दलीय राजनीतिमा फड्को मार्न बालेनको गृहकार्य

तस्बिर स्रोत, Nepal Photo Library
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
गत भदौको 'जेन जी' आन्दोलन उत्कर्षमा पुग्दै गर्दा कैयौँ नवयुवाहरूले नयाँ प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका काठमाण्डू महानगरपालिकाका मेअर बालेन शाहले उनीहरूको अपेक्षाविपरीत प्रधानमन्त्रीमा सुशीला कार्कीलाई प्रस्ताव गरे।
भदौ २४ गते सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास र राष्ट्रपति भवनदेखि कयौँ नेताका घर तथा व्यवसायमा आगजनी भइरहँदा स्वतन्त्र हैसियतमा चुनाव लडेर लोकप्रिय मतसहित काठमाण्डूको मेअर बनेका बालेन सामाजिक सञ्जालमार्फत् आन्दोलनकारीलाई मत्थर बनाउने प्रयास गरिरहेका थिए।
भदौ २३को प्रदर्शनमा कैयौँ युवा र नवयुवा मारिएपछि आन्दोलनकारीले सडकमा आउन दबाव दिएका बालेन आफू 'जेन जी'भन्दा अघिल्लो पुस्ताको रहेको तर्क गर्दै सडकमा नआउने स्पष्टीकरण पनि सामाजिक सञ्जालबाटै दिइरहेका थिए।
उनले नयाँ सरकार गठनबारे आन्दोलनरत नवयुवाहरूलाई नेपाली सेनासँग वार्ता गर्न सामाजिक सञ्जालबाटै आह्वान गरे। प्रतिनिधिसभा विघटनको सर्त राख्न पनि फेसबुकबाटै आग्रह गरे।
कुनै पनि भेटवार्तामा बालेन नदेखिए पनि आन्दोलनपछिको राजनीति उनकै सर्तअनुसार अघि बढ्दै गयो। आन्दोलनपछि लामो समय सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा आफ्नो उपस्थिति पातलो बनाएका बालेन सामाजिक सञ्जालमा अत्यधिक 'फलोअर' नेपाली राजनीतिकर्मीमध्ये एक हुन्।
आन्दोलनपछि सामुन्ने आएको प्रधानमन्त्री बन्ने प्रस्ताव नस्विकारेका शाहलाई आगामी निर्वाचनपछि "पाँच वर्ष देश चलाउने गरी प्रधानमन्त्री बनाउनु उपयुक्त हुने" उनका समर्थकहरूको तर्क थियो।
तर लामो समय राजनीतिक छलफलमा समेत नदेखिएका बालेन दलीय राजनीतिमा आउनेमा समेत कतिपयले आशङ्का गर्न थालिसकेको थिए।

तस्बिर स्रोत, KAMAL SARGAM CHAULAGAIN
एकाएक मङ्सिर मध्यतिर नयाँ राजनीतिक दलको तयारी गरिरहेका ऊर्जामन्त्री कुलमान घिसिङसँग भेट गरेको तस्बिर बाहिरिएपछि उनीबारे राजनीतिक अड्कलबाजी सुरु भएका थिए। तर त्यसलगत्तै आफ्ना बुवा गुमाएका शाह पुनः गुमनाम भए। मङ्सिर अन्तिममा काठमाण्डू महानगरपालिकाको स्थापना दिवसमा सार्वजनिक मञ्चमा देखिएका शाहको सम्बोधनसमेत अस्पष्ट भएको टिप्पणी सामाजिक सञ्जालमा कतिपयले गरेका थिए।
त्यसपछि गत शुक्रवार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र शाहबीच सोमवार साँझ भएको लामो भेटवार्ता राष्ट्रिय राजनीतिमा ठूलो चर्चाको विषय बन्यो।
बुधवारबाट त शाहले आफ्नो राजनीतिक भेटवार्तालाई बाक्लो बनाएका छन्। उनले 'जेन जी' अभियानकर्मीदेखि नयाँ र पुराना दलका पनि कतिपय नेताहरूसँग समेत निरन्तर संवाद गरिरहेका छन्।
राष्ट्रिय र दलीय राजनीतितर्फ पाइला?

शाहले दलीय राजनीति गर्नेबारे आफूसँग खुलेर कुरा गरेको बुधवार बालेन शाहसँग भेट गरेका नेपाली कांग्रेसका नेता सुनील शर्मा बताउँछन्।
"उहाँ अब नयाँ पार्टीको नेता बन्नुहुन्छ। अब नेतृत्व गरेर सबै नयाँ दलका साथीहरूलाई मिलाएर जाने कुरा उहाँले मलाई भन्नुभयो," शर्माले बीबीसी न्यूज नेपालीसँग भने।
शाहसँग भेट गरेका नेपाल जेन जी फ्रन्ट सल्लाहकार परिषद्का सदस्य मिलन पाण्डेले आफूले पनि त्यही सङ्केत पाएको बताए।
"आउने चुनावलाई पार्टी बनाएर वा कसरी जान सकिन्छ भन्ने छलफल भयो। उहाँ पनि आउने भन्ने नै भयो," पाण्डेले बीबीसी न्यूज नेपालीसँग भने।
तर आगामी निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने समय सकिइसकेको छ। त्यस अवस्थामा आउँदो चुनावलक्षित तयारी गरिरहेका शाह कुन पार्टीमा आबद्ध होलान्?
शाहसँग भेटेका पाण्डे भन्छन्,"आफूनजिकको कानुनी, राजनीतिक रूपमा दर्ता भएको पार्टी गए भयो। त्यसमा एउटा 'लौरो' चिह्न भएको देश विकास पार्टी भन्ने उहाँकै नजिकको साथीहरूको छ। अरू पार्टी नि धेरै छन्।"
यसअघि रवि लामिछाने र शाहको भेटमा सहजीकरण गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता असिम शाहले शाहलाई आफ्नो दलले प्रधानमन्त्रीको उम्मेदवार स्वीकार गर्न सक्ने बताएका थिए।
रास्वपा वा कुलमान घिसिङले समर्थन गरेको भनिएको उज्यालो नेपाल पार्टीमा शाहलाई समावेश गराउने प्रयास भइरहेका विवरण आइरहँदा शाह आफैँले विभिन्न पक्षसँग छलफल थालेका हुन्।
"जानेभन्दा पनि रास्वपा पनि मिलाउने, उज्यालो पनि मिलाउने, जेन जी पनि मिलाउने, विवेकशीलका साथीहरू र स्वतन्त्र पनि मिलाउने भन्ने नै हो। प्रवेश गर्नेभन्दा अलि फरक अहिले छलफल भइरहेको चाहिँ अबको प्रारूप के होला भन्ने हो," मिलन पाण्डेले भने।
भेटमा बालेन के भन्दै छन्

शाहलाई भेट्न पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि बिहीवार ज्वागलस्थित बालेन शाहका एक जना सहयोगीको घरमा पुगेका थिए। भेटपछि भट्टराईले सञ्चारकर्मीहरूसँग भने, "नयाँ र वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ भन्ने पक्षको मान्छे म निरन्तर त्यसमा लागिरहेको छु। त्यही विषयमा नै परामर्श गर्न बालेनजीले भन्नुभएको हुनाले म आएँ।"
आफूले सबैलाई मिलाएर लैजान सुझाव दिएको उनले बताएका छन्।
यसअघिबाटै शाहसँग वार्ता गरिरहेका रास्वपा सभापति लामिछानेले बिहीवारको भेटको प्रगतिबारे उल्लेख्य टिप्पणी गरेनन्।
पत्रकारहरूले चुनाव चिह्नबारे सोधेको प्रश्नमा उनले भने, "अलिकति प्रतीक्षा गर्नूस् न।"
भेट उपलब्धिमूलक रहे वा नरहेको आशयको पत्रकारको जिज्ञासाको जबाफमा लामिछानेको प्रतिप्रश्न थियो "मेरो अनुहारले के बताउँछ?"
शाहसँग बुधवार भेटेका शर्माका अनुसार आगामी चुनावपछिको सम्भावित परिणामबारे पनि मेअरले उनीसँग कुरा गरेका थिए।
"उहाँले मलाई भन्दा चाहिँ 'उहाँहरू सबै, जस्तो रवि (लामिछाने)जी, हर्क (साम्पाङ)जी, कुलमान (घिसिङ)जीहरू सबै मिलाएर नयाँ शक्तिको निर्माण गर्छु। त्यसरी हामी जान्छौँ। तपाईँहरूले पनि हामीलाई साथ दिनुपर्छ। फरक ठाउँबाट पनि एकअर्काका सहयोगी हुन सक्छौँ' भन्ने कुरा भयो," शाहसँगको कुराकानीबारे कांग्रेस नेता शर्माले बीबीसी न्यूज नेपालीसँग भने।
शाहले आफूलाई पनि उनले बनाउने दलमा सामेल हुन प्रस्ताव गरेको तर आफूले कांग्रेस नछोड्ने बताएको उनको दाबी छ।

तस्बिर स्रोत, RSS
बिहीवार उज्यालो नेपाल पार्टी कार्यालय उद्घाटन गर्न पुगेका ऊर्जामन्त्री कुलमान घिसिङले वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताएका थिए।
"धेरै जनमानसमा सबै नयाँ शक्तिहरू एक भएर अगाडि आओस्, एउटा सन्देश देओस् र देशको परिवर्तनको जुन बिन्दुमा छौँ, महाअभियानमा छौँ। ब्यालेटबाट देशको नेतृत्व परिवर्तन गर्ने, देशलाई आगामी दिनमा समृद्धिको बाटोतर्फ डोहोर्याउने एउटा महाअभियानमा हामी एक भएर जनताको चाहना अनुसार अघि बढ्नुपर्छ," घिसिङले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








