काठमाण्डूको मेअरबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा आउँदा बालेनलाई कति सहज

बालेन शाह दौरा सुरुवाल र कालो ढाका टोपीमा।

तस्बिर स्रोत, Balen Shah

तस्बिरको क्याप्शन, बालेन शाह आइतवार रास्वपाको केन्द्रिय कार्यलय पुगेका थिए
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

आगामी प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा पाइला अघि बढाउने निर्णय लिएका बालेन शाहले काठमाण्डू महानगरपालिकाको मेअर पदबाट राजीनामा दिएका छन्।

आजै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय गएर उनले दलीय गतिविधिमा प्रत्यक्ष संलग्नता थालेका छन्। उनले काठमाण्डू महानगरकी उपप्रमुखलाई सम्बोधन गर्दै नगरप्रमुख पदबाट राजीनामा दिएको बालेका एक जना सहयोगी सुदर्शन बजगाईँले बीबीसीलाई बताए।

विक्रम संवत् २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारका रूपमा काठमाण्डू महानगरको मेअरमा निर्वाचित भएका थिए।

भदौमा भएको जेन जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरेर फाल्गुन २१ गतेका लागि आम निर्वाचन घोषणा गरिएको छ।

पूर्व गृहमन्त्री रवि लामिछाने सभापति रहेको उक्त दलले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको छ।

बालेन शाहले काठमाण्डू महानगरकी उपप्रमुख सुनिता ढङ्गोललाई सम्बोधन गर्दै एउटा पत्रमार्फत स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्।

उक्त राजीनामा पत्रमा भनिएको छ, "प्रस्तुत विषयमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम, म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेस गर्दछु।"

उनले भनेका छन्, "यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।"

मेअरका रूपमा बालेनको कार्यकाल

खास गरी मूलधारका दलहरूको शासन शैली, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई मुख्य मुद्दाहरू बनाएर लौरो चिन्हमार्फत बालेन शाह काठमाण्डूको राजनीतिमा उदाएका थिए।

पेसाले स्ट्रक्चरल इन्जिनियर र सोखले र्‍यापर रहेका उनले सामाजिक सञ्जाललाई आफ्नो पक्षमा माहोल बनाउने प्रमुख औजारका रुपमा प्रयोग गरेका थिए।

विसं२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरमा एक लाख ९१ हजार जनाले मतदान गरेका थिए। त्यसमध्ये बालेनले सबैभन्दा बढी ६१,७६७ मत पाएका थिए।

विसं २०७९ ज्येष्ठ १६ गते पदभार ग्रहण गरेका उनले मेअरका रूपमा आफ्नो कार्यकाल सकिन झन्डै डेढ वर्ष बाँकी हुँदा राजीनामा दिएका हुन्।

पदभार ग्रहण गरे लगत्तै नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा पुगेर तत्कालीन प्रधानसेनापति प्रभूराम शर्मालाई उनले भेटेपछि धेरैलाई सो कदमले आश्चर्यमा पारेको थियो।

बालेनको फाइल फोटो

तस्बिर स्रोत, Anup Magar

दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर नेवारीमा शपथ लिएर कार्यकाल आरम्भ गरेका उनले महानगरको कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने देखि लिएर सार्वजनिक शौचालयको व्यवस्थापन, विभिन्न विद्यालयमा छात्रवृत्ति दिलाउने र स्वास्थ्य संस्थाहरूमा गरिबहरूको निःशुल्क उपचारको लागि पैरवी गरेका थिए।

सम्पदा संरक्षणमा उनले अघि बढाएका कतिपय कामहरूको प्रशंसा हुने गरे पनि खास गरी सडक पेटीमा व्यवसाय सञ्चालन गर्नेहरूमाथि नगर प्रहरीबाट भएको भनिएको दमन र कवाड व्यवसायीमाथि महानगरपालिकाले अख्तियार गरेको नीतिको आलोचना हुने गरेको पाइन्छ।

एक जना राजनीतिक विश्लेषक राजेन्द्र महर्जन 'शक्तिशाली मेअर' का रूपमा निर्वाचित भए पनि बालेनले महानगरलाई नेतृत्व दिँदा कतिपय पुरानै नेताहरूको सिको गरेको बताए।

उनले भने, "मतदाताहरूप्रति जबाफदेही हुनुपर्ने, संवाद गर्नुपर्ने र सहमतिमा नीति निर्णय गर्नुपर्ने र उनीहरूकै सहभागीमा कार्यान्वयन गर्नुपर्नेमा एकपक्षीय ढङ्गले निर्णयहरू गरिएका र त्यो पनि माथिबाट लाद्ने काम भएको देखियो।"

कतिपय क्षेत्रमा बालेनको नेतृत्वमा सकारात्मक काम भएको उल्लेख गर्दै उनले थपे, "विशेष गरी युवाहरूलाई रोजगारी दिनेमा सकारात्मक देखिन्छ। विद्यालयहरूमा जुन ढङ्गले सुधार गर्न खोजे त्यो सकारात्मक देखिन्छ। र केही हदसम्म स्वास्थ्य क्षेत्रमा पनि काम गर्न खोजेको देखिन्छ।"

"तर जब सडकको कुरा आउन थाल्छ, जब सुकुम्वासीको कुरा आउन थाल्छ, जब सडकको वरपर व्यवसाय गर्नेहरूको कुरा आउँछ त्यसबेला आम मानिसहरूप्रति उनी जिम्मेवार रहेको देखिदैँन फेरी पनि कुलिन वर्गको जस्तो सोचाई देखिन्छ। सहरिया त्यसमा कुलिन वर्गलाई प्रवर्द्धन गर्ने विचारधारा बोक्न खोजेको देखिन्छ।"

न्यूयोर्कमा मुख्यालय रहेको मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले पनि सन् २०२२ मा बालेनले सहरका भूमिहीन, मागेर गुजारा गर्ने व्यक्तिहरू र सडक नजिकै व्यवसाय गर्ने व्यक्तिहरूप्रति अँगालेको नीतिको आलोचना गरेको थियो।

सन् २०२३ मा विश्व प्रसिद्ध अमेरिकी पत्रिका टाइमले बालेनलाई एक सय उदीयमान व्यक्ति 'टाइम १०० नेक्स्ट' को सूचीमा राखेको थियो।

राजनीतिशास्त्रकी एक जना प्राध्यापक मिना वैद्य मल्ल विगतका मेअरहरूसँग तुलना गर्दा बालेनले काठमाण्डूमा प्रभाव देखिने गरी काम गरेको ठान्छिन्।

उनले भनिन्, "राम्रो पक्ष भनेको कानुन कार्यान्वयनमा कडाइ देखियो जुन सुशासनका लागि आवश्यक हो। स्वतन्त्र, सुधारमुखी र कहिलेकाहीँ विवादमा पनि पर्ने व्यक्तिका रूपमा म उहाँलाई लिन्छु।"

उनले थपिन्, "स्वतन्त्र र वैकल्पिक राजनीतिबाट उहाँ प्रवेश गर्नुभयो। परम्परागत दलभन्दा बाहिर आएर उहाँले जित्नुभएको हो। त्यो एउटा नयाँ राजनीतिक संस्कारको सुरुआत थियो। उहाँ आएपछि युवाहरूमा राजनीतिक चेतना र आकर्षण पनि बढायो। कतिपय कामहरू हेर्दा परिवर्तनको पक्षमा उभिएको भन्दा फरक पर्दैन।"

बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने कदमले पारदर्शिता बढाएको ठान्ने प्राध्यापक मल्ल फोहोर व्यवस्थापनदेखि विद्यालय सुधार र सार्वजनिक शौचालयको व्यवस्थापन जस्ता मामिलामा प्रयासहरू गरेको ठान्छिन्।

पटकपटक विवादमा बालेन

नेवारी पोशाक लगाएर एउटा कार्यक्रममा सरिक हुँदै मेअर बालेन शाह।

तस्बिर स्रोत, FACEBOOK/BALEN

सामाजिक सञ्जालमा राखेका आफ्ना कैयौँ पोस्टहरूका कारण पटकपटक विवादमा तानिएका बालेनको कतिपय अवस्थामा सरकारको नेतृत्वसँग चिसो सम्बन्ध रहेको थियो।

खास गरी फेसबुकमा राखिएको पोस्टमा सिंहदरबारलाई जलाइदिने अभिव्यक्ति बालेन शाहले दिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएका विवरण आएका थिए।

त्यसबेला बालेनलाई पक्राउ गर्ने प्रस्तावबारे शीर्ष नेताहरूको बैठकमा छलफल भएको तर त्यस्तो गर्न नहुने धारणा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले राखेका जनमत पार्टीका नेता सिके राउतले कान्तिपुर टेलिभिजनलाई दिएको एउटा अन्तरवार्तामा बताएका थिए।

आफूले नरुचाएका महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई केपी ओली नेतृत्वको सरकारले निरन्तरता दिएपछि बालेन असन्तुष्ट बनेका थिए। त्यसका कारण महिनौँ काठमाण्डू महानगरपालिकाको कार्यपालिकाको बैठक समेत बस्न सकेको थिएन।

ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि जेन जी युवाहरूले यसै वर्षको भदौमा सार्वजनिक निकायहरूमा हुने गरेका राजनीतिक नियुक्ति, नातावाद र भ्रष्टाचार अन्त्यको माग गर्दै गरेको आन्दोलनमा उनले ऐक्यबद्धता जनाएका थिए।

प्रदर्शनको पहिलो दिन कम्तीमा १९ जना युवाहरू प्रहरीले चलाएको गोलीबाट मारिएपछि भदौ २४ गते परिस्थिति नियन्त्रण बाहिर गएको थियो। त्यसबेला प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका थिए भने उनलाई सेनाको हेलिकोप्टरमा उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याइएको थियो।

उक्त आन्दोलनपछि नवयुवाहरूलाई नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न बालेनले नै सार्वजनिक रूपमा सुझाव दिएका थिए।

सो आन्दोलनलाई उक्साएको आरोप आलोचकहरूले बालेनमाथि लगाउने गरेको पाइन्छ। त्यसबाहेक त्यसक्रममा भएको आगजनी नियन्त्रण गर्न बेलैमा दमकलहरू परिचालन नगरेको लगायतका प्रश्नहरू समेत उनीमाथि उठाउने गरिएको छ।

जेन जी आन्दोलनपछि केन्द्रको राजनीतिमा जोडिने आकाङ्क्षा व्यक्त गरेका बालेनले गएको महिना राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुने गरी सात बुँदे सहमति गरेका थिए।

त्यसबेला प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने र रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने गरी दुई पक्षबीच सम्झौता भएको थियो।

राष्ट्रिय राजनीतिमा बालेनका चुनौती के?

रास्वपाका सभापति रवि लामिछानेसँग हात मिलाउँदै बालेन शाह।

तस्बिर स्रोत, Asim Shah/FB

बालेनले सोमबार जनकपुरको तिरहुतियागाछीमा आयोजना हुने रास्वपाको एउटा सभामा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

उनले पूर्वप्रधानमन्त्री ओलीको झापास्थित निर्वाचन क्षेत्रबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने विवरणहरू आए पनि त्यसबारे औपचारिक निर्णय भइसकेको छैन।

राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै गर्दा बालेनलाई आफ्ना कतिपय कमजोरीहरू सुधार्न विज्ञहरू सुझाव दिन्छन्।

प्राध्यापक मल्लले भनिन्, "उहाँले काठमाण्डूमात्रै नभई नेपालमा नै म केही परिवर्तन गर्न सक्छु भन्ने अठोट लिएको जस्तो लाग्छ। राष्ट्रिय राजनीतिमा आउने उहाँको व्यक्तिगत रोजाइ हो। उहाँले अब जनप्रतिनिधिहरूसँगको समन्वयमा ध्यान दिनुपर्छ। कानुनी प्रक्रियाहरूलाई बेवास्ता नगरीकन दरिलो गरी निर्णयहरू लिनुपर्छ।"

तर कतिपय विश्लेषकहरूले बालेनले रास्वपाका आबद्ध हुने सम्झौता गर्दा आफ्ना वैचारिक अडानहरूबारे कुनै दृष्टिकोण नराखेका ठान्ने गरेको पाइन्छ। यस्ता विज्ञहरू संविधानले अँगालेका आधारभूत विशेषताहरू जस्तै सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता जस्ता सवालमा बालेन हालसम्म मौन बस्नुलाई अर्थपूर्ण ठान्छन्।

राजनीतिक विश्लेषक महर्जन अहिले संसारभर 'लोकरिझ्याईँ' को राजनीति हाबी भइरहेको भन्दै त्यसका कारण पनि बालेनप्रति मानिसहरूमा आकर्षण देखा पर्नसक्ने ठान्छन्।

उनले भने, "पुराना खालका नेताहरू या पुराना खालका संरचनाहरूविरुद्ध मानिसहरूको आक्रोश देखिन्छ। भ्रष्ट भएको र सेवा प्रवाह गर्न नसकेकोमा आक्रोश देखिन्छ। त्यसको बदलामा सामान्य कुराहरू मात्रै गरे पनि त्यसको फोटो र भिडीओहरू राखेर प्रचार गर्ने व्यक्तिहरूको लोकप्रियता काफी बढी छ।"

उनी बालेनले आफूले गरेका सीमित कामहरूको प्रचारप्रसार गर्न सकेको र त्यसबाट लाभ पाइरहेको ठान्छन्।

महर्जनले भने, "आम मानिसहरूले फेरी पनि मुक्तिदाता खोज्छन् र दयालु किसिमको तानासाह खोज्छन् जुन अहिलेको खतरनाक प्रवृत्ति हो। ध्यान खिच्ने संरचना र सामाजिक सञ्जालमा उनको प्रभुत्व पनि छ। मेरो विचारमा केही समय यस्तै व्यक्तिहरूको प्रभाव र प्रभुत्व बढ्न सक्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।