बन्दरगाह शुल्क बढाएर चिनियाँ पानीजहाजलाई 'प्रहार गर्ने' अमेरिकी योजना, पर्न सक्छ यस्तो असर

अमेरिकामा चिनियाँ जहाज

तस्बिर स्रोत, Getty Images

    • Author, टम एस्पिनर र पीटर हस्किन्स
    • Role, व्यापार संवाददाता, बीबीसी न्यूज

आफ्नो देशको पानीजहाज निर्माण उद्योगलाई पुनर्जीवित गरी उक्त उद्योगमा चीनको प्रभुत्वलाई चुनौती दिने भन्दै अमेरिकाले चिनियाँ पानीजहाजहरूमा नयाँ बन्दरगाह शुल्क लगाउने योजना सार्वजनिक गरेको छ।

उक्त योजनाअनुसार आगामी अक्टोबरको मध्यदेखि चिनियाँ मालवाहक पानीजहाजका मालिक तथा सञ्चालकहरूलाई प्रतिटन कार्गोबापत ५० अमेरिकी डलर शुल्क लगाइने छ र त्यो आगामी तीन वर्षसम्म प्रत्येक वर्ष त्यो शुल्क बढ्ने छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कर नीतिका कारण विश्वव्यापी व्यापार अस्तव्यस्त बनेका बेला सार्वजनिक उक्त नयाँ योजनाका कारण विश्वव्यापारमा थप बाधाहरू उत्पन्न हुने चिन्ता बढेको छ। यद्यपि अमेरिकाले चिनियाँ पानीजहाजहरूमा लगाउन लागेको शुल्क भनी पहिले सार्वजनिक भएका विवरणभन्दा अहिलेको योजनामा उल्लेख भएको शुल्क न्यून देखिन्छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले आफ्नो देशका पानीजहाजहरूमा लगाएको शुल्कका कारण अमेरिकी उपभोक्ताहरू महँगीको मारमा पर्ने र यसले "अमेरिकी जहाज निर्माण उद्योगलाई पुनरुत्थान पनि नगर्ने" बताएका छन्।

तर अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) ले भनेका छन्, "चीनले धेरै हदसम्म आफ्नो प्रभुत्व फैलाउने लक्ष्य हासिल गरेको छ र त्यसले अमेरिकी कम्पनी, कामदार र अमेरिकी अर्थतन्त्रलाई गम्भीर रूपमा हानि पुर्‍याएको छ।"

कति शुल्क

चिनियाँ पानीजहाजका मालिकहरू र चीनमा निर्माण गरिएका पानीजहाजका सञ्चालकहरूका निम्ति तोकिएको शुल्क उनीहरूको जहाजमा रहेका कार्गोको तौलका आधारमा रहेको छ।

त्यो उनीहरूले कति कन्टेनरहरू बोकेका हुन्छन् वा जहाजमा कति सवारीसाधनहरू हुन्छन् भन्नेमा आधारित हुने छ।

चिनियाँ पानीजहाजहरूमा आगामी तीन वर्षसम्म हाल प्रतिटन ५० डलर तोकिएको कार्गो शुल्क प्रतिटन प्रतिवर्ष ३० डलरका दरले वृद्धि हुने छ।

चीनमा निर्मित पानीजहाजहरूमा पनि प्रतिटन १८ डलर वा प्रतिकन्टेनर १२० डलर शुल्को तोकिएको छ र त्यो पनि आगामी तीन वर्षसम्म लगातार बढ्ने छ।

अमेरिकामा निर्माण नभएका कार बोक्ने पानीजहाजहरूमा प्रति सवारीसाधन १५० डलर शुल्क लगाइने छ।

कस्तो असर पर्ला

चीनको तियान्जिन बन्दरगाहमा चिनियाँ पानीजहाज

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, चीनको तियान्जिन बन्दरगाहमा चिनियाँ पानीजहाज

नयाँ नीतिबाट प्रभावित हुने पानीजहाजहरूमा प्रतियात्रा एक पटक शुल्क लागु हुने छ तर वर्षमा पाँच पटकभन्दा बढी त्यस्तो शुल्क लाग्दैन।

यूएसटीआरले चिनियाँ पानीजहाजको एउटा खेपमा कति वटा चिनियाँ जहाजहरू छन् भन्ने आधारमा वा नयाँ किन्न लागिएका वा 'अर्डर' दिन लागिएका चिनियाँ जहाजहरूमा शुल्क नलाग्ने निर्णय पनि गरेको छ। तर सुरुमा उसले त्यस्ता जहाजमा पनि शुल्क लगाउने प्रस्ताव गरिएको थियो।

कोइला वा अन्नजस्ता थोक निर्यातमूलक सामग्री लिन अमेरिकी बन्दरगाहहरूमा आइपुगेका खाली जहाजहरूलाई पनि छुट दिइने छ।

त्यस्तै अमेरिकाका विभिन्न बन्दरगाहहरूमा, क्यारेबीअन टापुहरूमा र अमेरिका तथा क्यानडाका ग्रेट लेकमा बोलाइएका जहाजहरूमा पनि शुल्क नलाग्ने बताइएको छ।

अहिले ल्याइएको योजना गत फेब्रुअरीमा एउटा चिनियाँ जहाजले भ्रमण गर्ने प्रत्येक अमेरिकी बन्दरगाहका निम्ति १५ लाख डलरसम्म शुल्क लगाउने योजनाको तुलनामा धेरै कम हो।

यद्यपि ट्रम्पको करका कारण विश्वव्यापी व्यापार अवरुद्ध भएको बेला यो घोषणा आउँदा त्यसको असर व्यापक हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

लगातार चीनलक्षित कर लगाउँदै ट्रम्प

चीनको शाङ्घाईमा पानीजहाज

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, चीनको शाङ्घाईमा पानीजहाज

गत ज्यानुअरीमा ह्वाइट हाउस प्रवेश गरेदेखि ट्रम्पले चिनियाँ सामानहरूमा लगातार कर लगाइरहेका छन्।

उनले चिनियाँ उत्पादनहरूमा अधिकतम १४५ प्रतिशतसम्म कर लगाइदिएका छन्। अन्य अधिकांश देशहरूले पनि जुलाईदेखि १० प्रतिशत अमेरिकी करको सामना गर्नुपर्ने अवस्था छ।

उनको प्रशासनले यसै साता नयाँ करका दरहरू जोडिएपछि केही चिनियाँ सामानहरूमा लाग्ने कुल करको दर २४५ प्रतिशतसम्म पुग्ने बताएको छ।

चार्टर्ड इन्स्टिट्यूट अफ एक्पोर्ट एन्ड इन्टर्न्याशनल ट्रेडका महानिर्देशक मार्को फोर्जिआन अमेरिकी परिवर्तनका कारण त्यसले युरोप तथा यूकेमा चिनियाँ मालवाहक पानीजहाजहरूको सङ्ख्या बढ्न थालेको बताउँछन्।

उनका भनाइमा अहिले पहिलेको तुलनामा धेरै कन्टेनरहरू यूकेमा आइरहेका छन्।

उनले भने, "हामीले चीनबाट धेरै पानीजहाजहरूले बाटो मोडिरहेको देखेका छौँ। उनीहरू अमेरिकाका लागि हिँडेका थिए तर बाटो मोडेर यूके र ईयूमा प्रवेश गरे। "

सन् २०२५ का पहिला तीन महिनामा चीनबाट यूकेमा हुने आयात करिब १५ प्रतिशत र युरोपेली सङ्घमा हुने आयात करिब १२ प्रतिशतले बढेको छ।

"त्यो राष्ट्रपति ट्रम्पले जे गरिरहेका छन्, त्यसको प्रत्यक्ष प्रभाव हो," उनले भने। उनी अनिश्चितता र अवरोधहरूका कारण उपभोक्ताका निम्ति मूल्य निकै बढ्न सक्ने चेतावनी दिन्छन्।

युरोपतिर बढ्दो चिनियाँ कार्गो

लजिस्टिक फर्म फ्लेक्सपोर्टका अध्यक्ष सान मान्डर्सले यो वर्षको पहिलो तीन महिना द नेदरल्यान्डस्, जर्मनी र बेल्जिअमका बन्दरगाहहरूमा कर तथा हड्तालका कारण अवरोध जारी रहेको बताए।

उनका अनुसार यूकेमा लागेको पानीजहाजहरूको भिड निकै चिन्ताजनक देखिएको छ। त्यस्तै युरोपका अन्य केही क्षेत्रमा पनि त्यस्तै अवस्था बनेको छ।

उनले अमेरिकी नीतिका कारण अब थप कार्गोहरू युरोपतर्फ मोडिने र त्यसले त्यहाँ भिडभाड निम्त्याउने चिन्ता व्यक्त गरे।

उनले पानीजहाज व्यापारीहरूले नयाँ बजार खोजिरहेको र आपूर्ति श्रृङ्खला नै परिवर्तन हुन सक्ने पनि बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।