नेपालमा कस्ताकस्ता खनिज पदार्थ छन्, के युक्रेनमा जस्तै 'रेअर अर्थ' तत्त्वहरूको खानी पनि छ

पाल्पामा चुनढुङ्गा खानीको अनुगमन गर्दै खानी विभागका एक अधिकारी

तस्बिर स्रोत, DMG Nepal

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

तीन वर्षदेखि युद्धमा फसेको युक्रेन र रुसविरुद्ध जारी लडाइँमा उसको साझेदार रहेको संयुक्त राज्य अमेरिकाबीच हुने भनिएको तर दुई देशका राष्ट्रपतिबीच चर्चाचर्कीपछि हस्ताक्षर हुन नसकेको खनिज पदार्थसम्बन्धी सम्झौताले विश्वको ध्यानाकृष्ट भएको छ।

विश्वमा पाइनेमध्ये पाँच प्रतिशत "महत्त्वपूर्ण कच्चा खनिज" पदार्थहरू युक्रेनसँग रहेको भनिएकाले पनि त्यो बहुचर्चित सम्झौताप्रति पूरा विश्वको चासो बढेको छ।

युक्रेन-अमेरिका खनिज सम्झौताबारे चर्चा भइरहेका बेला नेपालमा पनि युक्रेनमा जस्तै खनिज पदार्थहरू छन् कि छैनन् भन्ने जिज्ञासा उत्पन्न भएको पाइएको छ।

खानी तथा भूगर्भ विभाग र विज्ञहरूका अनुसार नेपालमा "आर्थिक लाभ लिन सकिने उल्लेख्य खनिज पदार्थहरू भए पनि" तिनको सदुपयोग हुन सकेको छैन।

उनीहरू "देशमा कस्ता खनिजहरू छन् र तिनको उपयोग कसरी गर्न सकिन्छ" भन्नेबारे उच्च राजनीतिक नेतृत्व र नीतिनिर्माताहरूलाई समेत जानकारी नभएको अवस्था रहेको बताउँछन्। विज्ञहरूका अनुसार अझै पनि नेपालमा कस्ता खनिज कहाँ कति मात्रामा छन् भन्ने पर्याप्त अध्ययन तथा अनुसन्धान हुन सकेको छैन।

नेपालले कस्ता खनिजबाट लाभ लिन सक्छ

खानी क्षेत्रमा अनुसन्धानका लागि ड्रिल गर्ने उपकरण बोकेर लैजाँदै कामदारहरू

तस्बिर स्रोत, DMG Nepal

"हामीकहाँ अझै पनि सम्भावना देखिएका र सङ्केतहरू पाइएका कैयौँ खनिजबारे विस्तृत अध्ययन र अनुसन्धान हुन सकेको छैन," नेपाल भौगर्भिक समाजका भूतपूर्व अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा कविराज पौड्यालले भने।

उनका अनुसार अहिलेसम्मको अध्ययनले नेपालमा थौरै प्रकारका धातुहरूको उत्खनन मात्र आर्थिक हिसाबले फलदायक देखिएका छन् भने अधातुजन्य खनिजमा आर्थिक लाभ लिन सकिने प्रचुर सम्भावना देखिएको छ।

अधातु मानिने चुनढुङ्गाको उत्खनन गरेर नेपाली सिमेन्ट उद्योगहरूले स्वदेशी क्लिङ्करको प्रयोग बढाइरहेका छन्। "तर अन्य अधातुको पनि खासै उत्खनन हुन सकेको छैन," पौड्यालले भने।

खनिजसम्बन्धी अध्ययन तथा अनुसन्धान र उत्खननको अनुमति दिने जिम्मा पाएको खानी तथा भूगर्भ विभागको स्थापना भएपछि मात्र नेपालमा यस्ता तत्त्वबारे व्यवस्थित अध्ययन सुरु भएको बताइन्छ।

तर उक्त विभागका अधिकारीहरू पनि बजेट, प्राविधिक दक्षता, उपकरण, ज्ञान तथा सहजीकरण गर्ने कानुन एवं वातावरणको अभावमा कैयौँ सम्भावित खनिजको अध्ययन हुन नसकेको स्वीकार गर्छन्।

"अझै पनि हामीले प्राविधिक क्षमता बढाउन नसक्दा विस्तृत रूपमा खनिजहरूको अध्ययन र अनुसन्धान गर्न सकिरहेका छैनौँ," विभागका सिनिअर डिभिजनल जियोलजिस्ट तथा सूचना अधिकारी नारायण बाँस्कोटाले भने।

खानी तथा भूगर्भ विभागले नेपालका विभिन्न स्थानमा फेला परेका खनिज पदार्थ देखाउने नक्सा

तस्बिर स्रोत, DMG Nepal

तस्बिरको क्याप्शन, खानी तथा भूगर्भ विभागले नेपालका विभिन्न स्थानमा फेला परेका खनिज पदार्थ देखाउने नक्सा

नेपालमा कस्ता खनिज छन्

दैलेखस्थित पेट्रोलिअम खानी

तस्बिर स्रोत, DMG Nepal

तस्बिरको क्याप्शन, दैलेखमा पेट्रोलिअम खानीको अन्वेषण भइरहेको छ

उक्त विभागले नेपालका विभिन्न स्थानमा खनिजहरू रहेको पत्ता लगाउने र त्यसको नक्सा बनाउने काम भने गरेको छ। यद्यपि अझै पनि ती खनिजबाट कसरी आर्थिक लाभ हासिल गर्न सकिन्छ भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी छ।

विभागले सार्वजनिक गरेको एउटा विवरणमा भनिएको छ, "नेपालका विभिन्न भागहरूमा आर्थिक रूपले तत्काल लाभजनकदेखि साधारण उपस्थिति मात्र सम्मका १,००० भन्दा बढी खनिज स्थानहरू पहिचान भइसकेका छन्।"

"केही महत्त्वपूर्ण स्रोतहरूको विस्तृत अध्ययन भई उपलब्धता, गुणस्तर र मूल्यका आधारमा तिनीहरूको विशेषताहरूको मूल्याङ्कन गरिएको छ भने कतिपय खनिज जन्य उद्योगहरू स्थापना भई देशको अर्थतन्त्रमा योगदान गरिरहेका छन्।"

विभागले आर्थिक सम्भाव्यताको आधारमा खनिजलाई आर्थिक र प्राविधिक रूपमा फाइदा हुने खालका तत्त्वहरूलाई लाभदायक स्रोतका रूपमा वर्गीकरण गरेको छ।

यसैगरी गुणस्तर र लाभदायक प्रमाणित नभएकालाई "सह-लाभदायक स्रोत" र मोटाइ, ग्रेड, गहिराइ र विशेषताका आधारमा वर्तमानमा आर्थिक लाभ हुने ठानिएको सीमाभन्दा कम देखिएको अवस्था तर भण्डार हुन सक्ने ठानिएकोलाई खनिज भण्डारको स्रोत भन्ने गरेको छ।

त्यस्तै ससाना स्रोतहरूलाई खनिज तत्त्व उपस्थित भएको अवस्था मान्ने गरिएको विभागका दस्तावेजहरूमा उल्लेख गरिएको पाइन्छ।

विभागको विवरणमा भनिएको छ, "उपभोगका आधारमा नेपालका खनिजलाई हालसम्म धातु खनिज समूहका २१ वस्तु, अधातु औद्योगिक खनिज समूहका २३ वस्तु, रत्न तथा पत्थर समूहका ६ वस्तु, निर्माण सामग्रीका १० वस्तु र इन्धन खनिज समूहका चार वस्तु गरी कुल ६४ खनिज वस्तुलाई पहिचान गरिएको छ।"

चुनढुङ्गा खानी खानीमा प्राविधिक विशेषज्ञहरू

तस्बिर स्रोत, DMG Nepal

पहिचान भएका खनिजमध्ये धातुतर्फ एन्टिमोनी, आर्सेनिक, बिस्मथ, क्याड्मिअम, क्रोमिअम, कोबाल्ट, तामा, सुन, फलाम, सिसा, जस्ता, लिथिअम, पारो, मोलिब्डेनम, नीकल, चाँदी, ट्यान्टलम/निअओबिअम, टिन, टाइटेनिअम, टङ्स्टन र युरेनिअम आदि छन्।

अधातुतर्फ औद्योगिक खनिजअन्तर्गत ब्याराइट, क्याल्साइट, माटो, सामान्य नुन, कोरुन्डम, डोलोमाइट, फेल्डस्पार, गार्नेट, ग्रेफाइट, म्याग्नेसाइट, माइका, ओकर, पेग्माटाइट, फस्फोराइट, पाइराइट, सिलिका स्यान्ड, सिलिमेनाइट आदि छन्।

अधातुतर्फ खनिजअन्तर्गत अक्वामरिन, बेरिल, कायनाइट, क्वार्ट्ज, रुबी (नीलमणि), टुर्मलिन आदि नेपालको माथिल्लो हिमाली क्षेत्रमा पहिचान भएका छन्।

अधातु निर्माण सामग्रीअन्तर्गत बेसिक चट्टान, बोल्डर, ग्राभेल र बालुवा, ग्रेनाइट, जिप्सम, लाइमस्टोन, मार्बल, क्वार्टजाइट, स्लेट, सिनाइट आदि पहिचान भएका छन्।

त्यस्तै इन्धन खनिजअन्तर्गत कोइला, जिओथर्मल हट स्प्रिङ (तातोपानीको मुहान), प्राकृतिक मीथेन ग्यास, पेट्रोलिअम र प्राकृतिक ग्यासको पहिचान गरिएको छ।

विभागले सार्वजनिक गरेको एउटा विवरणमा भनिएको छ, "नेपालका पाँच भौगर्भिक क्षेत्र/खण्डका आआफ्नै भौगर्भिक विशेषता र खनिज सम्पदाहरू छन्।"

"भौगर्भिक विभाजनको आधारमा तराईमा तेल र ग्यासको सम्भावना रहेको तथा चुरे-भावर क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा, युरेनिअम, तेल र ग्यासको सम्भावना छ।"

"तल्लो हिमालयमा विभिन्न धातु खनिजहरू, चुनढुङ्गा, डोलोमाइट, रत्न पत्थर, कोइला, तातोपानीसहित खनिजहरू पाइएका छन् भने उच्च हिमालयमा रत्नपत्थर, जस्ता, सिसा आदि खनिजको सम्भावना देखाएको छ। उत्तरको तेथिस हिमालयमा चुनढुङ्गा, नुन, जिप्सम, ग्यास र युरेनिअमको सम्भावना देखिन्छ।"

केही वैज्ञानिकहरूले गरेका स्वतन्त्र अध्ययनहरूले पनि "नेपालमा ८५ भन्दा बढी खनिजहरूको ठूलो मात्रा पाइएको तर तिनको पूर्ण उपयोग हुन नसकेको" देखाएका छन्।

के नेपालमा 'रेअर अर्थ' वर्गका खनिज पदार्थ पनि पाइन्छ

मुस्ताङ जिल्लाको एउटा गाउँ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मुस्ताङमा र मकवानपुरको तीनभँगालेमा युरेनिअम धातु भएको सङ्केत पाइएको वैज्ञानिकहरूले बताएका छन्

युक्रेनमा 'रेअर अर्थ' वर्गमा पर्ने दुर्लभ खनिज पदार्थहरू पर्याप्त रहेकोबारे अहिले चर्चा भइरहेको छ।

'के नेपालमा पनि युक्रेनमा जस्तै त्यस्ता खनिजहरू छन् त?' भन्ने प्रश्नमा खानी विभागका अधिकारीहरू त्यसबारे "खासै अध्ययन हुन भइनसकेको" बताउँछन्।

विशेष गरी 'रेअर अर्थ' खनिज पदार्थको प्रयोग हतियार, वायु टर्बाइन र विद्युतीय उपकरण बनाउन हुन्छ।

त्यस्ता १७ तत्त्वहरूको समूहलाई अहिलेको आधुनिक विश्वमा निकै महत्त्वपूर्ण मानिन्छ र जुन देशसँग त्यसको प्रचुर भण्डार छ त्यसले उत्खनन गरेर व्यापक फाइदा लिन सक्ने ठानिन्छ।

"नेपालमा सन् ८० को दशकमा रेअर अर्थबारे केही अध्ययन नभएको होइन तर अहिले प्रविधि धेरै उन्नत भएका बेला हामीकहाँ विस्तृत अध्ययन हुन सकेको छैन," बाँस्कोटाले भने।

उनका अनुसार विभागले त्यस्ता तत्त्वहरू खोजी गर्ने योजना अघि बढाएको छ तर अझै पनि प्राविधिक क्षमता विकास गर्न कैयौँ चुनौतीको सामना गरिरहेको छ।

उपप्राध्यापक पौड्याल नेपालका विभिन्न भागमा 'रेअर अर्थ' खनिज हुने सम्भावना रहेको बताउँछन्।

त्यसको उदाहरण दिँदै उनले भने, "हामीकहाँ ग्रेनाइट त निकै छ भन्ने प्रमाणित भएकै विषय हो। अब त्यसमा रेअर मिनरलहरू हुन सक्छन्। त्यसका लागि सूक्ष्म अध्ययन हुनुपर्छ, त्यो क्षमता हामीसँग छैन।"

"डाइमेन्शन स्टोनमा भित्र लुकेर बहुमूल्य पत्थरहरू रहेका हुन सक्छन् तिनलाई आँखाले देख्न सकिँदैन। सूक्ष्म अध्ययनको आवश्यकता हुन्छ। यहाँ दर्शनढुङ्गामा पनि सिलिका पाइएको छ, त्यो सेमिकन्डक्टर बनाउन काम लाग्छ। त्यसबारे अध्ययन भएको छैन।"

नेपालमा युरेनिअम पाइने स्थान
तस्बिरको क्याप्शन, नेपालमा युरेनिअम पाइने स्थान

नेपालको मुस्ताङ र मनाङसित चुरे क्षेत्रमा पनि युरेनिअम भएको सङ्केत पाइएको खानी विभागले जनाउँदै आएको छ। विभागले गरेको प्रारम्भिक अन्वेषणमा मुस्ताङको लोमान्थाङ, मकवानपुरको तीनभँगाले, बैतडी, मनाङ र गोरखा जिल्लाका केही स्थानमा युरेनिअमको उपस्थितिका सङ्केतहरू देखा परेका छन्।

विभागका अधिकारीहरूका अनुसार ती ठाउँबारे थप अनुसन्धानका लागि पहल भइरहेको र लोमान्थाङमा सम्भावित खानी भएको क्षेत्रलाई नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको छ।

नेपालले युरेनिअमको उत्खनन र थप अध्ययनका लागि पहल पनि गरिरहेको विभागका अधिकारीहरू बताउँछन्।

नेपाल संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) को पनि सदस्य भएकाले यस्ता खानीको उत्खनन गर्न राष्ट्रसङ्घले तोकेका मापदण्डहरू पूरा गर्नुपर्ने बाँस्कोटा बताउँछन्।

युरेनिअमको सुरक्षाबारे प्रश्न उठ्ने गर्छ र खानी तथा प्रशोधन केन्द्रहरूबाट आउने विकिरणका कारण स्वास्थ्य एवं सुरक्षाको ठूलो जोखिम हुन सक्छ। त्यसका लागि पुरानो कानुनले मात्र नहुने भएकाले नयाँ कानुन नै बनाउनुपर्ने आवश्यकता बाँस्कोटाले औँल्याए।

नेपालले फाइदा लिन नसक्नुका कारण

नेपालमा विभिन्न खनिज पदार्थको उत्खननका लागि सरकारी र गैरसरकारी स्तरबाट काम अघि बढाइएको अधिकारीहरू बताउँछन्। विभागले सार्वजनिक गरेको विवरणमा गत आर्थिक वर्षको अन्त्यसम्ममा झन्डै १५० कम्पनी तथा व्यक्तिले विभिन्न खानीको उत्खनन गर्ने अनुमति लिएर काम गरिरहेको उल्लेख छ।

त्यसमध्ये ७० प्रतिशत जति सिमेन्टको कच्चा पदार्थ क्लिङ्कर बनाउन चुनढुङ्गा उत्खनन भइरहेको बाँस्कोटाले बताए। त्यसका अतिरिक्त नेपालले चीनको सहयोगमा दैलेखमा पेट्रोलिअम अन्वेषणको काम पनि गरिरहेको छ भने केही कोइलाखानीमा पनि काम भइरहेको उक्त विवरणमा देखिन्छ।

तर अझै पनि प्रभावकारी रूपमा नेपालमा खनिज तत्त्वको खोजी गर्ने तथा उत्खनन हुन सकेको छैन।

काइनाइट पत्थरको खानी

तस्बिर स्रोत, DMG Nepal

तस्बिरको क्याप्शन, काइनाइट पत्थरको खानी

त्यसको कारणबारे उपप्राध्यापक पौड्यालले भने, "हामीकहाँ कस्तो कहाँ खनिजहरू छन् भन्ने जानकारी राजनीतिज्ञ र उच्च तहका व्यक्तिहरूलाई नै थाहा छैन। ज्ञानको अभावले पनि यस्तो भएको होला।"

"अर्को कारण भनेको विदेशी लगानी ल्याउनका लागि पनि सहज वातावरण छैन भने यसको फाइदाबारे थाहा नभएर नेपालको निजी क्षेत्रले पनि खासै चासो राखेको जस्तै देखिँदैन।"

उनका अनुसार खानीबाट तत्काल फाइदा नहुने र सुरुमा अध्ययन तथा अनुसन्धानका लागि व्यापक लगानी र समय खर्च गर्नुपर्ने हुन्छ।

"तर त्यसो गर्न हामी तत्पर भए जस्तो देखिँदैन," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।