प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष दिए राजीनामा

प्रधानमन्त्री केपी ओली

तस्बिर स्रोत, KP Oli Secretariat

जेन जी युवा पुस्ताले गरेको आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट ‍राजीनामा दिएका छन्।

उनको सचिवालयले ओलीद्वारा राष्ट्रपतिलाई पठाएको राजीनामा सार्वजनिक गरेको छ।

गत वर्ष असारमा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको यो कार्यकाल चौथो थियो।

जेन जी प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसहरू मारिएपछि प्रधानमन्त्रीलाई राजीनामा दिन दबाव परेको थियो।

सत्ता साझेदार कांग्रेस र जसपाका कैयौँ मन्त्रीहरूले सरकारबाट राजीनामा दिए लगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।

जेन जी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र नागरिक सरकारको माग गरेका छन्।

  • पहिलो पटक: असोज २०७२ देखि साउन २०७३ सम्म प्रधानमन्त्री
  • दोस्रो पटक: फागुन २०७४ देखि वैशाख २०७८ सम्म
  • तेस्रो पटक: वैशाख २०७८ देखि असार २०७८ सम्म
  • चौथो पटक: असार २०८१ देखि भदौ २०८२ सम्म

सरकारका नेतृत्व गरिरहेका ओलीले राजीनामा दिनुपर्ने भन्दै नेपालका केही समाचारपत्रले विशेष सम्पादकीय छापेका थिए।

स्वतःस्फूर्त रूपमा भएको युवा पुस्ताको आन्दोलनमा व्यापक बल प्रयोग हुँदा हालसम्म २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

"संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु," प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई लेखेको राजीनामा पत्रमा भनिएको छ।

केपी ओली राजीनामा

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको राजीनामा पछि संवैधानिक बाटोबाट अघि बढ्न आन्दोलनरत जेन जी प्रदर्शनकारीहरूलाई आह्वान गरेका छन्।

"प्रमको राजीनामापछि संविधानभित्रबाट अघि बढ्न आन्दोलनकारी युवाहरूसमेत रहेको अन्तरिम सरकारको गठन, उनीहरूले उठाएका मागहरूको सम्बोधन, अहिलेका दुःखद घटनाहरूको छानबिन, संविधानको अग्रगामी संशोधन (प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली सहित), निष्पक्ष निर्वाचनको बाटो अवलम्बन गरौँ," भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

करिब १४ वर्षको उमेरमै राजनीति सुरु गरेका ओली आफ्ना पछिल्ला कार्यकालमा भने विवादित बनेका थिए।

पञ्चायती व्यवस्था व्यवस्था विरोधी आन्दोलनका क्रममा १४ वर्ष जेल जीवन बिताएका प्रधानमन्त्री ओलीको दोस्रो कार्यकाल संसद् विघटनका कारण विवादित बनेको थियो। पछिल्लो कार्यकालमा पनि सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेको भन्दै उनको आलोचना भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।