "राष्ट्रपतिको निर्देशनमा यी कम्पनीहरूले अमेरिकामा आफ्नो उत्पादनलाई सकेसम्म छिटो सार्न हतारिरहेका छन्।"

तर धेरैले यसमा शङ्का व्यक्त गरेका छन्।

एपलले आफ्नो एसेम्बली सञ्चालन अमेरिकामा सार्न सक्छ भन्ने सोच "विशुद्ध काल्पनिक" भएको पहिला उक्त कम्पनीका शैक्षिक सल्लाहकार बोर्डमा रहेका एली फ्राइडम्यानले बताए।

उनले आफू बोर्डमा रहँदा कम्पनीले सन् २०१३ देखि नै चीनबाट टाढा आफ्नो आपूर्ति प्रणाली विस्तार गर्नेबारे कुरा गरिरहेको भए पनि अमेरिका कहिल्यै विकल्पमा नरहेको बताए।

"एसेम्बली गर्न सबैभन्दा महत्त्वपूर्ण नयाँ ठाउँहरू भियतनाम र भारत भएका छन्। तर एपलको अधिकांश एसेम्बली अझै पनि चीनमा हुन्छ।"

एपलले बीबीसीका प्रश्नहरूको जवाफ दिएन तर यसको वेबसाइटले यसको आपूर्ति प्रणाली "हजारौँ व्यवसाय र ५० भन्दा बढी देशहरूमा" फैलिएको जनाएको छ।

फक्सकन जस्ता विदेशी निर्माताहरूको लागि चीनको आपूर्ति प्रणाली प्रमुख आकर्षण हो

तस्बिर स्रोत, Getty Images

भावि चुनौतीहरू

कोभिड महामारीपछि फेरि आफ्नो आर्थिक वृद्धिका लागि प्रयासरत चीनका लागि एपलको अहिलेको आपूर्ति प्रणालीमा कुनै पनि परिवर्तन ठूलो धक्का हुनेछ।

सन् २००० को दशकको सुरुवातमा चीन पश्चिमा कम्पनीहरूको लागि उत्पादन केन्द्र बन्न चाहनुका धेरै कारणहरू अहिले सत्य साबित भएका छन्।

उसले लाखौँ रोजगारी निर्माण गर्‍यो र विश्वव्यापी व्यापारलाई एउटा महत्त्वपूर्ण धार दियो।

"अमेरिका-चीन तनावको चौघेरामा एपल रहेको छ र आयात शुल्कले त्यसको मूल्यलाई उजागर गरेको छ," आपूर्ति प्रणाली र सञ्चालन सल्लाहकार जिगर दीक्षितले भने।

चीन ट्रम्पको धम्कीसामु किन झुकेको छैन भनेर सायद यसले व्याख्या गरेको छ। बरु उसले अमेरिकी आयातमा १२५% कर लगाएर बदला लिइरहेको छ।

चीनले भण्डारहरूमा रहेका (रेअर अर्थ) पदार्थ र चुम्बकहरूमा निर्यात नियन्त्रण पनि कायम गरेको छ जसले अमेरिकालाई ठूलो धक्का दिएको छ।

अन्य चिनियाँ क्षेत्रहरूमा अझै पनि लगाइँदै आइएका अमेरिकी करले नोक्सान पुर्‍याउने कुरामा भने कुनै शङ्का छैन।

त्यसो भए एपलले अब के गर्छ?

सन् २०२४ को सेप्टेम्बरमा ग्वाङ्जाओमा रहेको एप्पलको स्टोरमा बिक्रीको पहिलो दिन

तस्बिर स्रोत, Getty Images

चीनले अमेरिकासँगको प्रतिस्पर्धामा उन्नत प्रविधि उत्पादनको लागि जोड दिँदै गर्दा एपलले चिनियाँ कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहनु परेको छ।

गत वर्ष ह्वावेइ र भिभोका कारण एपलले चीनको सबैभन्दा ठूलो स्मार्टफोन विक्रेताको रूपमा आफ्नो स्थान गुमायो। सुस्त अर्थतन्त्रका कारण चिनियाँहरूले पर्याप्त खर्च गरिरहेका छैनन् र चीनमा च्याटजीपीटी प्रतिबन्धित भएकाले एपलले एआई-सञ्चालित फोन खोज्नेहरूमाझ आफ्नो अग्रता कायम राख्न सङ्घर्षरत छ।

यसले बिक्री बढाउन ज्यानुअरीमा आईफोनहरूमा बिरलै दिइने छुटहरू समेत दियो।

एपलले अमेरिकामा ५०० अर्ब डलर लगानीको घोषणा गरे तापनि त्यो लामो समयसम्म ट्रम्प प्रशासनलाई खुसी पार्न पर्याप्त नहुन सक्छ।

ट्रम्पले घोषणा गरेका करबारे धेरै अनिश्चितता रहेका कुरा ध्यानमा राख्दै र थप अप्रत्याशित करहरू लाग्न सक्ने ठानिएका बेला त्यसले एपल कम्पनीलाई फेरि गम्नका लागि थोरै ठाउँ र समय दिन सक्छ।

स्मार्टफोनमाथि लाग्ने करले एप्पललाई कमजोर बनाउने छैन तर त्यसले आपूर्ति प्रणालीमा "सञ्चालन र राजनीतिक दुवै रूपमा दबाब" थप्ने दिक्षितले बताए।

"तत्कालका लागि सङ्कटको गम्भीरता घटेको प्रस्ट छ," फ्राइडम्यानले गत साता स्मार्टफोनको लागि छुट दिइएको कुरालाई उल्लेख गर्दै भने।

"तर मलाई लाग्छ यसको अर्थ एपल आरामसँग बस्न सक्छ भन्ने होइन।"

फान वाङको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।