चिनियाँ सहयोगमा यसरी हुँदैछ दैलेख जिल्लामा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण

अन्वेषण
तस्बिरको क्याप्शन, अन्वेषण गर्न आएका टोलीले शिविर खडा गरेका छन्

चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्।

खानी तथा भूगर्भ विभागका अधिकारीहरूका अनुसार अबको एक वर्षभित्र त्यस्तो अन्वेषण सकिनेछ।

विस्तृत अन्वेषण सकिएपछि त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ भएको वा नभएको टुङ्गो लाग्नेछ।

अधिकारीहरूले आवश्यक उपकरणसहित चिनियाँ टोली पेट्रोलियम पदार्थ भएको सम्भावित क्षेत्रमा पुगिसकेको बताएका छन्।

अन्वेषणका लागि झन्डै ४० वर्ग किलोमिटर क्षेत्रमा ४५०० मिटर गहिराइसम्म खनिनेछ।

खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरे भन्छन्, "त्यहाँ पेट्रोलियम ग्यासको सम्भाव्यता देखिएकाले अहिले अन्वेषणात्मक काम भइरहेको छ। यसै महिनामा त्यस क्षेत्रमा साईज्मिक (भूकम्पीय) सर्वेक्षण सुरु हुनेछ। त्यो भएपछि विस्तृत विवरण आउनेछ।"

उनका अनुसार विभिन्न ठाउँमा ससाना कम्पन सिर्जना गरेर सर्वेक्षण गरिनेछ।

तयारी

ती स्थानमा जमिनको सतहबाट ४५०० मिटरभित्र छेडेर कुवा खन्ने उपयुक्त ठाउँ छनोट गर्ने तयारी रहेको अधिकारीहरू बताउँछन्।

अधिकारीहरूका अनुसार नेपालमा पेट्रोलियम पदार्थको खोजी गर्न यस्तो खाले विस्तृत अध्ययन सुरु गरिएको यो दोस्रो पटक हो।

खानी

तस्बिर स्रोत, Department of Mines and Geology, Nepal

तस्बिरको क्याप्शन, नेपाल सरकारले विभिन्न स्थानमा खनिज पदार्थ सर्वेक्षणका लागि अनुमतिपत्र दिएको छ

यसअघि विसं २०४५ सालतिर मोरङको बाहुनीमा विस्तृत अन्वेषण भएको थियो।

त्यस बेला सरकारले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् एउटा निजी विदेशी कम्पनीलाई उक्त अध्ययन गराएको थियो। त्यहाँ जमिनभित्र ३५०० मिटरसम्म छेडेर अध्ययन गरिएको थियो।

तर उक्त क्षेत्रमा औद्योगिक रूपमा उत्खनन गर्न सकिने मात्रामा पेट्रोलियम पदार्थ नपाइएको विभागका अधिकारीहरू बताउँछन्।

चिनियाँ सहयोग

यस पटकको अन्वेषण नेपाल र चीन सरकारबीच भएको द्विपक्षीय सम्झौताअन्तर्गत हुन लागेको हो।

चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दी पछि पुन: नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणको चर्चा सुरु भएको हो।

खानी

तस्बिर स्रोत, Department of Mines and Geology, Nepal

तस्बिरको क्याप्शन, नेपाल र चीनबीच विभिन्न क्षेत्रमा पेट्रोलिय खानीको अन्वेषण गर्ने सम्झौता भएको छ

उक्त नाकाबन्दीपश्चात् नेपाल र चीनबीच भएका विभिन्न सम्झौतामध्ये नेपाली भूभागमा रहेका सम्भावित पेट्रोलियम खानीहरूको अन्वेषण गर्ने एउटा सहमति पनि थियो।

सोही सम्झौताअनुसार यसअघि नै दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको वा नरहेकोबारे प्रारम्भिक अन्वेषण भइसकेको छ।

विस्तृत अन्वेषणका लागि अहिले चिनियाँ र नेपाली प्राविधिकहरूको टोलीले दैलेखमा काम गरिरहेको विभागले जनाएको छ।

चुप्रा, दैलेख
तस्बिरको क्याप्शन, उत्खननका लागि आवश्यक उपकरणसहित प्राविधिकहरू पुगिसकेका छन्

विभागको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेका अनुसार उक्त क्षेत्रमा हाल ४० जनाभन्दा बढी चिनियाँ प्राविधिकहरू काममा खटिएका छन्।

उनीहरू उपकरणसहित काममा खटिएका हुन्। रजौरेका अनुसार दैलेखका शिरिस्थान, नाभीस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अन्वेषण केन्द्रित रहनेछ।

त्यहाँका कतिपय क्षेत्रमा अहिले पनि प्राकृतिक रूपमै ज्वाला निस्किरहेको पाइन्छ।

सम्भावना

रजौरे भन्छन्, "हाम्रो जस्तै भूबनोट भएको भारतको आसाम र पाकिस्तानको कोतवारमा अहिले पनि पेट्रोलियमको उत्पादन भइरहेको छ।"

"त्यसैका आधारमा हामी पनि त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ होला भन्नेमा आशावादी छौँ।"

ज्वालामाई
तस्बिरको क्याप्शन, ज्वालामाई तथा अन्य स्थानमा प्राकृतिक ग्यास निस्किने तथा ज्वाला बलिरहने गरेको देखिन्छ

उनका अनुसार चीनकै सहयोगमा पाल्पामा पनि अन्वेषणको काम अघि बढाइनेछ।

तर उक्त अन्वेषण दैलेखको जस्तो विस्तृत नहुने उनले जानकारी दिए।

दैलेखमा गरिएको परीक्षणपश्चात् आएको प्रतिवेदनलाई विश्लेषण गर्न चारदेखि पाँच महिना लाग्ने अधिकारीहरू बताउँछन्।

त्यसपछि वर्षा लाग्ने भएकाले अर्को वर्षको दशैँपछि भने पेट्रोलियम पदार्थ भएको वा नभएको स्पष्ट हुने अधिकारीहरूले जानकारी दिए।

विभागका निमित्त महानिर्देशक घिमिरेका अनुसार विभागले नेपालमा ६४ किसिमका खनिज पदार्थ रहेको पत्ता लागिसकेको छ।

तर तीमध्ये १४ वटाको मात्र उत्खनन हुन सकेको छ। उत्खनन गरिएका खनिज पदार्थमा चुन ढुङ्गा, कोइला, फलाम आदि छन्।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, जेड खानीको फोहोरमा बहमूल्य रत्न भेटिने आशा