विद्युतीय गाडीको प्रभाव 'सेकेन्डह्यान्ड' बजारमा पनि: के प्रयोग भएका डीजल, पेट्रोल गाडीको मूल्य घटेको हो?

- Author, संजीव गिरी
- Role, बीबीसी न्यूज नेपाली
आर्थिक मन्दीको मारमा परिरहेको बताउँदै आएका 'सेकेन्ड ह्यान्ड' (प्रयोग भइसकेको सवारी) चार पाङ्ग्रे सवारी साधनका विक्रेताहरूले विद्युतीय सवारीको बढ्दो बजारले समेत आफूहरूलाई प्रभावित पारेको बताएका छन्।
विद्युतीय सवारीमा आम उपभोक्ताको बढ्दो आकर्षणका कारण पुराना पेट्रोल र डीजल इन्जिन भएका गाडीहरूको माग व्यापक रूपमा घटेको उनीहरूको भनाइ छ।
ब्याङ्क तथा वित्तीय संस्थाहरूले पेट्रोल र डीजल इन्जिन भएका गाडीहरूका तुलनामा विद्युतीय सवारी खरिदकर्ताहरूलाई सहजै ऋण उपलब्ध गराउने भएकाले पनि अहिले आफूले चढिरहेको गाडी बेचेर विद्युतीय सवारी किन्न तम्सिनेहरूको सङ्ख्या बढी रहेको व्यवसायीहरू बताउँछन्।
जसकारण हाल प्रयोग भइसकेका चार पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने व्यवसायीहरू ती गाडीहरूको मूल्य समेत केही घटेको बताउँछन्।
‘बजार एकदमै सुस्त छ’
लामो समयदेखि सेकेन्ड ह्यान्ड गाडी खरिद बिक्री गर्दै आएको बाबा बसेरा अटो ग्रुपका सञ्चालक राजेश खड्गीका अनुसार पछिल्लो एक वर्षदेखि आर्थिक मन्दी र वित्तीय संस्थाहरूले सहजै ऋण उपलब्ध नगराउँदा प्रयोग भइसकेका चार पाङग्रे सवारीको बजार सुस्ताएको छ।
‘‘एक वर्षअघि सम्म राम्रै थियो। त्यसपछिको अवस्था फेरिएको छ। बजार ५० प्रतिशतभन्दा बढीले सुस्ताएको छ। मान्छेको चाहना विद्युतीय सवारीमा गएका कारण पनि पेट्रोल, डीजल इन्जिन रिकन्डिसनमा थन्किएको छ,’’ उनले भने।
लामो समयदेखि सेकेन्ड ह्यान्ड गाडीहरू बिक्री गर्दै आएको बाबा बसेरामा हाल एक महिनामा १५ देखि २० वटा गाडीहरू बिक्री हुने गरेको छ।
सेकेन्ड ह्यान्ड बजारमा हाल २० लाखभन्दा कम मूल्यका गाडीहरू बढी बिक्री भइरहेको, २५ देखि ४० लाख मूल्य पर्ने गाडीहरू ठिकठिकै बिक्री भइरहेको अनि ५० लाख भन्दा बढी मूल्यका गाडीहरूको बिक्री भने लगभग ठप्प रहेको व्यवसायीहरूको भनाइ छ।

काठमाण्डू अटोमोबिल्स सेन्टरमा कार्यरत अनिल डेचाका अनुसार पछिल्लो समय बजार कोभिड महामारीका बेलाभन्दा खराब छ।
‘‘कोभिडका बेला सार्वजनिक यातायात चढ्न नचाहने भएकाले पनि सेकेन्ड ह्यान्ड गाडीको बजार राम्रै थियो,’’ उनले भने।
विगतमा मासिक १०-१२ वटा गाडी बेच्ने काठमाण्डू अटोमोबिल्समा हाल चारदेखि पाँच वटा मात्र गाडी बिक्री हुने गरेको उनी सुनाउँछन्।
पछिल्लो समय रिकन्डीसनमा आएका विद्युतीय सवारी डीजल र पेट्रोल इन्जिन भएका गाडीहरूको तुलनामा चाँडै बिक्री भइरहेको व्यवसायीहरूको अनुभव छ।
‘‘विद्युतीय सवारी खासै स्टकमा बस्दैन,’’ खड्गीले भने। ‘‘भविष्यमा के हुन्छ थाहा छैन, अहिले भने राम्रै छ।’’
के भविष्य अब विद्युतीय सवारीकै हो त?

तस्बिर स्रोत, RSS
पछिल्लो समय विद्युतीय सवारीको बजार आक्रामकरूपमा वृद्धि भइरहेको भए पनि अझै यी सवारी पेट्रोल र डीजलबाट चल्ने सवारीका लागि खतरा नै भने बनिनसकेको जानकारहरूको भनाइ छ।
‘‘विद्युतीय सवारीको भविष्य कसैलाई पनि थाहा छैन। अहिले बजारको ट्रेन्ड अनुसार सबै विद्युतीय सवारी पछाडि दौडिरहेका छन्। सुरुमा सञ्चालन खर्च पनि कम छ। तर पाँच सात वर्षमा ब्याटरीको वारेन्टीपछि कति खर्च आउँछ भन्ने कुरा मानिसहरूले विचार गरेका छैनन्,’’ खड्गीले भने।
‘‘भविष्यमा विद्युतीय गाडीले अहिले जति बजार लिँदैन जस्तो लाग्छ मलाई। १५-२० प्रतिशत बजार लेला,’’ उनले भने।

नेपाल जस्तो देशमा लामो यात्रामा अझै भरपर्दो सवारी बन्न नसकेको अनि ‘अफ रोड’ यात्राका लागि उपयुक्त नहुने हुँदा पनि विद्युतीय सवारीको बजार भविष्यमा कस्तो हुन्छ भन्ने कुरा आकलन गर्न नसकिने जानकारहरू बताउँछन्।
डेचाका अनुसार अहिले नयाँ गाडी खरिद गर्नेहरूले विद्युतीय सवारी रोजिरहेका छन्।
सेकेन्ड ह्यान्ड गाडी किन्नेहरूको हकमा भने बजारमा धेरै विद्युतीय सवारी अझै उपलब्ध भइनसकेकाले पनि ती पेट्रोल, डिजेल गाडीको विकल्प अझै केही समय बन्न नसक्ने ठान्छन्।
हाल बजारमा विभिन्न कम्पनीका भिन्न मोडलका चार पाङ्ग्रे सवारी साधन सेकेन्ड ह्यान्ड गाडीको बजारमा सबैभन्दा बढी हुन्डेका गाडी बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन्। त्यसपछिको स्थानमा सुजुकीका गाडीहरू छन्।
के अहिले मूल्य पनि घटेको छ?

कुनै पनि सामग्रीको बजार मागभन्दा आपूर्ति धेरै हुँदा प्रभाव बजार मूल्यमा झल्किन्छ।
व्यवसायीहरूका अनुसार अहिले बजारमा सेकेन्ड ह्यान्ड गाडी किन्ने भन्दा बिक्री गर्न आउने मानिसहरूको सङ्ख्या धेरै छ।
‘’२५-३० प्रतिशत घटेको छ मूल्य। किन्ने मान्छे एक जना छ भने बेच्ने १५-२० जनासम्म छन्,’’ खड्गीले भने।
त्यस हिसाबले नयाँ गाडी किन्न चाहनेहरूका लागि अहिले उपयुक्त समय रहेको उनी बताउँछन्।
यद्यपि बजारमा मन्दी रहेकाले खरिदकर्ताहरू आकर्षित भने हुन सकेका छैनन्।
तर डेचाको अनुभव फरक छ। बजारमा सेकेन्ड ह्यान्ड गाडी किनबेच कम भए पनि विक्रेताले त्यस अनुसार आफ्नो गाडी बेच्न नचाहनुले बजार मूल्यमा भने प्रभाव नपरेको उनको भनाइ छ।
लामो समयदेखि बजार सुस्ताएको बताउने व्यवसायीहरूले नेपालमा सबैभन्दा बढी बजार माग वृद्धि हुने दशैँका बेला बजारले पुरानै लय समात्ने अपेक्षा गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








