पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

इमरान खान

तस्बिर स्रोत, EPA

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।

त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ।

कुरैशी खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का उपाध्यक्ष पनि हुन्।

उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ। ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए।

खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्र भएको दाबी गरेका थिए।

विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हट्नुपरेको थियो।

खानमाथि लागेको आरोप के हो?

इमरान खान

तस्बिर स्रोत, Reuters

खानमाथि प्रधानमन्त्री भएका बेलामा वासिङ्टनस्थित पाकिस्तानका राजदूतले इस्लामाबाद पठाएको गोप्य कूटनीतिक पत्र चुहावटको भएको आरोप लगाइएको छ।

साइफर घटना भनेर चिनिने उक्त मामिलामा खानलाई कूटनीतिक पत्र आफ्नो साथमा राखेको र त्यसलाई सार्वजनिक पनि गरेको आरोप लागेको छ।

अभियोजनकर्ताहरूले खानको कार्यले गोप्य कागजात चुहावट गरिनुका साथै कूटनीतिक सम्बन्धलाई क्षति पुर्‍याएको आरोप लगाएका छन्।

उनलाई लगाइने पछिल्लो आरोपमा आजीवन कारावास वा मृत्युदण्डको सजाय पनि हुन सक्छ।

उनको दल पीटीआईले उनलाई “झूटो मामिलामा फसाइएको” आरोप लगाएको छ।

एउटा विज्ञप्ती जारी गर्दै उक्त दलका प्रवक्ताले विशेष अदालतको फैसलाको पुनरावेदन गरिने जनाएका छन्।

भ्रष्टाचार मुद्दामा जेल परेका खान रहेकै जेलभित्र स्थापना गरिएको विशेष अदालतमा विगत केही महिनादेखि उक्त मुद्दाको सुनुवाइ भइरहेको थियो।

अन्तिम सुनुवाइका क्रममा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जेलभित्र जान दिइएन।

निर्वाचनभन्दा एक साताअघि सजाय

इमरान खान

तस्बिर स्रोत, Reuters

खान भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन्।

इमरान खानले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन्।

गोपनीयतासम्बन्धी ऐनअन्तर्गत उनलाई उक्त सजाय तोकिएको हो।

पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक साताअघि खानविरुद्ध उक्त सजाय सुनाइएको हो।

उनलाई यो निर्वाचनमा उम्मेदवार हुन दिइएको छैन।

फेब्रुअरी ८ मा पाकिस्तानमा निर्वाचन हुँदै छ।

क्रिकेटबाट राजनीतिमा आएका खानलाई हालका सत्ताधारीले जसरी पनि चुनावमा भाग लिनबाट रोक्ने रणनीति अपनाएको कतिपयले बताउने गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।