रवि लामिछाने, कुलमान घिसिङ, बालेन र हर्क साम्पाङलाई 'मिलाउने' प्रयासमा जेन जी अगुवा

रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, बालेन, सुमना श्रेष्ठ, सागर ढकाल र खगेन्द्र सुनारको कोलाज

तस्बिर स्रोत, RSS/FB

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

आसन्न निर्वाचनका लागि केही राजनीतिक दल र फरकफरक समूहमा रहेका जेन जी अभियानकर्मीहरूलाई मिलाएर एउटा वैकल्पिक राजनीतिक शक्ति बनाउने प्रयास भइरहेको यसमा संलग्न केही व्यक्तिले बताएका छन्।

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका जेन जी अगुवा सुधन गुरुङले आफूले त्यस विषयमा लामिछानेसँग कुरा भएको बताए।

उनका अनुसार लामिछाने नेतृत्वको रास्वपा, ऊर्जामन्त्री कुलमान घिसिङ प्रत्यक्ष नदेखिए पनि उनकै अगुवाइमा बनेको भनिएको उज्यालो नेपाल पार्टी र धरान उपहानगरका मेयर हर्क साम्पाङको नेतृत्वमा बनेको श्रम संस्कृति पार्टीलाई एकजुट भएर चुनावमा जान जेन जी युवाहरूले सुझाव दिँदै आएका छन्।

यही समूहमा कुनै पनि दलमा नखुलेका काठमाण्डू महानगरका मेयर बालेन्द्र शाह 'बालेन', रास्वपाबाट बाहिरिएकी भूतपूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, गत निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका सागर ढकाल र हालै हाम्रो पार्टी नेपाल नामक दल दर्ता गरेका दलित अभियानकर्मी खगेन्द्र सुनारलाई पनि समेट्ने प्रयास भइरहेको वार्तामा संलग्नहरूले बताएका छन्।

रास्वपा र उज्यालो नेपाल पार्टीका नेता के भन्छन्?

उज्यालो नेपाल पार्टी घोषणासभामा नेताहरू

तस्बिर स्रोत, Ujyalo Nepal Party

वैकल्पिक राजनीतिको अभ्यास गरिरहेका र राजनीतिमा कम विवादित शक्ति र व्यक्तिलाई एकैठाउँमा ल्याएर जेन जी आन्दोलनमा संलग्न नवयुवाहरूका लागि पनि स्वीकार्य हुने वैकल्पिक शक्ति निर्माणको अभ्यास भइरहेको रास्वपा र उज्यालो नेपाल पार्टीका नेताहरूले पुष्टि गरेका छन्।

"वैकल्पिक शक्तिहरूका बीचमा संवाद निरन्तर भइरहेको नै छ। सबैभन्दा एकैठाउँमा भएर जानुपर्छ भन्ने कतिपय विषयमा हामी नजिक पनि छौँ," रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी भन्छन्।

"सकिन्छ एउटै चुनाव चिह्न र पार्टी नै एक गरेर जाने। सकिएन भने चुनावी तालमेलसम्मको कुरा पनि हुन सक्छन् भन्ने कुरा भइरहेको छ।"

रास्वपा विघटित प्रतिनिधिसभामा चौथो ठूलो दल थियो। पहिलो पटक भाग लिएको निर्वाचनबाटै उदाएको उक्त दलले विवेकशील साझा पार्टीसँग एकता गरिसकेको छ।

वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने छलफल चलिरहँदा कुलमान घिसिङले समर्थन गरेको उज्यालो नेपाल पार्टी र हर्क साम्पाङ नेतृत्वमा श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएका थिए।

उज्यालो नेपाल पार्टीका नेता डा अभिषेकराज सिंह पनि वैकल्पिक शक्तिहरू एक ठाउँमा बनाउने प्रयास जारी नै रहेको बताउँछन्।

"सबै पक्षसँग हामी संवाद नै छौँ र सबै पक्ष सकारात्मक नै छौँ," सिंह भन्छन्।

"केही प्राविधिक कुरालाई कसरी मिलाउने भन्नेबारे फरकफरक अवधारणामा छलफल भइरहेको छ। यो टुङ्गोमा पुर्‍याउने गरी हामी मिलाउँछौँ र मिल्छ नै।"

अहिले कुनै पनि दलमा आबद्ध नरहेकी सुमना श्रेष्ठले निकासका लागि सबै शक्तिले सोच्दा मुद्दामा कुनै पनि शक्तिबीच भिन्नता नरहेको बताइन्।

"अधिकांश मुद्दामा सबै जना एकैठाउँमा छन्। अबको हुनुपर्ने राजनीति पनि मुद्दामा आधारित राजनीति नै हो," उनी भन्छिन्।

कस्तो शक्ति बनाउने प्रयास

उज्यालो नेपाल पार्टीका नेता डा अभिषेकराज सिंहले हालै जेन जी नेता पुरुषोत्तम यादव र बालेन शाह निकट मानिने केपी खनालसँगको तस्बिर राखेका थिए

तस्बिर स्रोत, Dr Abhishek Raj Singh

तस्बिरको क्याप्शन, उज्यालो नेपाल पार्टीका नेता डा अभिषेकराज सिंहले हालै 'हामी सँगै छौँ' लेखेर जेन जी नेता पुरुषोत्तम यादव र बालेन शाहसँग निकट मानिने केपी खनालसँगको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए

जेन जी अगुवा गुरुङका अनुसार युवाहरूले रुचाएको भनिएका बालेन, यसअघि नै राजनीतिक दल खोलिसकेका लामिछाने, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडशेडिङ अन्त्यको जस पाएका कुलमान घिसिङ सहितका व्यक्तिहरूलाई मिलाएर वैकल्पिक शक्ति बनाउने प्रयास भइरहेको छ।

उज्यालो नेपालका सिंहले पनि घिसिङ, बालेन, रास्वपा र साम्पाङको एउटै समूह बनाएर वैकल्पिक शक्ति एक ठाउँमा आउने गरी कुरा भएको बताए।

"के कसरी मिल्दा उपयुक्त हुन्छ भनेर विविध अवधारणामा कुरा भइरहेको छ," सिंहले भने।

बिहीवार लामिछानेलाई भेटेका हामी नेपालका गुरुङले त्यसअघि बालेन र घिसिङसँग पनि भेट गरेको बताइन्छ। हालै घिसिङ र बालेनबीच भेट भएको तस्बिर पनि सार्वजनिक भएको थियो।

"सबै जनाले हामी मिल्न तयार नै छौँ भन्नुभएको छ। हाम्रो अभियान देशलाई निकास दिने हो। त्यसका लागि मान्छेलाई विकल्प दिनुपर्‍यो," गुरुङ भन्छन्।

उनले संविधान संशोधन नभएसम्म जेन जी आन्दोलनमा अगुवाइ गरेका नवयुवाहरू आफैँ दल खोजेर चुनावमा आउने आफूले नदेखेको बताए।

"हाम्रो माग पूरा गर्नलाई संविधान संशोधन गर्नुपर्ने छ, जुन अहिलेको सरकारले सक्दैन भनेर अहिले आएर गृहमन्त्रीले भन्नुभएको छ," गुरुङ भन्छन्।

"सबै संरचना बनाएर चुनावमा लडेर जितेर दुईतिहाइ ल्याएर आफ्नो माग पूरा गर्नुपर्ने। यो त तीन महिनामा संशोधन छैन। त्यही भएर एउटा वैकल्पिक शक्ति चाहिन्छ।"

उनका अनुसार परिवर्तन खोजेका नवयुवाहरूले भोट दिने राम्रो विकल्पका रूपमा वैकल्पिक राजनीतिक शक्तिको खोजी गरिएको हो।

एकता र तालमेलका चुनौती कस्ता

रास्वपा नेताहरूको एकताबारे छलफल

तस्बिर स्रोत, RSP Nepal

रास्वपाका महामन्त्री बुर्लाकोटीका अनुसार एउटै दल बनाउन र आगामी निर्वाचनमा तालमेल गरेर जान अझै केही विषयमा चुनौती देखिएका छन्।

"अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको कुनै पनि समूह पक्षलाई कति टिकट दिइन्छ वा कुनकुन पद हुन्छ यो हिसाबको कुरा अलि बढी हुँदो रहेछ," उनले भने।

विवेकशील साझासँग बिनासर्त एकता भए पनि अरू शक्तिसँग त्यही अवधारणामा छलफल अघि बढ्न नसकेको उनले बताए।

"वस्तुपरक हुने हो भने एकता नै सम्भव छ। एकता नै भएर जान आवश्यक पनि छ। वस्तुपरक हुन सकिएन भने चाहिँ तालमेलमा जान सक्छ," उनी भन्छन्।

उज्यालो नेपालका केन्द्रीय सदस्य सिंहका अनुसार पार्टीहरूका विधान र केन्द्रीय समितिको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको विषयमा सहमति हुन बाँकी छ।

"दुई, तीन, चार शक्ति मिल्दा अन्तरघुलन पनि हुनुपर्‍यो, विचारदेखि सबै कुरा मिल्नुपर्‍यो। त्यसका लागि माथिल्लो चरणसम्म कुरा भइरहेको छ," उनले भने।

"कतिपय कुरा पूर्ण रूपमा नमिली बाहिर भन्दा अप्ठ्यारो हुन्छ भनेर बाहिर भनिएको छैन। तर प्रगति राम्रै भएको छ।"

यसअघि रास्वपाको सहमहामन्त्री रहेकी सुमना श्रेष्ठ सामूहिक नेतृत्वमा कसरी जाने भन्नेबारे मिल्न बाँकी रहेको बताउँछिन्।

"देशको परिस्थितिलाई मनन गरेर सामूहिक नेतृत्व गर्नुपर्ने छ। सबैले हाम्रो सामर्थ्य मात्रै नहेरी आफूले गर्न सक्ने योगदान के हुन सक्छ, त्यो पनि सोचेर काम गर्नुपर्ने छ," उनी भन्छिन्।

"सबै कुरा अन्तिममा गर्ने हाम्रो बानी पनि एउटा कारण होला।"

सुधन गुरुङ ससाना समूहमा रहेका जेन जी अभियानकर्मीहरू अलग भए पनि अधिकांश जेन जी समूह एक ठाउँमा आउने बताए।

"अब १०-१२ जनाको समूहलाई पनि मिलाऔँ भन्दा नसकिने रहेछ," उनले भने।

सुधन गुरुङसँग रवि लामिछानेले के भने

बिहीवार नक्खु कारागारमा लामिछानेले आफूलाई "अघिल्लो सरकारले अन्याय गरेको" गुनासो गरेको उनलाई भेट्न पुगेका जेन जी अगुवा गुरुङले बताए। गुरुङका अनुसार आफूजस्तै अभियोग लागेका अन्य व्यक्तिहरू थुनामा नपरे पनि आफूलाई कैयौँ ठाउँमा मुद्दा चलाइएको लामिछानेको तर्क थियो।

यसअघि उपप्रधान तथा गृहमन्त्री समेत बनिसकेका लामिछानेले अन्य शक्तिसँग मिल्नका लागि अपनाउनुपर्ने लचकताका लागि आफ्नो दल तयार रहेको बताएका थिए। लामिछानेले जेन जी अभियानकर्मीहरूसँग एकता गरेर जाने पक्षमा आफ्नो दल पहिल्यैबाट रहेको गुरुङसँग बताएका थिए।

"उहाँले हामी पहिल्यैबाट जेन जीको साथमै थियौँ। सांसदहरूलाई फिर्ता बोलाउने हामी नै हो। अझै पनि हामी समर्थन गर्छौँ र खुलेरै गर्छौँ भन्नुभयो," लामिछानेको भनाइ उद्धृत गर्दै गुरुङ भन्छन्।

"चुनाव हुन्छ, तपाईँहरू भन्नुहुन्छ भने हामी त्यहीअनुसार तयारी गर्छौँ, नगर्ने भन्नुहुन्छ भने त्यहीअनुसार गर्छौँ भन्नुभएको छ।"

महामन्त्री बुर्लाकोटीले पनि रास्वपा सभापतिले आफूलाई राज्यबाट गरिएको व्यवहारबारे लामिछानेले गुरुङलाई समस्या सुनाएको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।