प्रदर्शनकारीलाई संयम अपनाउन बालेन, सुरक्षा निकायका प्रमुखहरू र मुख्यसचिवको आग्रह

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको परिस्थिति औँल्याउँदै काठमाण्डू महानगरपालिकाका मेअर, विभिन्न सुरक्षा निकायका प्रमुख र मुख्यसचिवद्वारा संयमित रहन आह्वान गरेका छन्।
बालेन साहले ओलीको राजीनामा आइसकेकाले अब संयमित हुनुहोला भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
"देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो। तपाईँ-हामी अब संयमित हुनु जरुरी छ," बालेनले लेखेका छन्। "अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्ने छ। तयार रहनुहोला !"
उनले "सेना प्रमुखसँग वार्ता गर्न समेत तयार रहन" भन्दै त्यसका लागि "वार्ता गर्नुअघि संसद् विघटन हुनुपर्ने" सर्त अघि सारेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरिसकेका छन्।
सुरक्षा निकायका प्रमुख र मुख्यसचिव पनि बोले

तस्बिर स्रोत, Reuters
सर्वसाधारणलाई संयमित हुन आह्वान गर्नेमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू समेत छन्। त्यसो गर्नेमा चारवटै सुरक्षा निकायका प्रमुखहरू, मुख्यसचिव र गृहसचिव छन्।
ओलीको राजीनामापछि उनीहरूले धनजनको थप क्षति हुन नदिन भन्दै राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न आमनागरिक सबैलाई आह्वान गरेका छन्।
मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिर्देशक राजु अर्याल, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त विज्ञप्ति जारी गरी त्यस्तो आह्वान गरेका हुन्।
उनीहरूले धनजनको थप क्षति हुन नदिन भन्दै राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न आमनागरिक सबैलाई आह्वान गरेका छन्।
देशभित्रबाटै समाधान खोज्न पूर्वराजाको अपील
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले मङ्गलवार एउटा विज्ञप्ति जारी गर्दै जारी गर्दै देशभित्रबाटै समस्याको समाधान खोज्न उनले अपील समेत गरेका थिए।
शाहले 'जेन जी' पुस्ताका प्रदर्शनकारीहरूको ज्यान जाने गरी सोमवार भएको घटनाको निन्दा गर्दै उक्त घटना नेपाली समाजको मान्यताविपरीत रहेको समेत जनाएका छन्।
संविधान पालना गराउन सेना 'प्रतिबद्ध'
ओलीको राजीनामाअघि नै बीबीसीसँग कुरा गरेका नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले संविधानको पालना गराउन सेना प्रतिबद्ध रहेको बताएका थिए।
जेन जी प्रदर्शनको दोस्रो दिन देशका विभिन्न ठाउँमा लगाइएको कर्फ्यू माझ तोडफोडका विवरणहरू आइरहेका छन्।
बीबीसीसँग कुरा गर्दै उनले भने, "नेपाली सेना संविधानको पालना गराउन प्रतिबद्ध छ।"
सेनाले मङ्गलवार साँझ पछिल्लो अवस्थाबारे थप जानकारी दिने तयारी गरिराखेको विवरण आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








