जेन जी आन्दोलनपछि दलहरूको फुट र एकताले चुनावी नतिजामा पार्न सक्ने प्रभाव

तस्बिर स्रोत, AFP via Getty Images
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
महाधिवेशन र नेतृत्व हस्तान्तरणको विवादमा अल्झिरहेको विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा विभाजनबारे चिन्ता र आशङ्का व्यक्त भइरहेका छन्।
कांग्रेसबाट हालसम्म कुनै पनि समूह अलग नभए पनि चितवनमा रेणु दाहालविरुद्ध विद्रोही उम्मेदवार बनेपछि पार्टी कारबाहीमा परेका जगन्नाथ पौडेल पार्टी परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल भएका छन्।
अरू दलहरूको विभाजन फाइदा भने दोस्रो ठूलो शक्ति एमालेले पाएको छ। माधव नेपाल र झलनाथ खनालसहितका नेताहरू नेपाल कम्युनिस्ट पार्टीमा जाँदा नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादीमा गएका कतिपय नेताहरू एमालेमै फर्किएका छन्।
एमाले पोलिटब्यूरो सदस्य निरूदेवी पाल एमाले यसअघिको भन्दा बलियो भएको दाबी गर्छिन्।
"एमाले छोडेर गएका धेरै नेताहरू पार्टीमै फर्किएका छन्। हाम्रो पार्टी झनै बलियो भएको छ," पाल भन्छिन्। उनले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट पनि केही कार्यकर्ता एमालेमा फर्किएको बताइन्।
एमालेले अन्य दलबाट नेताहरू भित्र्याउँदै गर्दा सुदूरपश्चिमका केही नेता तथा कार्यकर्ता गुमाएको छ। सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रकाश शाह यसअघि एमालेले कारबाही गरेका नेता भीम रावलसँगै नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्।
दलहरूले पाएका र गुमाएका नेताहरू

तस्बिर स्रोत, RSS
अघिल्लो संसद्मा तेस्रो ठूलो शक्तिका रूपमा रहेको नेकपा माओवादी केन्द्रमा एकैसाथ विभाजन र एकता देखिएको छ। एकीकृत समाजवादीसहितका दर्जनभन्दा बढी दलहरूबाट नेताहरूको ठूलो हिस्सा मिलेर प्रचण्डको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन गर्ने निर्णय हुँदा माओवादीका केही पुराना नेता पार्टीबाट अलग भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी १४ वटा दल र थप केही समूह मिलेर गठन भएको नेता गिरिराजमणि पोखरेल बताउँछन्।
"हामीले धनगढीबाट एकताको सन्देश दिन सभाहरू सुरु गरेका छौँ। अरू पार्टीभन्दा हाम्रो दलमा बढी सक्रियता पनि देखिएको छ," उनले भने।
माओवादीको परम्परागत सङ्गठनमा पकड भएको भनिएका जनार्दन शर्मा र सुदन किरातीसहितका नेताहरू भने एकताप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट अलग भएका छन्।
पार्टीबाट अलग भएका नेताहरूबाट भएको क्षतिबारे पोखरेल भन्छन्, "को गए कति गए भन्ने आकलन गरिसकिएको छैन। सबै धरातलीय कुरा आएपछि मात्रै भन्न सकिन्छ। तर पनि आन्दोलनको एउटा नेतृत्व पङ्क्ति जाँदा क्षति त भइहाल्छ।"
माओवादीबाट अलग भएका जनार्दन शर्मासहितका नेताहरूले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएका सन्तोष परियारसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका छन्।
रास्वपाको सङ्कट र अवसर

तस्बिर स्रोत, RSP Nepal
पहिलो पटक निर्वाचनमा भाग लिँदा नै चोथो ठूलो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट समेत केही प्रभावशाली भनिएका नेताहरू अलग भएका छन्।
पार्टीबाट प्रमुख सचेतक बनेका परियार भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा पुगेका छन्। परियारभन्दा अगाडि नै पार्टीको सहमहामन्त्री समेत रहिसकेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले रास्वपा परित्याग गरेकी थिइन्। उनी हालसम्म कुनै दलमा खुलेकी छैनन्।
रास्वपाले नेताहरू गुमाएको मात्रै छैन। अन्य दल त्यागेर केही नेताहरू रास्वपामा आबद्ध भइरहेका पनि छन्। सामाजिक अभियानबाट उदाएको विवेकशील साझा पार्टीले रास्वपामा समाहित हुने घोषणा गरेको छ।
यो दलले काठमाण्डू महानगरका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि पार्टीमा भित्र्याउने प्रयास गरिरहेको रास्वपा नेताहरूले बताउँदै आएका छन्।
"विश्व पोखरेलसहित धेरै जना भूतपूर्व प्रहरी तथा सैनिक अधिकारीहरू हाम्रो पार्टीमा प्रवेश गरिसक्नुभएको छ। हामीले जेन जी काउन्सिल, जेन जी फ्रन्ट र जेन जी अलायन्सका प्रतिनिधिहरूसँग पनि छलफल गरिरहेका छौँ," रास्वपाले गठन गरेको संवाद समितिका संयोजक पुकार बम भन्छन्।
"कुलमान घिसिङ र बालेनसँग पनि पार्टीका विभिन्न तह र तप्कामा निरन्तर छलफल भइरहेको छ। पछिल्लो साता भएका छलफलहरू यसअघिका भन्दा सकारात्मक पनि छन्।"
बमले पार्टीबाट छोडेर गएका कतिपय नेताहरूलाई पनि पुन: पार्टीमै फर्काउने प्रयास भइरहेको दाबी गरे।
नयाँ दलहरू छिन्नभिन्न

तस्बिर स्रोत, CK Raut
विसं २०७९ साल मङ्सिरमा भएको अघिल्लो आम निर्वाचनबाट रास्वपा राष्ट्रव्यापी प्रभाव भएको दलका रूपमा उदाउँदा जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टी बलियो क्षेत्रीय प्रभाव भएका दलका रूपमा उदाएका थिए।
रास्वपाजस्तै जनमत र नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन र दल त्यागको समस्या देखिएको छ।
जनमत पार्टीबाट अलग भएका केही नेता रेसम चौधरीको पार्टीमा गएका छन् भने केही नेताहरूले जनस्वाराज पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन्। उपाध्यक्ष दीपक साहले आफ्नै नेतृत्वमा जनस्वाराज पार्टी बनाएका छन्।
जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खान सहितका केही नेता चौधरीको नागरिक उन्मुक्ति पार्टी (नेपाल) पार्टीमा सामेल भएका छन्। पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका चौधरीले पार्टीको नाममा नेपाल थपेर हालै नयाँ दल दर्ता गराएका हुन्।
मधेशी दलहरू सहकार्यमा

तस्बिर स्रोत, Keshav Jha
चौधरीको नेतृत्वमा गठन भएको नयाँ दलले अशोक राई नेतृत्वमा रहेको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग एउटै चुनाव चिह्न लिएर चुनावमा भाग लिने तयारी गरेको नेताहरूले बताएका छन्।
"तीन पार्टीले एउटै चुनाव चिह्न लिएर आगामी निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा दर्ता गरिसकेका छौँ," राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा भन्छन्। "उपेन्द्र यादवजीको जसपा नेपाल र महन्थ ठाकुरजीको लोकतान्त्रिक समाजवादी पार्टीलगायतसँग पनि निर्वाचन क्षेत्रमा तालमेल गरेर जाने कुरा भएको छ।"
अरू दलसँग गठबन्धन गरिरहेका अशोक राई नेतृत्वको जसपामा पनि फुट आएको छ। राजेन्द्र श्रेष्ठ सहितका कतिपय नेताहरू जसपाबाट अलग भएर प्रचण्ड नेतृत्वको नेकपामा मिल्न पुगेको नेताहरूले बताएका छन्।
अन्तरिम विवाद चलिरहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा भने एकता वा टुट दुवै नदेखिएको राजनीतिका जानकारहरू बताउँछन्।
'अहिलेको एकता र फुट चुनावमा नदेखिन सक्छ'

तस्बिर स्रोत, RSS
राजनीतिक विश्लेषक कृष्ण पोखरेल अहिलेका एकीकरण वा फुट चुनावी नतिजामा प्रतिबिम्बित नहुन पनि सक्ने बताउँछन्।
"जेन जी आन्दोलनले दलहरूको भोट ब्याङ्क खलबलिएको छ," पोखरेल भन्छन्।
"त्यसकारण अगाडि नै यो पार्टीले राम्रो गर्छ भन्न सक्ने अवस्था म देख्दिनँ। कुन पार्टीले राम्रो गर्छ भन्ने त निर्वाचनको परिणामले मात्रै भन्न सकिन्छ वा चुनावको नजिक पुगेपछि अभियानमा जनता कसरी जोडिन्छन्, त्यसले केही सङ्केत गर्ला," पोखरेल भन्छन्।
उनका अनुसार नेपाल कम्युनिस्ट पार्टीमा धेरै दल जोडिएका भए पनि ती दलका नेताहरूसँगै कार्यकर्ता नजान सक्ने जोखिम हुन्छ। उनी एमालेमा फर्किएका नेताहरूसँग मतदाता सँगै आउनेमा पनि आशङ्का गर्छन्।
"जेन जी आन्दोलनको दाग फेरि एमालेकै अध्यक्षमा छ। त्यसले त्यो पार्टीलाई कति असर गर्छ भन्न सकिँदैन," पोखरेल भन्छन्।
"कांग्रेसकै कुरा गर्ने हो भने महाधिवेशनको दोधारले कुन स्वरूप लिन्छ अहिल्यै भन्न सकिन्न।"
कांग्रेस निकट विश्लेषक पुरञ्जन आचार्य चुनावअघि कांग्रेस आन्तरिक द्वन्द्वमा फसेको बताउँछन्। तर केपी ओलीको स्वभावले अरू कम्युनिस्ट पार्टीहरूलाई एक हुन दबाव परेको उनको बुझाइ छ।
"अहिले त कांग्रेस नै एक ठाउँमा हुन्छ वा हुँदैन भन्ने आशङ्का छ। त्यसकारण विभाजनको डिलमा देखिएको पार्टीले अरू दलका नेता कार्यकर्तालाई आकर्षित गर्न सकेको छैन," आचार्य भन्छन्।
"केपी ओलीकै कारण प्रचण्ड र माधव नेपाल एक ठाउँ भएका छन्। एमाले महाधिवेशनमा आन्तरिक असन्तुष्टि सम्बोधन नभए समूहमा अझै नेताहरू जाने सम्भावना छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








