दैलेखमा ग्यासको 'भण्डारण' भएका सङ्केत भेटिए

पेट्रोलियम अन्वेषण

तस्बिर स्रोत, PETROLEUMNEPAL.GOV.NP

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

पेट्रोलियम अन्वेषणका लागि दैलेखमा भइरहेको उत्खनन अन्तिम चरणमा पुग्न लाग्दा त्यहाँ प्राकृतिक ग्यास रहेको हुन सक्ने कैयौँ सङ्केतहरू भेटिएका अधिकारीहरूले बताएका छन्।

तर प्राप्त नमुनाहरूको विश्लेषणपछि मात्रै व्यावसायिकरूपमा ग्यास उत्खननको सम्भावना रहे वा नरहेको थाहा हुने खानी तथा भूगर्भ विभागका विज्ञहरूको भनाइ छ।

उत्तरी छिमेकी चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको 'ड्रिलिङ' अन्तर्गत ४,००० मिटर गहिराइसम्म उपकरणको सहायतामा खनेर नमुना निकाल्न सुरु भएको थियो। शुक्रवारसम्म ३,९४४ मिटर गहिराइसम्म ड्रिलिङ सकिएको विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ।

बाँकी ५६ मिटर ड्रिलिङ छिटै सकिने आकलन गरिएको परियोजनाका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले बीबिसी न्यूज नेपालीलाई जानकारी दिए।

चीनको चाइना जिओलोजिकल सर्वेले दैलेखको जलजलेमा पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम सक्ने फेब्रुअरी २८ सम्मको समयसीमा पाएको छ।

"त्यहाँबाट व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने निर्क्योलका लागि अझै समय लाग्न सक्छ," त्रिपाठी भन्छन्।

"अहिले विभिन्न गहिराइबाट सङ्कलन गरिएका चट्टानका नमुना थप अध्ययनका लागि चीन पठाइने छ। त्यसको विश्लेषण समेतका आधारमा मात्रै त्यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने थाहा हुन्छ।"

विभागका अनुसार चिनियाँ पक्षले दिने प्रतिवेदनबारे थप अध्ययन पछि मात्रै दैलेखमा व्यावसायिक रूपमा पेट्रोलियम पदार्थको उत्खननको सम्भाव्यता पत्ता लाग्छ।

प्रारम्भिक सङ्केत 'सकारात्मक'

दैलेखको जलजलेमा भइरहेको पेट्रोलियम अन्वेषण कार्य

तस्बिर स्रोत, PETROLEUMNEPAL.GOV.NP

विभागका अधिकारीहरूका अनुसार ड्रिलिङका क्रममा उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ रहेका 'सकारात्मक सङ्केतहरू' भेटिएका छन्।

ड्रिलिङका क्रममा २,२०० मिटरको गहिराइबाटै ग्यास भेट्न सुरु भएको र त्यसभन्दा तलको गहिराइमा पनि विभिन्न तहमा ग्यास भेटिएको त्रिपाठी बताउँछन्।

"अहिलेसम्मको ड्रिलिङको तथ्याङ्कहरूले सकारात्मक सङ्केतहरू दिएका छन्," त्रिपाठी भन्छन्।

"त्यहाँ ग्यास पहिचान गर्ने उपकरण राखिएका हुन्छन्। त्यहाँ समय समयमा २,२०० मिटरभन्दा तल गएपछि ग्यासहरू पहिचान भएका छन्। अहिलेसम्मको अध्ययन छ वा छैन भन्ने पत्ता लगाउने मात्रै हो। फेरि त्यो व्यापारिक महत्त्वको हो वा होइन भनेर छुट्ट्याउन चाहिँ थप अध्ययन र विश्लेषण हुन जरुरी हुन्छ।"

विभागका प्राविधिकहरूका अनुसार निश्चित गहिराइसम्म पनि कुनै सङ्केत नभेटिएको भए थप ड्रिलिङ नगर्ने तयारी थियो।

तर सकारात्मक सङ्केतहरू भेटिएका कारण चार किलोमिटर गहिराइसम्मै ड्रिलिङ गर्ने निर्णयमा परियोजना पुगेको त्रिपाठी बताउँछन्।

दैलेखको जलजलेमा भइरहेको पेट्रोलियम अन्वेषण कार्य

तस्बिर स्रोत, PETROLEUMNEPAL.GOV.NP

दैलेखमै रहेका परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेल चार किलोमिटर गहिराइको ड्रिलिङ सकिएपछि हुने प्राविधिक विश्लेषणहरूबाट मात्रै पेट्रोलियमको खानीबारे यकिन निचोड निकाल्न सकिने बताउँछन्।

"हामीले त्यहाँको चट्टानको नमुना परीक्षण र त्यसको विश्लेषण गर्ने हो। चट्टानमा भएका छिद्रको अध्ययनबाट भण्डारणको अवस्था पत्ता लगाउन सकिन्छ। त्यहाँ भएका सोर्स रक र रिजभ्वेर रक ग्यास वा तेलको स्रोत बन्न सक्ने किसिमका छन् कि छैनन् भन्ने आधारमा भण्डारण कत्रो छ भनेर विश्लेषण गर्नु पर्छ नतिजा आइसकेपछि मात्रै हामीले कुन स्तरको भण्डारण हुन सक्छ भन्न सक्छौँ," उनी भन्छन्।

'तेलभन्दा ग्यासको सम्भावना छ'

दैलेखको भैरवी गाउँपालिकाका कैयौँ स्थानमा जमिन मुनिबाट चुहिएको ग्यासमा दीप बालिएको छ

तस्बिर स्रोत, Bhairabi Ruram Municipality

तस्बिरको क्याप्शन, दैलेखको भैरवी गाउँपालिकाका कैयौँ स्थानमा जमिन मुनिबाट चुहिएको ग्यासमा दीप बालिएको छ

दैलेखको भैरवी गाउँपालिकाका विभिन्न स्थानमा यसअघिबाटै प्राकृतिक ग्यास पाइने ठाउँहरू छन्। यस्तो ग्यासबाट त्यहाँका कतिपय तीर्थस्थलमा 'अखण्ड दीप' पनि बाल्ने गरिएको स्थानीय बताउँछन्।

भैरवी गाउँपालिकाकी अध्यक्ष रीताकुमारी शाहीले गाउँका कैयौँ स्थानमा ग्यासको खानी भएका सङ्केतहरू रहेको बताइन्।

पेट्रोलियम अन्वेषण परियोजनास्थलमा रहेका लुइँटेलले प्रारम्भिक अन्वेषणबाट उक्त क्षेत्रमा तेलभन्दा प्राकृतिक ग्यास रहेको सङ्केतहरू भेटिएको बताए।

"त्यहाँ तेलभन्दा ग्यासको सम्भावना बढी देखिन्छ। सतहमा भेटिएका ग्यासहरूले पनि त्यसको आधार देखाइसकेका छन्। तर भण्डारको आयतन कति छ भन्ने नै यकिन हुन बाँकी छ," लुइँटेल भन्छन्।

चिनियाँ कम्पनीका नेपालस्थित मानव संशोधन संयोजक सूर्यमणि लामिछानेका अनुसार पेट्रोलियम अन्वेषणका लागि चीनसहित कैयौँ देशमा पेट्रोलियम अन्वेषणमा काम गरिसकेका अनुभवी विज्ञहरू पनि अध्ययनका लागि नेपाल आएका थिए।

अहिले करिब ३५ जना प्राविधिक र विज्ञहरूले खानी तथा भूगर्भ विभागका विज्ञ र स्थानीयको सहयोगमा काम गरिरहेका बताइएको छ।

अन्वेषणस्थल बन्यो 'पर्यटकीय क्षेत्र'

दैलेखको जलजलेमा भइरहेको पेट्रोलियम अन्वेषणकार्य

तस्बिर स्रोत, PETROLEUMNEPAL.GOV.NP

भैरवी गाउँपालिकाकी अध्यक्ष शाहीका अनुसार खानी अन्वेषणको काम भइरहेको जलजले क्षेत्रमा मानिसहरू घुम्न आउने क्रम बढेको छ।

मुगुको रारा ताल जाने कतिपय पर्यटकसमेत त्यही बाटो हुँदै घुमेर जाने-आउने गरेको स्थानीयहरू बताउँछन्।

"भारतबाट रारा घुम्न आउनेदेखि नेपालकै विभिन्न जिल्लाबाट घुम्न आउने पनि बढेका छन्। त्यो क्षेत्रमा अहिले व्यापार व्यवसाय पनि बढेको छ," शाहीले भनिन्।

"अहिले अन्वेषणको काम हुँदा पनि यहाँका २५ जनाले रोजगारी पाएका छन्। खानी चल्ने भयो भने त हाम्रो पालिकालाई पनि राम्रो हुने थियो।"

ड्रिलिङका लागि बनाइएको अग्लो संरचना टाढैबाट देखिने भएका कारण पनि मानिसहरू घुम्न आउने क्रम बढेको वरिष्ठ भूगर्भविद् त्रिपाठीले बताए।

अरू ठाउँमा अन्वेषणको काम के हुँदै छ

नेपालमा पेट्रोलियम पदार्थ पाइने सम्भाव्य क्षेत्र

तस्बिर स्रोत, DEPARTMENT OF MINES AND GEOLOGY, NEPAL

दैलेखसँगै पाल्पाको तानसेन क्षेत्रमा पनि चिनियाँ सहयोगमा पेट्रोलियम अन्वेषणको प्रारम्भिक अध्ययन भएको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् त्रिपाठीले जानकारी दिए।

विभागले चितवन र लुम्बिनीमा पेट्रोलियम अन्वेषणका लागि बोलपत्र आह्वान गरे पनि तोकिएको सर्त पूरा गरेका कम्पनीहरूबाट आवेदन नआएको अधिकारीहरूले बताएका छन्।

विगतमा नेपालका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको भए पनि बाँकी स्थानमा थप प्रगति हुन नसकेको विभागले जनाएको छ।

नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पेट्रोलियम हुनसक्ने सम्भावना औँल्याइएको छ।

विगतमा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् पेट्रोलियम कम्पनीहरू छानेर अन्वेषणको कार्य अघि बढाइएको थियो।

वि.सं २०४५ सालमा मोरङको बाहुनीमा ३,५०० मिटरसम्म ड्रिल गर्दा त्यहाँ पेट्रोलियम पाइएको थिएन।

नेपालमा पेट्रोल पाइने सम्भावित स्थानहरू

सरकारले देशभरि १० वटा 'ब्लक' (स्थान)मा अन्वेषणको कार्य अघि बढाउनका लागि काम गरिरहेको अधिकारीहरू बताउँछन्।

विगतमा ती ब्लकहरूमा युरोप, अमेरिका र अरब राष्ट्रहरूले काम गरेका थिए।

यद्यपि वर्षौँसम्म त्यसमा प्रगति हुन नसकेपछि उनीहरूसँगको सम्झौता सरकारले रद्द गरेको थियो।

नेपालले १० वर्षअघि सन् २०१४ मा अमेरिकाको बीबीबी च्याम्पियन र दुबईको इमिरेट्स असोसिएटेड बिजनेस ग्रुपको अनुमति रद्द गरेको थियो।

त्यस्तै सन् २०१५ मा अमेरिकी कम्पनी टेक्साना रिसोर्सेस र यूकेको केन इनर्जीको पनि इजाजत रद्द गरियो।

नेपालको तराई र शिवालिक क्षेत्रमा सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि झन्डै पाँच-पाँच हजार वर्ग किलोमिटरका १० वटा ब्लक (स्थल) छुट्टाएको छ।

ती ब्लक पूर्वदेखि पश्चिमसम्म फैलिएका छन्।

चीनले अघि बढाएको अध्ययनमा प्रगति देखिए नेपालमा पेट्रोलियम अन्वेषण गर्ने कार्यमा धेरैको आकर्षण बढ्ने अपेक्षा सरकारी अधिकारीहरू गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।