विश्वभरि आर्थिक वृद्धिदरमा 'ठूलो गिरावट हुने' र अमेरिका बढी प्रभावित हुने प्रक्षेपणका कारण

मालवाहक पानीजहाज

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, व्यापार नीतिमा अनिश्चयका कारण वैश्विक अर्थतन्त्रलाई नै धक्का पुग्ने आईएमएफको प्रक्षेपण छ
    • Author, निक एड्सर
    • Role, व्यापार संवाददाता, बीबीसी न्यूज

व्यापार ट्यारिफले निम्त्याएको अनिश्चयका माझ धनी देशहरूमध्ये संयुक्त राज्य अमेरिकाको आर्थिक वृद्धिदरको प्रक्षेपणमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले ठूलो कटौती गरेको छ।

ज्यानुअरी महिनामा कोषले अमेरिकाको यो वर्षको आर्थिक वृद्धिदर २.७% हुने प्रक्षेपण गरेको थियो।

अहिले उसले त्यसलाई घटाएर १.८% मात्र हुने भनेको छ।

विश्वभरि कस्तो असर

ट्यारिफ वा आयात शुल्कमा चर्को वृद्धि तथा अनिश्चयले विश्वव्यापी आर्थिक वृद्धिमा 'उल्लेखनीय शिथिलता' आउने कोषले प्रक्षेपण गरेको छ।

उसले यूकेका लागि गरिएको प्रक्षेपणमा पनि कटौती गरेको छ। उसका अनुसार अब यो वर्ष यूकेको वृद्धिदर १.१% मात्र हुने छ। तर जर्मनी, फ्रान्स र इटलीको तुलनामा यूकेको आर्थिक वृद्धि धेरै हुने पनि उसले भनेको छ।

मुद्रास्फीति वा महँगी दरको हकमा चाहिँ विशेष गरी ऊर्जा र पानीका शुल्कहरूमा वृद्धिका कारण यूकेमा सम्पन्न देशहरूमध्येकै उच्च महँगी दर ३.१% हुने कोषले बताएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्याङ्कका बैठकका निम्ति वरिष्ठ आर्थिक नीतिनिर्माताहरू वाशिङ्टनमा भेला हुँदै गर्दा यस्तो ताजा प्रक्षेपण गरिएको हो।

कोषमा प्रमुख अर्थशास्त्री पिएर-ओलिभिए गुराँशा विश्वको अर्थतन्त्र "विगत चार वर्षका गम्भीर धक्काहरूबाट अझै प्रभावित भएको" बताएका छन्।

"अहिले आएर फेरि नयाँ चुनौती थपिएको छ," उनले भने।

चीन-अमेरिका ट्यारिफ युद्ध

ट्रम्प र सी जिन्पिङ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकाले चर्को ट्यारिफ लगाइदिएपछि चीनले पनि बदलामा ट्यारिफ लगाइदिएको छ

ट्रम्पले यो वर्ष ट्यारिफबारे कैयौँ घोषणाहरू गरे।

चर्कँदो व्यापार युद्धका माझ अमेरिकाले चिनियाँ आयातमा १४५% ट्यारिफ लगाइदिएको छ भने जबाफमा चीनले अमेरिकी आयातमा १२५% शुल्क लगाइदिएको छ।

बहुसङ्ख्यक मुलुकहरूलाई ट्रम्पले १०% ट्यारिफ लगाइदिएका छन्। दर्जनौँ मुलुकहरूमा उनले घोषणा गरेका चर्का ट्यारिफ चाहिँ ९० दिनका लागि स्थगन गरिएको छ।

ट्यारिफका कारण अमेरिकी उपभोक्ताले बढ्ता अमेरिकी सामान किन्ने, सरकारी राजस्व बढ्ने अनि देशभित्र ठूलो स्तरमा लगानी हुने ट्रम्पले भन्दै आएका छन्।

तर अहिलेको दुनियाँमा आपूर्ति शृङ्खलाहरू अन्तरसम्बन्धित रहने हुँदा ट्यारिफले विश्वभरि व्यापारमा पार्न सक्ने सम्भावित नकारात्मक प्रभावबारे आईएमएफले सचेत गराएको छ।

आफूहरूले वैश्विक अर्थतन्त्रको वृद्धिको प्रक्षेपणमा कटौती गर्नुका पछाडि व्यापारनीतिमा देखा परेका अनिश्चय मूल कारक रहेको गुराँशाले बताए।

"बढ्दो अनिश्चयका सामु…कैयौँ कम्पनीहरूको प्रारम्भिक प्रतिक्रिया भनेको रोकिनु, लगानी घटाउनु तथा खरिद कटौती गर्नु हुने छ।"

यो वर्ष वैश्विक अर्थतन्त्र २.८%ले मात्र विस्तार हुने कोषको प्रक्षेपण छ। उसले यसअघि गरेको प्रक्षेपणमा वैश्विक अर्थतन्त्र यो वर्ष ३.३% अनि सन् २०२६ म ३.०% ले बढ्ने भनिएको थियो।

किन अमेरिकामा धेरै असर

अमेरिकी वृद्धिदरको प्रक्षेपणमा गरिएको कटौतीका कारणहरूमा त्यहाँ विद्यमान नीतिगत अनिश्चय, व्यापार तनाव अनि अपेक्षितभन्दा कम उपभोक्ता खर्च रहेको आइएमएफले जनाएको छ। सन् २०२६को वृद्धिदरलाई पनि ट्यारिफले प्रभाव पार्ने भनिएको छ।

यो वर्ष अमेरिकी अर्थतन्त्रमा मन्दी छाउने सम्भावना ४०% रहेको कोषले अनुमान गरेको छ। गत वर्ष अक्टोबरमा उसले यस्तो सम्भावना २५% मात्र रहेको अनुमान गरेको थियो।

चीनको आर्थिक वृद्धिदर यो वर्ष ४% रहने आइएमएफको ताजा प्रक्षेपण छ। यसअघि उसले चीनको वृद्धिदर ४.६% हुने भनेको थियो।

यूकेको हकमा ट्यारिफका प्रभाव, सरकारी कर्जाको उच्च लागत, तथा कमजोर उपभोक्ता खर्चका कारण वृद्धिदरमा कटौती गरिएको भनिएको छ।

अर्को वर्ष यूकेको वृद्धिदर १.४% हुने कोषको प्रक्षेपण छ।

आईएमएफका ताजा प्रक्षेपणप्रति टिप्पणी गर्दै यूकेकी चान्सलर रेचल रिभ्सले "यूकेको दीर्घकालीन वृद्धिलाई टेवा पुग्ने गरी गरिएका सुधार"का कारण युरोपेली जीसेभन मुलुकहरूमध्ये अझै पनि यूकेको वृद्धिदर सबभन्दा धेरै रहने भनेकी छन्।

रिभ्सले "विश्व बदलिएको" भन्दै यो साता आफू वाशिङ्टनमा जाने र त्यहाँ आफूले "ब्रिटेनको हित कायम राख्दै स्वतन्त्र र स्वच्छ व्यापारका लागि पैरवी गर्ने" बताइन्।

तर कन्जर्भेटिभ दलका छाया चान्सलर मेल स्ट्राइडले आईएमएफको प्रक्षेपणले "लेबरको आर्थिक नीतिप्रति चिन्ता" उब्जाएको बताए।

"आईएमएफले यूकेको वृद्धि प्रक्षेपण घटाएको छ। यसले लेबर पार्टीअन्तर्गत देशमा विश्वासको कमी र दिशाहीनताबारे गम्भीर चिन्ता उब्जाएको छ। साथै तिनले महँगी दरको प्रक्षेपण उल्लेखनीय रूपमा बढाएका छन्," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।